रिमाल र ‘मसान’ : सामयिक सन्दर्भमा
नेपाली साहित्यको क्षितिजमा सङ्ख्याको दृष्टिले थोरै लेखेर पनि धेरै प्रशंसा पाउनेहरूमा गोपाल प्रसाद रिमाल पनि एक हुन्। उनका थोरै कृतिले पनि देश र जनताको हृदय घच्घच्याउने काम गरेको छ। सुतुवा कुम्भकर्णहरूलाई व्युँझाएको छ । सच्चा देशभक्त नेपालीको रगत चुसेर ढाडिएका जुकाहरूलाई सताएको छ। शोषित पिडितहरूलाई आफ्नो हक हित र अधिकारप्रति सचेत र चनाखो गराएको छ।
उनको हालसम्म पुस्तकाकारमा भेटिएका कृतिहरूमा मसान र यो प्रेम (नाटक), आमाको सपना (कविता सङ्ग्रह) र औंलामा गन्न पनि नपुग्ने एकाङ्कीहरू छन् । उनका कतिपय फुटकर एकाङ्की र कविताहरू उनको देहान्त भएपछि हराएको शङ्का गरिन्छ ।
रिमालको जन्म संवत् बारेमा निकै विवाद खडा भएको छ। उनलाई कसैले १९७४ साल जेठ १८ गते काठमाडौंमा जन्मेका हुन् भनेका छन् भने कसैले १९७५ साल जेठ १८ गते जन्मेका हुन् भनेका छन्। रिमालको परिवारबाट जन्म कुण्डलीको तलास नगरुन्जेल र जनसमक्ष सही साल नल्याइन्जेल समालोचक केशव प्रसाद उपाध्यायले “रिमाल व्यक्ति र कृति” मा उल्लेख गरेको १९७५ साललाई नै उल्लेख गर्नु अतिशयोक्ति नहोला । देश र जनताप्रति केही गर्छु भन्ने चाहना हुँदाहुँदै रिमाललाई २०३० साल कात्तिक ८ गते हाम्रो काखबाट सारसाउँदै अवस्थामा चुँडेर लग्यो । त्यस दुःखद् घटनाले नेपालीलाई एउटा न्यायको पक्षपाती युग पुरूषको क्षति हुन गयो भन्नु अर्घेल्याई नहोला ।
रिमाल देश र जनताप्रति सदैव चिन्तित थिए । उनलाई हमेशा नेपाली जनजीवनलाई आर्थिक र सामाजिक शोषणको साङलोबाट कसरी मुक्त गर्ने भन्ने समस्याले पिरोली रहन्थ्यो । त्यसैले हरेक साहित्य सिर्जनामा नेपाल र नेपालीलाई मध्यनजर दिएको भेटिन्छ । उनको कलमबाट पोखिएका भावना र विचारले सत्तासीनहरूको सिंहासन पनि हल्लिन्थ्यो । उनका कलमबाट भोका नाङ्गा र इमान्दार राष्ट्रभक्तहरूको अन्तस्करणमा रहेको यथार्थ कुराहरूको प्रतिनिधित्व भएको हुन्थ्यो । उनको व्यक्तित्व र कृतित्वप्रति उनका विरोधीहरू पनि नतमस्तक हुन्थे र अद्यावधि छन् पनि ।
रिमाल आफ्नो युगका एक जाज्वल्यामान प्रतिभाशाली व्यक्ति थिए । उनी सानै उमेरदेखि कविता लेख्ने गर्थे। १९९२ सालमा भएको एस.एल.सी. परीक्षामा वोर्ड फस्ट भएको कुरा रिमाल व्यक्ति र कृतिमा छ । यसबाट हामी रिमालमा प्रतिभा बेजोड थियो भन्न सक्छौं । रिमालले त्यतिखेर लेखेको कविताको स्तरबाट आजको कविता अघि बढ्न नसक्नु दुःख लाग्दो कुरा हो । रिमाललाई नेपाली साहित्यिक जगतले गद्य कविताको पिताको रुपमा स्वीकारेको छ।
उनका कविताहरू गद्यात्मक शैलीमा लेखिए पनि मिठास पूर्ण र लयात्मक छन् । विद्रोह र क्रान्तिकारी स्वरको बाहुल्यता भए पनि आजका जस्ता ठर्रा नाराले ग्रस्त छैनन् । उनी आफूले पाठकलाई दिन चाहेको कुरा सरल प्रतीकको माध्यमबाट अगाडि राखिदिन्थे । उनी अरूहरूको जसरी आफ्ना पात्रको माध्यमबाट अस्वाभाविक बौद्धिकता छाटेर सस्तो लोकप्रियता कमाउने जमर्को गर्दैनथे । उनी क्रान्तिकारी र विद्रोही मनस्थितिका व्यक्तित्व भए पनि कुनै राजनीतिक संगठन तिर संबद्ध व्यक्तित्व भने होइनन् । उनी मानवतावादी निर्भिक व्यक्तित्व हुन् ।
उनको व्यक्तित्वमाथि हिलो छ्यापेर शासक वर्गलाई चाकडी देखाई पद र पुरस्कार लिन तम्सिनेहरूले रिमालको “आमाको सपना २००७ सालको क्रान्तिले पूरा गर्यो, उनी प्रतिभाशाली व्यक्तित्व भएकाले आफ्नो उग्र प्रतिभालाई समयानुकूल परिचालन गर्न नसकेर विक्षिप्त भएका हुन्” भने तापनि वास्तवमा उनलाई २००७ सालको कथित क्रान्तिले चित्त बुझाउन सकेन । २००७ सालको धोकाले गर्दा उनी काठमाडौंका गल्ली गल्लीमा नाङ्गो खुकुरी लिएर नाच्न थाले। उनको पागलपनबाट पिरोलिएका सज्जनहरूले उनलाई उपचारको लागि राँची पुर्याए । उनको मानसिक अवस्था सुधार्न उनलाई खोरण्डो पारियो । उनी विक्षिप्त अवस्थामा पनि देश र जनताप्रति चिन्तित भएको कुरा उनका समकालीन विद्वान्हरू अझै बताउँदै छन् । यसबाट उनीमा देश भक्तिको भावना कति चर्को रूपमा थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ।
मुख्यतः उनी विक्षिप्त हुनुमा त्यसबेलाको सामाजिक परिपाटी र उनकै मानसिक अवस्था सन्तुलित गर्न नसक्ने कमजोरी पनि हो । भन्ने भनाइ केही विद्वान्हरूको छ । केहीले उनलाई शासक वर्गले आफ्नो विरुद्धमा कलम चलाएकाले मन्द विषको प्रयोग गरेर विक्षिप्त तुल्याएका हुन् भनी शङ्का उभ्याएका छन् । तर यसमा आधिकारिक प्रमाण कतै नभेट्नुले यो एउटा अड्कलबाजी मात्र हो कि भन्न सकिन्छ । जे होस् उनी जुन रूपमा विक्षिप्त भएका भए पनि नेपाली साहित्य जगतले उनीबाट जे जति आशा राखेको थियो सो पाउन सकेन । यो एउटा दुःखदायी घटना हो ।
रिमाललाई हाम्रो सामाजिक परिपाटी र कुप्रथालाई परिवर्तन गरी नैतिक मर्यादा र सामाजिक उत्थान गर्न सत्तामा बसेर भाषण चुट्नेहरूले सक्तैनन् । यसको लागि त निस्वार्थी र निर्भिक भएर पीडित र दलित वर्गले नै कर्म क्षेत्रमा डटनु पर्दछ भन्ने लाग्दथ्यो । त्यसैले उनी आफ्नो हर समयलाई सामाजिक उत्थानमा समर्पण गर्दथे । उनीलाई पिछडिएका वर्गको हमेशा चिन्ता भइरहनथ्यो । नेपाली पीडित वर्गमा पनि विशेष रूपले नारीलाई उनले प्राथमिकता दिएका छन् । आफ्नो माया एकाङ्की, मसान र यो प्रेम नाटक अनि कतिपय कविताहरूमा पनि नारी समस्यालाई नै अघि बढाएकाले यो तथ्यको प्रकाश हुन आउँछ ।
नेपालमा राजनैतिक र सामाजिक स्वतन्त्रता प्राप्त गर्न नेपालीहरूले नै कम्मर कस्नु पर्दछ । विदेशीको मद्दतले आफनो देशमा प्रजातन्त्र ल्याउन खोज्नु देशको सार्वभौमिकतालाई नै खतरामा पार्नु हो । आफ्नो आन्तरिक मामलालाई विदेशी मध्यस्थतामा राणा र कांग्रेस बीच सम्झौता गरेर ल्याइएको प्रजातन्त्र दिगो रहदैन । यसले त सही सङ्घर्षमा अभिप्रेरित जनतालाई अल्मल्याउँछ मात्र भन्ने धारणा रिमालको थियो । यसैले गर्दा रिमालले भारतका प्रधानमन्त्री नेहरूको मध्यस्थतामा राणा र नेपाली कांग्रेस बीच सम्झौता गरी ल्याइएको २००७ सालको कथित् प्रजातन्त्रलाई ‘प्रजातन्त्र’ भन्न हिचकिचाए । यो उनको जीवनको उललेखनीय निर्भिकता र विद्रोहशील पक्ष हो ।
रिमालको मसान नाटक २००२ सालमा नेपाली भाषानुवाद परिषद्बाट प्रकाशित भएको हो । अघिल्लो आधा र पछि प्रत्येक आधामा पाँच पाँच दृश्यको सिर्जना गरी आफनो अभिव्यक्ति सरल र रोचक छ आधा गरी नाटकलाई दुई फ्याक पारी संवादमा व्यक्त गर्नु रिमालको नाटकीय विशेषता हो । समाजमा नारीलाई भोग्याको दृष्टिले हेर्ने प्रचलन भएकोले उनले आफ्नो साहित्यमा नारीको हक, हित र अधिकारको बाटोमा औंला ठड्याउँदै आएका छन्। मसान नाटकमा पनि यही नारी समस्यालाई प्रस्ट्याउने चेष्टा रिमालले गरेका छन्। मसानको बनावट र यसको कथा वस्तुमा परेको प्रभावलाई लिएर प्रकाशन हुनासाथ धेरै आलोचकहरूले मसानलाई हेनरिक इबसेनको ‘कठपुतलीको घर’ नाटकको नक्कल भनेर आलोचना गरे । रिमालको मसान र हेनरिक इबसेनको कठपुतलीको घर नाटकको अध्ययन गर्दा सामान्य प्रभाव परेको देखिए पनि उनको मौलिकता जताततै मौलाएको भेटिन्छ। उनको क्रान्तिकारिता र मौलिकताको सन्दर्भमा समालोचक केशव उपाध्यायले व्यक्त गर्नुभएको विचार यहाँ उधृत गर्नु प्रासंगिक ठहर्छ _
“मसान” कुनै विदेशी नाटकको अनुकरण त होइन त्यसको रूप र आशयबाट प्रेरित र प्रभावित भएर रचिएको नेपाली जनजीवनकै नाटकीय रूप हो । यो रिमालमा रहेको नाटकीय प्रतिभाको सहज प्रकाशन हो । कविताको माध्यमले क्रान्ति र जागरणको स्वर फिजाई राजनीतिक परिवर्तन ल्याउन प्रयत्नशील कवि रिमालले स्वस्थ समाजको निर्माण गर्नका लागि सामाजिक क्रान्ति ल्याउने हेतुले नाटकीय माध्यम स्वीकार गर्नु भएको हो ।”* यसबाट हामीलाई के कुराको पुष्टि हुन्छ भने रिमालको मसान नाटक मौलिकताले भरिपूर्ण छ । र उनको क्रान्तिकारी पक्षमा पनि कसैले शङ्का उठाउने ठाउँ छैन।
नेपाली जनजीवनमा नारीलाई कसरी हेर्ने गरिन्छ ? सो कुरा नढाँटी कन जनसमक्ष ल्याउन रिमालको साहस सहरानीय छ । नेपाली नारीहरू हीनता बोधले पिल्सिएका छन्। अशिक्षित हुनाले आफ्नै वर्गलाई दुःख र सास्ती दिएको हेर्न चाहन्छन । र पुरुषको बर्बरतापूर्ण अत्याचारलाई भाग्यको खेल भनी स्वीकार गर्दछन्।
आफ्नो अधिकार कति हो र आफूले निभाउनु पर्ने कर्तव्यको सीमा कति हुन्छ ? सो कुराको अज्ञानताको कारण नारी नेपाली समाजमा अति चुसिएका, थिचिएका र मिचिएका थिए। यस कुराको उद्घाटन रिमालले आफ्ना नाट्य कृतिहरू मायाँ (एकाङ्की ), मसान र यो प्रेम नाटकबाट गरिदिएका छन् । यस गुनबाट रिमालले नेपाली नारीहरूबाट निकै सहानुभूति र सद्भाव कमाएका छन् भन्नु अतिशयोक्ति नहोला ।
मसान नाटकको बारेमा २/४ कुरा लेख्न खोज्दा त्यसको कथानकको छोटो परिचय दिनु अर्घेल्याइ नहोला ।
कृष्ण, युवती, दुलही, बागमती, भोटु आदि पात्रहरूको माध्यमबाट रिमालले मसानको कथावस्तु अघि बढाएका छन् । कृष्ण नेपाली सामन्त युगीन सहरीया समाजको प्रतिनिधि पात्र हो। उसले आफ्नो जीवनमा ३ वटा भयानक गल्ती गरेको छ -( क) युवतीलाई कृत्रिम औषधिको प्रयोग गरेर बन्ध्या बनाउनु (ख) दोस्रो विवाह गर्नु र( ग) युवतीलाई दिएको धोकाको प्रायश्चित गर्ने बहानामा छोरो जन्माई सकेकी दुलहीलाई टेढो आँखाले पनि नहेरी उसको अप्रत्यक्ष रूपमा हत्या गर्नु । उसले अघिल्ला दुई गल्तिहरूलाई स्विकारेको छ तर पछिल्लोलाई कतै पनि स्विकारेको देखिँदैन।
कृष्ण एकातिर हेलेनलाई खुब प्यारको अभिनय गर्छ भने अर्कातिर उसलाई आमा बन्न पाउने प्राकृतिक अधिकारलाई स्वार्थबस खोसी नारीलाई पुरुषको मुठ्ठीको खेलौना जस्तै बनाउँदछ। अर्कातिर मातृत्वको भोकले पिल्सिएकी युवती आफू बन्ध्या भएको स्वीकार गर्दै सन्तानोत्पादनका लागि लोग्नेलाई आफूमाथि सौता हाल्न कर गर्छिन् । कृष्णले दुलहीलाई छोरा पाउनको लागि मात्रै भए पनि बिहा गर्नै पर्छ। देवी जस्ती स्वास्नीलाई धोका दिएको अपराधबोधले कृष्णको घाँटी निमोठ्न थाल्छ। ऊ दुलहीलाई यथोचित प्रेम गर्न सक्तैन। आखिर छोरो पाइसकेकी दुलही कृष्णको व्यवहार देखी क्षुब्ध भै जीवनदेखि नै वाककिन्छिन् । लोग्नेले बहिनीप्रति गरेको अत्याचारबाट युवतीलाई चुप रहन दिँदैन। उनी लोग्नेलाई दुलहीप्रति सद्व्यबहार गर्न आग्रह गर्छिन्। आफूले गरेको अत्याचारको भण्डाफोर गरेर युवतीबाट सहानुभूति पाउन लालायित कृष्णले आफ्नो पोल त्यहीबेला खोल्दछ। आफूमाथि लोग्नेले गरेको अत्याचारको पोल खुलेपछि युवती लोग्नेप्रति आन्दोलित भएर घर छाड्न बहिनीसँग बिदा हुन जान्छिन् । तर दुलही उनले कुरै राख्न नपाई यस भव संसारबाट बिदा हुन्छिन् । आफ्नो अगाडि लोग्नेको अत्याचारले छोरो पाइसकेकी बहिनी (सौता) को दुःखान्त अन्त्यले आफूमाथि सौता हालेर मातृत्वको भोक निभाउन खोज्ने नारी पनि पुरुष जातिको बर्बरतापूर्ण अत्याचारबाट मुक्ति पाउन आइमाईलाई जिउँदै जलाइने मसान रूपी त्यो घर त्याग्छिन्। कृष्णले अनेक प्रलोभन देखाई लोलोपोतो गरेर सम्झाए पनि उनी त्यस मसानमा एकछिन् पनि बस्न सक्तिनन् । आफ्नो सबैभन्दा भलो चिताउने स्वास्नीसमेत आफूबाट चिडिएर हिँडेपछि कृष्णलाई धन, मान, र जाली मायाँले सत्यतालाई छोप्न सकिँदो रहेनछ । न त स्वाभिमानी व्यक्तिलाई प्रेमको जाली अभिनयले भुलाउन सकिँदो रहेछ भन्ने कुरा ज्ञात हुन्छ। अब प्रेम, स्नेह र कर्तव्यका कुराले युवतीको मन फर्काउन असफल भएपछि आफूले गरेको अपराधको प्रायश्चित गर्नलाई “म तिम्रो छोरो भएर जन्मु” भन्ने भाव व्यक्त गर्दछ। यसरी रिमालले नाटकमा सत्यको विजय देखाएर नाटकलाई अन्त्य गरेका छन्।
प्रकाशनको छोटो समयमा नै मसानले नेपाली साहित्यक जगतमा हलचल मच्चाउनुको मुख्य मुख्य कारण निम्न अनुसार हुन सक्छन् :-
( क) रिमालको मसान नाटक विदेशी नाटकको कथानकबाट प्रभावित भए पनि नेपाली जनजीवनको चित्र उतार्न सफल भएको छ। रिमालले मसानमा नेपाली सहरीया समाजको यथार्थ चरित्र अगाडि उभ्याइदिएका छन्। त्यसभन्दा अगाडिका साहित्यकारहरूले त्यसप्रति चासो देखाएको त्यति भेटिदैन। रिमालले मसान लेख्ने समयमा नेपालको जनजीवन निकै भयभीत थियो। उनीहरू सत्य कुरा पनि जन समक्ष ल्याउन सकिरहेका थिएनन् । उनीहरूलाई जतिखेर पनि १९९४ को सहिद पर्वले चिमोटी रहन्थ्यो। तर रिमालले तत्कालीन समयको त के कुरा अहिलेको समयलाई समेत माथ गर्ने गरी मसानको निर्भिक भएर रचना गरिदिए । जसले गर्दा भयभीत नेपाली समाजले उनीबाट धेरै कुरा सिक्न सक्यो ।
( ख) रिमाल महिला समस्यालाई लिएर नाटक एकाङ्की लेख्ने अग्रिम पङ्क्तिका नाटककार भएकाले उनले नेपाली महिला जगतलाई ठूलो गुन लगाएका छन्। समाजको एक पाङ्ग्रो मानिने महिला जगत हाम्रो समाजमा जुन रूपमा थिचिएका, मिचिएका र पिल्सिएका थिए त्यसको उद्घाटन रिमालले मसान नाटकमा गरिदिए। मसानको युवती महिला जगतको हक हित र अधिकारको शङ्खघोष गर्ने अग्रिम पङ्क्तिकी महिला हुन् ।
(ग ) नाटकको अन्तसम्ममा नाटकमा प्रयुक्त सबै पात्रहरूको वियोग भए पनि नाटकमा रक्त रञ्जित घटना कतै पनि नदेखिनु पनि अर्को कारण हो। नाटकको अन्तसम्म अध्ययन गर्दा कृष्णको साथ दिने एउटा पनि पात्र नदेखिनु रिमालले सत्यको समर्थन र असत्यको विरोध गर्ने सत्यतालाई प्रतीकात्मक रूपमा प्रस्ट्याएका छन्। धन, मान, प्रतिष्ठा र मायाको अभिनय गरेर सत्यतालाई छिपाउन खोजे पनि नाटकको नायक असफल हुनुबाट यी कुराको थप पुष्टि हुन्छ ।
( घ) रिमालले मसान नाटकको पात्र पात्राहरूमा अन्तरद्वन्द्वको सृजना गराएर नाटकलाई मनोवैज्ञानिक रूप दिने जमर्को गरेका छन् । यसमा प्रयुक्त पात्रहरू आ आफ्नै अन्तरद्वन्द्वले पिल्सिएका छन् । रिमालले कृष्णलाई उसको बर्सौदेखिको योजनाबद्ध अपराधलाई युवती सामु प्रस्तुत गर्न लगाएर सत्य कुरालाई छिपाउन नसकिने मानविय वास्तविकतालाई उदिङ्गियाएका छन् ।
( ङ ) रिमालले मसान नाटकमा नेपाली समाजमा प्रचलित विभिन्न सामाजिक कुप्रथाहरूलाई व्याख्या गरेर बहु विवाह बाल विवाहको धज्जी उडाएका छन् । नाटकको नायक कृष्ण आफ्नी स्वास्नीले घर त्याग गर्दा पनि नारीमाथि पाशविक धारणा राख्न पछि पर्दैन । ऊ पाए अर्की १६ बर्से कल्कलाउँदी युवती भित्र्याउने योजनामा छ । यसबाट रिमालले पाठकलाई के सङ्केत गरेका छन् भने हाम्रो समाजमा विद्यमान ७० वर्षको बुढाले १६ बर्षकी तरुनी बिहा गर्ने र अलिकति हुने खाने र ठुला बढाले एकमाथि जति सौता हाले पनि केही नबोल्ने हाम्रो सामाजिक परिपाटीको कान निमोठेका छन् । उनीभन्दा पहिलेका साहित्यकर्मीहरूले यी कुप्रथाको विरुद्ध कलम चलाएका कमै भेटिन्छ।
(च ) रिमालका नारी पात्रहरू आँटिला र जोशिला छन् । उनीहरू पुरुषको बर्बरतापूर्ण अत्याचारलाई आँखा चिम्लेर सहेर बस्न सक्दैनन्। न त उनीहरूको विरोधमा आवाज उठाउँदा केही व्यवधान पर्यो भने आत्महत्या नै गर्दछन् । रिमालका नारी पात्रहरू अरूको त के कुरा महाकवि लक्ष्मीप्रसाद देवकोटाका नारी पात्रहरू भन्दा पनि माथिल्लो कोटिका छन् । देवकोटाका मुना, कुञ्जिनी, सुलोचना आदि पात्रहरू जस्तो पुरुषको सर्वशक्तिलाई स्वीकार गर्दैनन् रिमालका नारी पात्रहरू । उनीहरू सकेसम्म पुरुषको बर्बरतापूर्ण अत्याचारको भण्डाफोर गर्छन् । आफ्नो अधिकार खोज्छन् । र सङ्घर्ष गर्दा केही व्यवधान पर्यो भने आत्महत्या नगरी व्यवधानमाथि जाइलाग्छन्। अन्त्यमा केही नलागे त्यो न्यायको कदर नहुने बस्ती त्यागेर अन्त लम्कन्छन् । जुन कुरा रिमालले मसानको युवतीमार्फत जनसमक्ष प्रकट गरेका छन् ।
( छ ) रिमालका मसानका नारी पात्रहरूमा वर्गीय प्रेमको भावना विकसित हुँदै गएको भेटिन्छ । माया एकाङ्कीमा मायाको खेदो खन्ने जुन अशिक्षित नारीहरू थिए मसान नाटकमा ठीक त्यसको विपरीत नारी पात्रहरू खडा गरेका छन् रिमालले । यसको पुष्टि कृष्णले सुत्केरी अवस्थामा समेत दुलहीको वास्ता नगर्दा युवती, सासु र बागमतीले क्रमशः सम्झाएको, हप्काएको र अनुनय विनय गरी अलिकति माया गर्न आग्रह गरेको भावनाबाट बुझिन्छ । रिमालका नारी पात्रहरू आफ्नो हक, हित, सम्मान र अधिकारको संरक्षणमा र त्यसको प्राप्तिमा कटिबद्ध छन् । उनीहरू पुरुषले नारीमाथि गरेको अत्याचारको एक एक गरेर हिसाब खोज्दछन् । कतिपय कुरामा रिमालले उनीहरूलाई विजयी तुल्याएर नेपाली नारीहरू पनि पुरुषभन्दा कम साहसिक छैनन् भन्ने देखाएका छन् । यो उनको भविष्यप्रति आशन्वित गराउने र नारीहरूलाई हीनताको भावनाबाट मुक्त गराउने एउटा नाटकीय कला हो ।
( ज ) रिमाल बौद्धिक नाटककार भए पनि आफ्नो साहित्यमा दर्शनको भरमार व्याख्या गरेर समको जस्तो सस्तो लोकप्रियता कमाउने जमर्को गरेका छैनन् । न त तिवारीको जस्तो अति सरल भाषामा साहित्य सिर्जना गर्दछन् । उनको नाटक पढ्ने पाठकहरू मध्यम स्तरका हुन्छन् । उनको नाटक पढ्न थालेपछि छोडौं जस्तो कहीं लाग्दैन । पात्रअनुसारको भाषा प्रयोग गरेर रिमालले मसान नाटकलाई अरू साधारण तुल्याएका छन् । उनको नाटक सबै प्रकारका पाठकले बुझ्दछन् । उनले कुनै पनि कृति लेख्दा पाठकको स्तरलाई ध्यान दिएको देखिन्छ ।
( झ ) नाटक भन्ने बितिक्कै रङ्गमञ्चमा अभिनय गरेर देखाउनु पर्ने भएकोले रिमालले मसान नाटकलाई अभिनय गर्नको लागि उपयुक्त हुने किसिमले प्रस्तुत गरेका छन् । रिमाल स्वयं पनि अभिनय गर्ने कलाकार भएकोले मसान नाटकमा अभिनय शिल्पलाई राम्ररी समायोजन गरेका छन् । दृश्य विधानमा पनि निकै ध्यान दिएको देखिन्छ ।
( य ) परम्परागत पूर्वीय नाट्य सिद्धान्त अनुसार “बियोगान्तम ननाटकम” भनेर नाटकमा दुःखदायी पक्षहरूलाई नकार्ने सिद्धान्तको विपरीत रिमालले मसान जस्तो वियोगान्तक नाटक लेखेर परम्परागत मान्यतालाई नै चुनौती दिएका छन् । मसानका सम्पूर्ण पात्र पात्राहरू नाटकको अन्तसम्ममा अति स्वाभाविकताका साथ लाखा पाखा लगाएका छन् । र केन्द्रीय पात्र कृष्णलाई जुन रूपमा प्रस्तुत गर्नु पर्ने हो त्यसमा एक रति पनि तल माथि पर्न दिएका छैनन् । ऊ आफ्नो चरित्र निर्वाहमा दृढ देखिन्छ । आफूले नाटक अन्त्य गर्दा आफ्नो विचार प्रष्ट भएन कि भन्ने शङ्काले हो वा अरी नै के विचारले हो रिमालले नाटकको अन्तमा उपसंहार लेखेर नाटकीय शैली मै नयाँपन थपेका छन् ।
उपसंहार
गोपाप्रसाद रिमालाई हामीले देख्न सकिने भएर पनि भेटघाट गर्न सकेनौं । यसबाट हामी उनको जीवनको बारेमा धेरै कुराहरूबाट अनभिज्ञ भै बस्नु पर्यो । उनका कृतिका आधारमा मात्र उनको मूल्याङ्कन गर्दा सही नहुन पनि सक्छ । मेरो विचारमा रिमाल नेपाल र नेपालीप्रति सदैव भलो चिताउने, अन्याय अत्याचार र थिचोमिचोलाई नसहने एक निर्भिक क्रान्तिकारी सुधारक हुन् । उनी दरिला समाजसेवी पनि हुन् । ठुलाबडा भनाउँदादेखि नडराई जायज कुरामा अडिग रहनु पर्छ भन्ने उनको मूल धारणा थियो । मसान नाटकमा यिनै कुराहरूको सङ्केत रिमालले दिएका छन् । रिमाललाई आदर र सम्मान गर्ने हो भने उनको कृतिहरूको व्यापक चर्चा परिचर्चा गरिनु पर्छ । उनको जन्म जयन्ती मनाउनु पर्छ । र उनका कृतिहरूलाई पाठ्यक्रममा समावेश गराउनु पर्छ । यसो गरिएन भने रिमालको देनको कुनै कदर भएको ठानिने छैन । न त उनको गुनको प्रायश्चित नै गर्न सकिन्छ । रिमालको साहित्य सार्वदेशिक, सार्वकालिक र कटु सत्यतामा आधारित हुने हुनाले यसको व्यापक खोजी र प्रचार प्रसार हुनु आजको प्रमुख आवश्यकता हो ।
२०४१/४/११ जोरपाटी माँगा चोक
*रिमाल व्यक्ति र कृति पृष्ठ १२४
(यो समालोचना आगमन सामयिक संकलन अङ्क २ मा २०४१ मा प्रथम पटक मेरो छद्म नाम चूडा’ गोपालको नामबाट प्रकाशित भएको थियो ।)
लेखकको सम्वन्धमा