पश्चाताप

कक्षा: १०
भ्याली पब्लिक मा.वि,
सुन्दरबस्ती, काठमाडौँ ।
जेठ महिना शनिबारको दिन थियो । साँझको छ बजेको थियो । भर्खरै घाम अस्ताएको हुनाले मानिसहरू आ–आफ्नो छतमा टहल्दै थिए । महिलाहरू टाढैबाट भए पनि गफमा मस्त थिए । केही मानिसहरू आफ्ना छोराछोरीसँग खेल्दै थिए । कोही घण्टौँदेखि मोबाइलमा व्यस्त थिए । बेला बेलामा छिमेकीहरूसँग हाँसोठट्टा गर्दा मानिसहरू जोड जोडले हाँसेको आवाज पनि सुनिन्थ्यो । काठमाडौँ सहरको त्यस ठाउँका मानिसहरू घरघरमा रमाइरहेकोजस्तो देखिन्थ्यो तर नजिकैको एउटा घरको झ्यालबाट मलिन मुख बनाएर समिरा बाहिरको दृश्य टोलाएर हेरिरहेकी थिई ।
समिरा त्यस दिन निकै चिन्तित देखिन्थी । आफ्ना साथीहरू आफ्नो परिवारसँग रमाएको देख्दा उसलाई निकै नरमाइलो लागिरहेको थियो । उसको चिन्ताको कारण उसको बुबा रमेश थियो । आजभन्दा तीन वर्ष अगाडि रमेश आफ्नी आठ वर्षकी छोरी, श्रीमती र आमालाई छोडेर बिदेसिएको थियो । उसलाई आफ्नो परिवार र देश छोडेर जानु बाध्यता थिएन । नेपालमा हुँदा पनि उसको परिवार राम्रोसँग चलिरहेको थियो । त्यतिबेला उसका सबै साथीहरू विदेश जान थालेपछि उसले पनि साथीहरूको लहैलहैमा विदेश जाने निर्णय गर्यो । नेपालमा गरिरहेको जागिर छोडेर अझै सुखी जीवन बिताउने मोहमा धेरे पैसा खर्च गरेर विदेश गयो । त्यतिबेला उसकी आमा र श्रीमतीले विदेश नजान निकै आग्रह र अनुरोध गरे पनि उसले कसैको कुरा सुनेन । अहिले तीनवर्षको समयमा आफूले गरेको गलत निर्णयको बारेमा राम्ररी बुझ्यो तर आफूले चाहेको बेला घर फर्कन पनि सकेन । त्यतिबेला कोरोना भाइरसको सङ्क्रमणले सम्पूर्ण संसारलाई नै त्रसित पारेको थियो । कोरोनाले विदेशमा पुर्याएको क्षतिको समाचार सुनेपछि समिरा निकै दुःखी हुन थाली । समिराकी हजुरआमा र आमा सर्मिला पनि उत्तिकै पीडामा थिए । हजुरआमा बेलाबेला बर्बराउँथिन्, “मैले त कति भनेकी थिएँ, त्यो रमेशलाई । विदेश नजा; हामीसँगै घरमा बस्; जागिर नछोड् भनेर तर भनेको नसुनेपछि कसको के नै लाग्छ र ? ” सर्मिला घरी घरी आँखाभरि आँसु पार्थी । छोरी र वृद्धा सासूको जिम्मेवारी आफ्नै काँधमा थियो । बिचरी त्यो एघार वर्षकी समिराको मनमा भने एउटा अनौठो किसिमको डरले घर बनाएको थियो । उता रमेश कोरोनाको आशङ्कामा आइसोलेसनमा बसिरहेको थियो । भर्खरै छोरीसँग भिडियो कल गरेर छोरीको निन्याउरो अनुहार देखेपछि उसलाई पश्चातापको आगोले पोल्न थाल्यो । यदि त्यतिबेला आमा र श्रीमतीको भनाइ सुनेको भए यो दिन भोग्नु पर्दैनथ्यो होला भन्दै आफूलाई बारम्बार दोष दिन लाग्यो । आफूसँग खानेकुरा केही नहुँदा ऊ आफ्नो गाउँका बाँझा खेतबारी सम्झिएर रोइरह्यो । अर्को दिन रमेशको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आयो । यो खबर सुनेपछि घरमा सबै खुसी भए । त्यसै क्षण रमेशले अब आफ्नो देश नेपाल फर्केर त्यतै काम गरेर बस्ने निर्णय गर्यो ।
केही महिनापछि विश्वभरको परिस्थितिमा सुधार आयो । रमेश पनि नेपाल फर्कियो । यस पटक भने रमेशजस्तै विश्वका विभिन्न कुनामा रहेका नेपालीहरू आ–आफ्ना घर फर्किए । आफ्नो जन्मभूमिमा सकुशल फर्कन पाउँदा सबैको मुहारमा एउटा अचम्मको आनन्द देखिन्थ्यो । आखिर नेपाल आमाको मायाले सबै सन्तानहरूलाई आफ्नी आमाको काखमा फर्कायो ।
लेखकको सम्वन्धमा