March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

‘प्रेम सरोवर’मा देखिएका केही प्रवृत्तिहरू

गोविन्द प्रसाद काफ्ले

श्री दुर्गा काफ्लेको यो दोश्रो औपन्यासिक उडान हो, यद्यपि उनका समय सान्दर्भिक कविताको रसास्वादन गर्न धेरै पहिलेदेखि पाइएको हो, फेसवुक तथा अन्य साहित्यिक जमघटमा। फुटकर कविताहरू पनि निकै घतलाग्दा र समय समयमा घोचिला, पेचिला तर वास्तविक धरातलमा आधरित भएकाले उनको (फ्यानफेयर) किन धेरै छन् भन्न एक दुईवटा कवितालाई नियाल्दै पुग्दछ। एक सामाजिक कार्यकर्ता, लेखिका, गुरु र गृहिणी मेरो चिनाइमा। अन्य धेरै विशेषण थपिएलान्। यो उपन्यासमा आफ्नै वरिपरिको परिवेशलाई समेट्दै कथानायकलाई काठमाडौँसम्म विचरण गराउँछिन् र कथाको उत्कर्ष काठमाडौँमा रुमल्लिँदै पुन: झापामै पुगेर हुन्छ। (टिनएजर) कथानायकको काल्पनिक प्रेमप्रसङ्ग यथार्थतामा बदलिँदै वियोगान्तमा टुङ्गिन्छ। (टिनएजर) उमेरको मनोविश्लेषणात्मक छलाङ्गलाई राम्रैसँग अँगाल्न सक्षम यस उपन्यासको निर्मम चिरफार गर्ने मेरो उत्प्रेरणाको कारण सच्याउन सकिने सानातिना प्रसङ्गले यो उपन्यासलाई अर्कै स्तरमा पुर्याइदिन्थ्यो कि भनेर आफूलाई लागेका सन्दर्भ उप्काएको रूपमा बुझिदिन पाठकवर्गमा अनुरोध।

उपन्यासका सकारात्मक पक्ष:

१. यो भन्दा पहिले प्रकाशित ‘मनको विचलन’ भन्दा यो उपन्यास धेरै नै उच्चस्तरको छ, लगभग तुलना नै गर्न नमिल्ने जस्तो छ। मनको विचलन एउटा सिकारुले लेखेको जस्तो छ भने ‘प्रेम सरोवर’ एउटा माझिएको साहित्यकारले कलम चलाए जस्तो भान हुन्छ। आयन्दा ‘प्रेम सरोवर’को स्टान्डर्ड (स्तर) कायम राख्नु पर्ने वा वढाउनु पर्ने उपन्यासकारलाई ठूलो मानसिक चाप रहने छ।

२. कथा सलल अविरल बग्छ, साह्रै धेरै नाटकीय छैन, पचाउन सजिलो छ। टिनएजरले त आफ्नो सपना अरूले चोरेको भान गर्न सक्छन्। कल्पनाको उडानमा पुरै पखेटा फिँजाउन कुनै कन्जुसी गरिएको छैन।

३.शाव्दिक चयन राम्रो छ, उपमाहरू मन छुने छन्, सन्दर्भलाई सम्पूर्णताकासाथ रसिला शव्दका कसिला बन्धनमा बाँधिएको छ, पाठक फुत्कन पाउँदैन।

केही त्रुटि

केही त्रुटि सच्याउन पाएको भए निक्कै वेश हुने थियो भन्ने मेरो आँकलन।

(क) शाब्दिक स्तरमा सच्याउन सकिने पक्ष:

आरम्भमा पेज १३, दोश्रो प्यारा-‘सखी’ नभएर कमल(पुरुष)का लागि ‘सखा’ हुनुपर्ने।

सोही पेज, सोही प्यारा- ‘कायापलट त फेर्न सकेन’ नहुनु पर्ने। काया भनेको शरीर र पलट भनेको फेर्ने भएकाले कायापलट हुने वा गर्ने हुन्छ फेर्ने हुँदैन। त्यस्तै पेज ८८ मा ‘कायापलट फेरेको दिन’ हुँदैन, कायापलट भएको दिन राख्नु वेश।

पेज १७, दोस्रो प्यारा- ‘मिठो मुस्कान र आँखामा आँसु रसाइदिन्छ’ नभई मिठो मुस्कान र आँखामा आँसु दुवैको एउटै कृया भएकाले मिठो मुस्कान रसाउँछ भन्न मिल्दैन त्यसैले दुवैको एउटै कृया ‘आइदिन्छ’ लेख्दा वेश।

पेज २४ प्यारा ३, नेपाल-भारतमा पाइने भाले सुगाको पनि सिउर हुँदैन-वास्तविकता।

पेज ४०-प्यारा २- ‘निश्चल’ हेराइ भनेको अविचलित हेराइ हो, यहाँ निश्छल वा छल रहितको भन्ने भावना छ। त्यसैले ‘निश्चल’को साटो ‘निश्छल’ हुन्छ।

पेज ४१-प्यारा ३- तराईमा जमिन्दार र पटवारी हुन्थे तथा पहाडमा जिम्वाल र मुखिया हुन्थे। मिसमास भयो।

(ख) कथाको प्लटमा सच्याउन सकिने पक्ष:

पेज १९ मा कमलले ‘अब सहरमा छस्, नोकरी गरेको छस्’ भन्छ, जब कि ऊ जेलबट छुटेर आएको हुन्छ, कमलले थाहा नपाएको हुन सक्छ (?)। पिताजी र मामा आएर जेलमा भेटेर गइसकेकाले गाउँलेलाई पनि थाहा थियो कि? भन्ने शङ्का गर्ने ठाउँ चाहिँ छ, तर यदि थाहा नभएमा पनि प्रेमले नै यस्तो पो हो त भन्नु पर्ने। यदि त्यसो भन्दा कथाको सम्पूर्ण रहस्य पहिले नै उजागर हुने भन्ने सोचिएमा उसले कथाको अन्तिममा तैंले यसो भनेको थिइस् कुरो यसो हो भनी उत्तर राखेको भए हाम्रो हिरो ‘प्रेम”को कथनको सत्यताप्रति पाठकवर्ग विश्वस्त हुने वातावरण बन्न सक्थ्यो।

सरूले कविता र पीँजडा कोरेर उडाएको कागजको हवाइजहाज कसरी मावा खोला किनारमा पुग्यो? प्राकृतिक रूपमा नदीको वहाव पनि काठमाडौँवाट त्यहाँ पुग्ने छैन, ठुलो हुरीले पुर्याउने सम्भावना (चान्स) पनि निकै कम छ। सरूले त्यस्ता धेरैवटामा लेखेर हवाइजहाज उडाउने गरेकी रहिछन्, कसरी दुई वर्षपहिले उडाएको भनेर ठ्याक्कै सम्झिन्? सरूकै मुखबट हामी परारसाल झापा जाँदा मैले दमकमा एउटा यस्तो हवाइजहाज उडाएकी थिएँ, त्यही हुनुपर्छ, भनाएको भए कुराको सन्दर्भ मिल्थ्यो।

पूर्व राजा वीरेन्द्र र रानी ऐश्वर्य देशाटन गरी विभिन्न व्यक्तिहरू भेट्ने गरेको २०४५ सालभन्दा अगाडि हो। २०४५ सालपछि त त्यस्तो ‘क्षेत्रीय सवारी’ रोकियो। त्यसअनुसार यो उपन्यासको घटना ४५ सालभन्दा अगाडि घटेको हो भन्ने बुझिन्छ किनभने प्रेमलाई राजा वीरेन्द्रले काठमाडौँ बलाउँछन्। तर पछि, पाण्डेजीले गाडी ठोक्याएर बनाउन लैजानेले मोबाइलमा कुरा गराइको प्रसङ्ग आउँछ, त्यति बेला नेपालमा मोबाइल थिएन। बरु दरबारीया भएकाले त्यति बेलाको ‘वाकीटकी’ भनेको भए प्रसङ्गिक हुन्थ्यो।(क्रोनोलोजिकल मिस्टेक)  

दरबरमा (पाण्डेजीको) बाहिरबाट ताल्चा लगाउने गरेको देखिन्छ, कहीँ कोही आएको देखिँदैन। दैनिक साग सव्जी ल्याउने व्यक्ति पनि देखिँदैन। पाण्डेजी पनि बिहान गएर राति अबेर मात्र आउँछन्, कसरी दैनिकी चल्छ? केही तरीका मिलाइएको हुनुपर्थ्यो ।

सरूलाई पहिले नै बलात्कार गरिएको हुन्छ, बलात्कारपश्चात्, कुनै नारीले पुरुषलाई सहज रूपमा विश्वास गर्न, स्विकार्न गाह्रो हुन्छ। प्रेमसँगको पहिलो भेटमै पुरानो प्रेमीजसरी व्यवहार गरेको अली अप्ठ्यारो देखिन्छ। धेरै भेटपछि सरूको विश्वास जित्न सफल भएको देखाउँदा सहज तथा वास्तविकजस्तो हुन्थ्यो होला।

सरूलाई वाइपोलर रोग भनिएकोमा औषधीमा ‘एभिल” पनि भनिएको छ जुन साह्रै साधारण औषधी र त्यो पनि एलर्जीको मात्र हो भन्छन् डाक्टरहरू।

प्रेमलाई बलात्कारपश्चातको हत्यामा पक्रिएको हुन्छ, हत्या होइन भन्ने ती औषधीले देखाए पनि उसले बलात्कार गरेको होइन भन्ने कुनै प्रमाण देखिँदैन बरु उसको डी. एन. ए. टेस्टले निजको कर्तुत प्रष्ट हुन्छ। अब निज अदालतबट छुट्न बलात्कार गरेको होइन भन्ने प्रमाण चाहिन्छ, नत्र हत्यामा वरि भए पनि बलात्कारको अभियोग यथावत रहन्छ, त्यो पनि उपन्यासमा देखिँदैन। राजीखुसी रतीकृया हो, बलात्कार होइन भन्ने स्पष्ट र दरिलो प्रमाण नभएमा छुट्दैन। उपन्यासमा यसको सन्दर्भै छुटेको छ।

यस्ता केही त्रुटि हुँदाहुँदै पनि कथा सशक्त छ । शब्दालङ्कार, शब्द विन्यास, शब्द संयोजन, उपमा, उपमेय र वाक्य संश्लेषणले खारिएको छ, कहीँ कतै पनि वाक्य संश्लेषणको आधारले कमजोरी पाइएन। पाठकलाई कथाको प्लटकासाथै शब्दचयन र त्यसको बमवर्षणले नागपाशले वाँधेझैँ बाँध्न सक्षम छ। यस उपन्यासले नेपाली वाङ्मयरूपी भवनमा पक्कै पनि नयाँ इँटा थप्छ, र उपन्यासकारका यस्ता वा यसभन्दा उत्कृष्ट रचनाले साहित्यिक विचरणलाई अझ चाखलागदो बनाउने नै छ भन्ने दरिलो विश्वास लिन सकिने ठाउँ छ। अस्तु।