April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

झ्याउ लाग्यो ! (बालकथा)

नर्मदेश्वरी सत्याल

निकिता परीक्षा सकिएपछि बाबाममीसँग घुमफिरमा निस्किन्थिन् । कक्षा दुईको अन्तिम परीक्षा सकेर उनी घर बसेको पनि दुई महिना बित्यो । आज निकिता टाउकामाथि दुबै हात राखेर बिछ्यौनामा लम्पसार परेकी छन् । एक्कासी आवाज छरियो– “म कहिलेदेखि स्कुल जान पाउँछु होला ममी !” शुश्रुषालाई काखमा राखेर ‘ताराबाजी लैलै’ सिकाउँदै गरेकी बबिताले भनिन्– “किन छोरी, लकडाउन खुलेपछि स्कुल खुल्छ अनि जाने ।” निकिता उठेर बहिनीसँग खेल्न थालिन् ।

दिदी घर बसेकाले बहिनी दङ्ग छिन् । ‘दिदी ! दिदी ! बाहिल जाने है’ भन्दै शुश्रुषाले दिदीलाई औँला समाएर लगिन् । उनीहरूको चिच्याहट र हाँसोले कोठा भरिएको थियो । भोलिपल्ट दिउँसो फेरि निकिता उसैगरी पल्टिएको देखेर बबिताले सोधिन्– “आज पनि किन सुतेकी तिमी ? सञ्चो भएन कि ?”

हैन, मलाई झ्याउ लाग्यो !

के हो ‘झ्याउ लाग्यो’ भनेको ?

एकदम बोर लाग्यो भनेको क्या ।

एकछिन उठेर बहिनीसँग खेल न ।

नाइँ, कति खेल्नु । अघि पनि खेलेको त हो नि ।

स्कुल जाँदा बहिनीसँग खेल्न भ्याइनँ भनेर गुनासो मान्ने निकितामा देखिएको परिवर्तनले बबिता छक्क परिन् । उनले सम्झाउने कोसिस गरिन्– “साँच्चै तिमीलाई किन झ्याउ लागेको भन त ?”

“अनि, मलाई कस्तो स्कुल जान मन लागिसक्यो । स्कुल जान पाए पो रमाइलो हुन्थ्यो ।”

आमाले छोरीलाई सम्झाउँदै भनिन्–“स्कुल जान पाइन्छ नि । अहिले धेरै देशमा कोरोना भाइरसले महामारी फैलाएको छ । धेरै मानिसहरू बिरामी भएका छन् । बालबालिका र बुढाबुढीलाई विशेष जतन गर्नुपर्छ । बेलैमा होस् गरिएन भने मर्ने डर हुन्छ । रोग सर्ला भनेर अरू देशले पनि लकडाउन गरेका छन् । यो रोग मान्छेबाट मान्छेमा सर्ने हुँदा भिडभाड गर्न हुँदैन । त्यसैले यहाँ पनि लकडाउन गरिएको हो । सुरक्षित हुन घरमै बस्नुपर्छ । निस्कनै परे मास्क लगाउनुपर्छ । साबुनपानीले हात धोइरहनुपर्छ । यतिखेर अति आवश्यक अफिसहरू बाहेक सबै बन्द छन् । झ्याउ मान्न हुँदैन बाबा ! म पनि घरमै छु, दिदीहरू छन् । खाऊ, पिऊ, रमाऊ, खेल, पढ, टिभी हेर, चित्र बनाऊ, मनमा लागेका कुरा लेखेर देखाऊ, नाचगान गर, आराम गर, कहिले दिदीहरूसँग भान्सामा पस, बहिनीलाई खुवाऊ, उनका खेलौनाहरू, मोजा, रुमाल र रिबनहरू धोएर सुकाऊ, पट्याएर टुङ्गामा राख, आफ्नो कोठा चटक्क पार, गमलामा पानी हाल, फूल फुलेको हेर अनि झ्याउस्याउ चट हुन्छ ।”

निकिताले वल्लाघर, पल्लाघर र मावल जान पाएकी छैनन् । कोरोनाले गर्दा दूरी कायम गरेर बस्नुपर्ने बाध्यता छ । दिनहुँ रेडियो, टिभी, पत्रपत्रिकाहरूबाट सूचना सुनिन्छ– “आफू पनि कतै नजाऔँ र अरूलाई पनि आउन नदिऔँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ ।” निकिता पनि सूचना सुन्छिन् ।

उनी दुई कक्षामा पहिलो भएकी थिइन् । यस वर्ष पनि उनको पहिलो हुने धोको थियो । कक्षा नौदेखि नर्सरीसम्मको परीक्षा हुँदा उनलाई रमाइलो लागेको थियो । उनी परीक्षा राम्रो भएकाले फुर्किदै घर पुगेकी थिइन् । परीक्षा राम्रो भएको र सबै प्रश्नपत्र गर्न भ्याएको कुरा ममीलाई सुनाएकी थिइन् । लकडाउनका कारणले समयमा रिजल्ट हुन सकेन । बैशाखको अन्तिमतिर स्कुलहरूले सामाजिक सञ्जालमार्फत रिजल्ट प्रकाशन गरे । निकिता यस वर्ष पनि सोचेजस्तै पहिलो भइन् । त्यसैले पनि उनलाई कक्षा तीनमा पढ्ने हतारो छ ।

लकडाउन थपिएसँगै स्कुल लाग्ने दिन सर्दै गयो । यस वर्ष एस.ई.ई.को परीक्षा पनि कोरोनाका कारण स्थगित भएको छ । बैशाख सात गतेदेखि पढाइ हुन्छ भन्ने कुरा निकिताले कक्षा शिक्षकबाट जानकारी पाएकी थिइन् । आज जेठ ६ गते हुँदा पनि स्कुल लाग्ने सम्भावना देखिएको छैन । 

लकडाउन फेरि थपिएर जेठ बिस गतेसम्म पुगेको छ । यो खबर सुनेर निकिताको मन अमिलियो । निकिताले नियास्रिँदै भनिन्– “ममी ! मलाई त झन् झ्याउ लाग्यो ! स्कुल जानै पाइएन । कहिले लाग्छ स्कुल चाहिँ ! बरु त मलाई तीन कक्षाका किताब ल्याइदिनू न । म पढेर बस्छु ।”

आमाले सम्झाउँदै भनिन्, “लकडाउन सकिएपछि कितब पसल खुल्छन् । अनि किताब किन्नुपर्छ । लकडाउनमा किताब पसलहरू बन्द छन् । कक्षा तीनमा पढ्ने साथीहरू पनि कता हो कता ! औषधी र खाने कुराका पसलहरू मात्र खुल्छन् । त्यो पनि पालो बसेर किन्नुपर्छ । सधैँ यस्तो हुँदैन बाबा । स्कुल लागिहाल्छ नि । अनि तिमी नपढी बसेकी पनि छैनौ । अङ्ग्रेजी, गणित, नेपाली सिक्दैछ्यौ । अभ्यासहरू गरेर मलाई, बाबालाई, दिदीहरूलाई देखाउँदैछ्यौ । यति जानेपछि तिमीले सजिलै पढ्न सक्छ्यौ ।”

“साँच्चै हो त आमा ! मैले घरमा यसरी नै पढे हुन्छ ?”–निकिताले जान्न खोजिन् ।

“भइहाल्छ नि । पढ्नु भनेको त व्यवहार गर्न जान्नु पनि हो । त्यो तिमीले सिकिरहेकी छ्यौ । पुस्तक पनि पढिरहेकी छ्यौ । तिमीले चिन्ता गर्नु नै पर्दैन ।” आमाले सम्झउनुभयो ।

निकितालाई आमाका कुराले चित्त बुझ्यो । उनी खुसी भइन् । उनले मुस्कुराउँदै भनिन्, “हो त आमा ! मलाई बेक्कारमै झ्याउ लागेछ है ?”