लकडाउन र यसको सदुपयोग
अहिलेको समय एकदम खतरनाक समय हो। यो समयमा हामी घरबाट बहिर निस्कनु हुँदैन। हामीले घरमा बसेर लकडाउनको सदुपयोग गर्नुपर्छ। हामीले घरमा नआएको नजानेको कुरा सिक्नुपर्छ। मेरो कुरा गर्ने हो भने मैले घर बसेर खाना पकाउन सिकेँ। मलाई सङ्गीतमा पनि रुचि छ। त्यसैले म सङ्गीत पनि बिस्तारै सिक्दै छु। म घरमा पढ्ने गर्छु। मामूले दिनको ६ घण्टा पढ्नुपर्छ भनेर समय छुट्याइदिनुभएको छ। म बिहान २ घण्टा, दिउँसो २ घण्टा र बेलुका २ घण्टा पढ्ने र लेख्ने गर्छु। म स्कुललाई खुब मिस गर्छु। मेरा साथीभाइलाई धेरै सम्झिन्छु । उनीहरूसँग खेल्न मज्जा आउँथ्यो। अब कहिले स्कुल खुल्छ र साथीहरूलाई भेट्नु जस्तो लागेको छ। तर हामी अनलाइन पनि कुरा गर्ने गर्छौँ ।
मैले घरमा बसेर धेरै कुरा सिकेको छु। मैले खाना बनाउन सिकेँ। कहिलेकाहीँ मामू काम गरेर गल्नुभएको बेला म खाना बनाउछु। मामू बाबाले मिठो भएछ भनेर खानुहुन्छ। म एसो भन्दा सोच्ने गर्छु कि “मिठो भएरै हो कि फुर्क्याउन भन्नुभएको हो ?” भनेर । तैपनि म खुसी हुन्छु । मामूबाबाले यसो भन्दा मलाई झन हौसला मिल्छ। म बिहान चिया बनाउँछु। बाबा ‘छोरीले मीठो चिया बनाउछे’ भन्नुहुन्छ। यो लकडाउन भएदेखि बिहान सधैँ म नै चिया बनाउँछु। त्यसपछि म पढ्न बस्छु। हामी खाना खाइसकेपछि कहिलेकाहीँ लुँडो खेल्छौँ। बाबाले खेललाई रमाइलो बनाउनका लागि कहिलेकाहीँ हामीलाई हँसाउने गर्नुहुन्छ। लुँडोमा बाबाको गट्टी काट्यो भने बाबा हामीलाई रोएको जस्तो मुख बनाएर हसाउनु हुन्छ।
हामी जहिलै बेलुका बारीमा जान्छौँ। हामीले अहिले बारीमा फर्सी, बोडी, मकै, भटमास आदि लगाएका छौं । म बारीमा जाँदा ब्याडमिन्टन लग्छु। हामी बारी खनिसकेपछि एकछिन खेल्छौँ। खेल्दा मामू र म खेल्छौँ। बाबा चैँ एक ठाउँमा बसेर हामीले खेलेको हेर्नुहुन्छ।
मामू र म धेरैजसो सँगै हुन्छौं। मामू त मेरो साथीजस्तै हुनुहुन्छ । हामी दुई जना मिलेर कहिलेकाहीँ गीत सुन्ने र गाउने गर्छौं। मलाई गीत सुन्न रमाइलो लाग्छ। गीत सुन्ने र गाउने त मेरो बानी नै भैसक्यो। मलाई त आजभोलि गीत गाउन र सुन्न धेरै मन लाग्छ।
म घरमा कहिलेकाहीँ मामुबाबालाई केक, पानीपुरी, खिर, चाउमिनजस्ता विभिन्न खानेकुरा बनाएर खुवाउने गर्छु। मैले जानिनँ भने मामूले सिकाउनुहुन्छ । हामी सबै जना मिलेर कहिलेकाहीँ फिल्म हेर्ने गर्छौं।
म यस वर्षदेखि कक्षा ७ मा पुगेँ। मसँग पहिला किताब थिएन। त्यसैले म ‘मिडास ई क्लास’ भन्ने एपबाट पढ्ने गर्थें। एकदिन बाबाले मलाई कक्षा ७ को किताब ल्याइदिनुभयो। मलाई मनपर्ने किताब म्याथ हो। तर त्यो किताब कुनै पसलमा पाइएन। तैपनि म अरू किताबहरू पढ्ने गर्छु। मैले ३ वटा किताबका सबै पाठ पढिसकेँ। मलाई पढ्न असाध्यै रमाइलो लाग्छ। घरी घरी मोबाइल पनि चलाउने गर्छु । मोबाइलमा म युटुब भिडियोहरू बनाउँछु।
घरमा बस्दा कहिलेकाहीं दिक्क पनि लाग्ने गर्छ । बाहिर घुम्न जान मन लाग्छ । के के किन्न मन लाग्छ तर फेरि यसो सोच्ने गर्छु कि, ‘यस्तो बेलामा मैले मामूबाबालाई टेन्सन दिनुहुँदैन, उहाँहरूले मेरैलागि कत्ती गर्नुहुन्छ’ भनेर। अनि म केही भन्दिनँ । म मेरा मामुबाबालाई धेरै माया गर्छु । तपाईंहरू पनि आफ्ना मामूबाबाले भनेको मान्नुहोस् । उहाँहरूलाई कहिल्यै पनि दुख नदिनुस् है। आफ्ना आमाबुबालाई माया गर्नुहोस्।
अहिले धेरै गरिब मानिसहरू जो काम गरेर खान्थे, तिनीहरूले काम गरेर खान पाएका छैनन्। हामीजस्ता स-साना बालबालिकाहरू विद्यालय जान पाएका छैनौँ। मलाई मेरो घर-गाउँ जान मन लागेको थियो तर यो लकडाउनले गर्दा यो छुट्टीमा जानै पाइएन । लकडाउनले गर्दा हाम्रो पढाइलाई असर परेको छ। छिट्टै यो लकडाउन खुलोस् अनि हामी स्कुल जान पाऔँ । आफ्ना साथीहरू ,सर म्यामहरूलाई भेट्न पाऊँ।
लेखकको सम्वन्धमा