मनको विचलन : नारी चिन्तन

नारी चेतना र चिन्तनको जीवन्त उदाहरण हो– मनको विचलन । यो नवोदित उपन्यासकार दुर्गा काफ्ले (२०२५) ले २०७४ सालमा आफ्नो पहिलो पुस्तकाकार कृतिका रूपमा प्रकाशन गरेको उपन्यास हो । लामो समयदेखिको साहित्य साधनाको निरन्तरताकै क्रममा प्रस्तुत कृतिले जन्म लिएको देखिन्छ । कृतिभित्र लेखक ‘म’ पात्रका रूपमा सुटुक्क छिरी आफ्नो परिचय दिएको देख्न पाइन्छ । झापाको दमकमा बसोबास गरी त्यहीँको कुनै विद्यालको शिक्षक तथा समाजसेवी व्यक्तिका रूपमा लेखकले आफूलाई उपन्यासभित्र परिचित गराएकी छन् । कपाल थाइकट भएकी, लिपिस्टिक र सामान्य शृङ्गारमा रम्रिरहन चाहने, मृदुभाषी, परपीडामा दुःखी हुने, केही उपहार दिएर अरूका ओठमा हाँसो देख्न खोज्ने उपन्यासकारका निजी स्वभावहरू प्रस्तुत उपन्यासबाट नै प्राप्त गर्न सकिन्छ । उपन्यासको ‘म’ पात्र र लेखकको व्यक्तित्वका बिचमा केही तालमेल देखिएको हुनाले प्रस्तुत उपन्यासलाई जीवनीपरक अध्ययन गर्नु उपयुक्त देखिन्छ तथापि उपन्यासभित्रको कथ्य वस्तुले नारी चेतना र चिन्तनको परिधिमा परिक्रमा गरेको हुँदा प्रस्तुत लेखमा मनको विचलनका अन्य केही पक्षका साथै मुख्य गरी नारी चिन्तनकै खोजी गर्ने प्रयत्न गरिएको छ ।
सरसरती हेर्दा मनको विचलनमा खर्लप्पै फ्रायडको यौनमनोविज्ञान पाइन्छ, विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा जस्तै । कोइरालाका उपन्यासमा जटिलता छ । तिनले उच्च बौद्धिक पाठकको अपेक्षा गर्दछन् । मनको विचलन सरल छ । जस्ता पाठकको पनि चित्त बुझाउने सामर्थ्य यसमा छ । सामान्य कथानकको पठनमा मात्र तृप्त हुने चाहना भए त्यो सजिलै प्राप्त हुन्छ । कोही मनोविज्ञान, नारीवाद, विसङगतिवादका तरेली र केस्राहरू नियालेर विवेचना गर्न खोज्छन् भने तिनलाई पनि मनको विचलनले अवसर दिन्छ ।
उपन्यासभित्रकी म पात्रलाई मूल्याङ्कन गर्दा मनको विचलन एउटी सामान्य नारीले सहज, सरल र ख्याल ख्यालमै लेखे जस्तो देखिए पनि गहन नारीवादी चिन्तनले ओतप्रोत औपन्यासिक दस्तावेज हो । एउटा कुशल कलाकारले एउटा निरीह गँवारको अत्यन्त जीवन्त अभिनय गरेजस्तै उपन्यासकारले आफूलाई म पात्रका रूपमा प्रस्तुत गरेकी छन् । म पात्रले कस्तो उपन्यास लेख्ला ? भनी अनुमान गरिसक्दा नसक्दै साह्रै कुशल र सफल हातले कुँदिएको शब्दचित्रको मूर्त रूपमा देखिएको छ– मनको विचलन । लेखक (म पात्र) ले आफूलाई प्रथम उपन्यास लेखनको अभ्यास र विषय वा कथानकको खोजीमा भौँतारिएको जनाए पनि उपन्यास पढिसकदा लेखकमा परिपक्व लेखनी देखिन्छ ।
सामाजिक विसङ्गतिको ज्वलन्त उदाहरण हो– मनको विचलन । रक्सी नखाएको निहुँमा पतिसँग पारपाचुके गर्ने पत्नी बिस्तारै रक्सी पिउन थाल्नु, बिहान–बेलुका पूजापाठ गर्ने, एकादशीलगायत अनेकौँ व्रत बस्ने नारी आफैँले दिनहुँ पूजाअर्चना गर्ने देवतस्बिरका सामुन्ने रक्सी पिउनु तथा परपुरुष गमन गर्नु, विद्यालय सुधार गर्ने पवित्र उद्देश्य बोकी दुई दिनको बिदा स्वीकृत गराएर हिँडेकी महिला शिक्षक पाँच दिनसम्म विद्यालयमा नआउनु, आफ्नो अनुपस्थितिमा विद्यार्थीको पढाइ कसरी प्रभावित भयो भनी चिन्ता लिनुको सट्टा कुनै अज्ञात र असान्दर्भिक पात्रमा औपन्यासिकताको खोजी गर्न तल्लीन हुनु आदि यस उपन्यासका विसङ्गतिका पाटाहरू हुन् ।
उपन्यासको भाषा सहज, सरल र सूक्तिमय छ । ठाउँठाउँमा अत्यन्त सरल तरिकाबाट दार्शनिक अभिव्यक्तिसमेत प्रकट भएको देखिन्छ । पत्रकारले फकाएर अथवा केरकार गरेर अथवा सहज र स्वभाविक रूपमा अन्तरवार्ताबाट वास्तविकताको पहिचान गरेझैँ प्रश्नोत्तर शैली यस उपन्यासमा मजबुत रूपमा आएको छ । यसका अतिरिक्त वर्णनात्मक शैलीले पनि उपन्यासको प्रस्तुतिलाई निकै रोचक बनाएको छ । लेखकले माइकल आमाको वास्तविकता खोजी गर्ने क्रममा देखिएको प्रश्नोत्तर शैली प्रश्न र उत्तरका क्रमको निरस प्रस्तुति मात्र नभई कौतूहलताले भरिपूर्णसमेत देखिन्छ । प्रश्नकर्ता (लेखक) र माइकल आमाबिचका कुराकानीमा दुवै पात्रका मानसिकता, परिवेश आदिले पारेको प्रभावका कारण ठाउँ ठाउँमा प्रश्न र उत्तरको क्रम रोकिएको छ । यस क्रमभङ्गताले ‘के होला ?’ भन्ने जिज्ञासालाई अझ परिपाकमा पुर्याएको छ । त्यहाँ कुनै दिकदारी छैन । बरु निरन्तरको प्रश्नोत्तरले पाठकमा छटपटी र दिक्दारी उत्पन्न हुनसक्थ्यो । त्यसो हुन पाएको छैन । वर्णनको क्रम एकछिन रोकिएर सन्दर्भ परिवर्तन हुँदा पठकमा पुनर्ताजकी प्राप्त हुने अवस्था देखिन्छ । अनि केही क्षणपश्चात पाठक कथासन्दर्भको खोजीमा लाग्छ र सहज रूपमा त्यसलाई पाउँछ पनि ।
डायरी साइजको १२१ पृष्ठमा पुस्तकाकार संरचना निर्माण भए पनि एघारौँ पृष्ठबाट मात्र उन्यासको थालनी हुँदा १११ पृष्ठमा नै उपन्यासको सम्पूर्ण कथावस्तु समेटिएको छ । एक बसाइमा पढिसकिने छोटो आयाम भए पनि यस उपन्यासले झापाको एउटा दुर्गम गाउँदेखि काठमाडौँ र अमेरिकाका पाँचतारे होटलसम्मका कुरा समेटेको छ । रुढिवादी विचार, अन्धविश्वास, विभिन्न अपसकुन, धर्मप्रतिको आस्था, राजनीतिक विकृति र राजनेताहरूको नालायकीपन, औषधोपचारको अभावमा हुने असामयिक र करुण मृत्यु, खानपिनका विभिन्न परिकारहरूको जीवन्त चित्रणले यस उपन्यासमा सामाजिक यथार्थको झलक देखाएका छन् ।
विषयवस्तुको विविधता भए पनि मनको विचलन नारी चिन्तनमै केन्द्रित कृति हो । ‘…नारीमाथि शोषण, उत्पीडन गर्नेहरू बढिरहेका छन् । त्यसैले मैले नारीलाई नै प्रमुख पात्र बनाएर यो उपन्यास तयार पारेकी छु ।’ भन्ने लेखकीयमा व्यक्त विचारले उपन्यासमा साँच्चै मूर्त रूप पाएको छ ।
उपन्यासमा मुख्य र गर्भे गरी दुई प्रकारका कथानक आएका छन् । मुख्य कथानक रेखीय ढाँचामा अधि बढी पाँच रात र छ–सात दिनको सेरोफेरोरमा सीमित छ । पूर्व दीप्ति शैलीका खण्ड खण्डमा प्रस्तुत भएको गर्भे कथाले निकै लामो समय लिएको छ । यी दुवै कथाका मुख्य पात्र नारी नै छन् । मुख्य कथानकमा म अर्थात् लेखकलाई नारी पात्रका रूपमा मुख्य भूमिकामा देखिन्छ । आख्यानमा लेखकको उपस्थितिलाई लैङ्गिक रूपमा नहेर्दा पनि हुने हो तर यहाँ लेखकलाई नारीको लैङ्गिक भूमिका निर्वाहमा देखाइने मुख्य तिन आधार छन् ।
१. लेखक स्वयम् महिला हुनु र आफूलाई नै उपन्यासको पात्रका रूपमा प्रकट गर्नु ।
२. महिलाले पनि अवसर पाएको खण्डमा समाज रूपान्तरणका लागि योगदान दिन सक्छन् भन्ने दृष्टान्त पेस गर्नु । उपन्यासको ‘म’ पात्र शिक्षक हो । उसले आफूले शिक्षण गर्ने विद्यालयको मात्र नभई अरू दूरदराजका विद्यालयको पनि उन्नति हुनुपर्छ भन्ने मान्याता लिएको छ । सोही क्रममा विद्यालयको सुधारका लागि म पात्रद्वारा गरिएको यात्रा उपन्यासको मुख्य परिवेश बनेको छ । झापाको दमकबाट जलथल पुगी त्यहाँको विद्यालयका प्रधानाध्यापक र अध्यक्ष (जो पुरुष हुन्) लाई विद्यालय सुधारका लागि एउटी समाजसेवी महिला शिक्षकले साथ दिने वचन दिएकी छ । यो आजको पुरुषप्रधान समाजमा पुरुषलाई विभिन्न सामाजिक कार्यमा साथ दिन र प्रभाव पार्न सक्ने सामर्थ्य नारीमा पनि हुन्छ भन्ने राम्रो दृष्टान्त हो ।
३. एउटी अपरिचित नारी पात्रको विगत खोज्नु । गर्भेकथाको मुख्य पात्र माइकल आमा नारी नै हो । एउटी अपरिचित नारीको विगत खोज्न पुरुषभन्दा नारी पात्र नै सफल हुन्छन् । त्यसैले माइकल आमाको विगत खोज्ने अभिप्रायले प्रस्तुत उपन्यासको मुख्य कथानकको म पात्र नारीका रूपमा आएको हुनसक्छ ।
उपर्युक्त तिन तथ्यलाई विश्लेशण गर्दा पहिलो तथ्य त्यति तार्किक र युक्तिसङ्गत लाग्दैन । तेस्रो तथ्य पनि साह्रै दर्बिलो देखिँदैन किनभने माइकल आमाको चरित्र त्यति जटिल छैन । पछिल्ला दिनमा ऊ जोसँग पनि सजिलै मिल्न सक्ने भएकी छ । म पात्रले भन्दा जुँगेले माइकल आमालाई बढी चिनेको छ । ऊ पहिलो भेटमा नै माइकल आमालाई प्रभाव पार्न सफल भएको छ । त्यसैले माइकल आमाको अतीत खोज्नकै लागि म पात्रले नारीका रूपमा उपस्थित हुनु अनिवार्य देखिँदैन । तथ्य र तर्क अरू पनि हुनसक्छन् । सामान्यतः लेखकीयमा व्यक्त कथनसमेतलाई आधार लिने हो भने नारीको सक्षमता प्रकट गर्नकै लागि म नारी पात्रका रूपमा उपस्थित भएको हो ।
यस उपन्यासमा म पात्रले अन्य नारी पात्रलाई नै भेटेको र तिनलाई पुरुषका तुलनामा महत्त्वपूर्ण स्थान दिएको देखिन्छ । उसले संयोग र व्यवहारका सिलसिलामा भेटिएका पुरुष पात्रहरूलाई खासै महत्त्व नै दिएको छैन । बाटामा बास बस्ने घरमा एक्ली नारी पात्र भेटिनु संयोग मात्र होइन, नारी चिन्तनकै उपज हो । जलथल पुग्नुभन्दा अघिको चौधरी गाउँमा नारी पात्रको अकाल मृत्यु, युवकको क्रोधी र युवतीको भद्र तथा मर्यादित स्वभाव देखाउनु, जलथल पुग्नै लागेका बखत घाँसको भारी र त्यसमाथि आफ्नो बालक छोरो बोकेकी महिलालाई भेट्नु, उक्त बालकलाई घरका पुरुष सदस्यले ख्याल विचार नगरेको भन्दै बालकका बाबुप्रति रोश प्रकट गर्नु, सासूबुहारी आमाछोरीजस्तै मिलेर पुरुषबिना पनि कुशलतासाथ घरगृहस्थी थामेको, अतिथिलाई उपयुक्त आतिथ्य प्रदान गरेको, विद्यालयसँग सम्बन्धित (उपन्यासकै मुख्य) कार्यमा पुरुष पात्रको उपस्थिति भएकाले उनीहरूसँगको कुराकानी अत्यत्न छोटकरीमा प्रस्तुत गर्नु, अमेरिका बस्ने आफ्नै छोराले गरेको फोनका कुरा र छोराका विचार गुपचुपमा राख्नु, माइकल आमाले घरगृहस्थी सम्हाली पतिलाई पढ्न सहर पठाउनु, छोरो गैरजिम्मेवार बन्नु, ससुराकै खुसीका लागि आफू पतिसँग सहर नगई गाउँमै ससुराको सेवा गरी बस्नु, छोरीले आफूलाई आमाले जस्तै माया गर्नु तथा आधुनिकता सिकाउनु, सामाजिक विभेद र आसन्न चुनौतीका कारण छोरीले आत्महत्या गर्नु, पतिको खुसीका लागि आफ्नो इच्छाविपरीत भए पनि पारपाचुके गर्नु, जुँगेकी सात बर्से छोरीको कारुणिक मृत्यु देखाउनु, माइकल आमाले आफ्नो अघोषित पतिकी छोरीप्रति सहानुभूति प्रकट गर्नु, अघोषित सौताको ईर्ष्या गर्नु र अघोषित पतिलाई परेका बखत आर्थिक सहयोग गरी मानवीय भावना व्यक्त गर्नु आदि नारी चिन्तनकै उपज हुन् ।
उपन्यासमा पुरुषका सापेक्षमा नारी पात्रको बाहुल्य छ । उनीहरूमा सहृदयता, मानवता, संवेदना, भावुकता, त्याग र सपर्मणको भावना बढी छ । आर्थिक, वैचारिक, सामाजिक, राजनैतिक, शैक्षिक आदि मूल्य र मान्यताका दृष्टिले पुरुष सम्पन्न भए पनि मानवताका दृष्टिले नारी भरिपूर्ण छन् भन्ने विचार उपन्यासका विभिन्न कथन र सन्दर्भबाट प्राप्त हुन्छ । मुख्यतः पुरुषवादी सोच र पितृसत्ताकै कारण नारीले पुरुषका तुलनामा सामाजिक, आधुुनिक तथा अन्य विविध उन्नति गर्न नसकेका हुन् भने आंशिक रूपमा नारीको अध्ययनप्रतिको उदाशीनता (अल्छी) ले पनि उनीहरूलाई सामाजिक मर्यदा उच्च पार्न पछि पारेको हो भन्ने चिन्तन प्रस्तुत कृतिमा छ । उपन्यासमा एकल महिलाको यौवन र धनमा पुरुषले आँखा लाउने प्रवृत्तिको विरोध खुलेरै गरिएको छ ।
समग्रमा समाजमा विद्यमान लैङ्गिक विभेदकारी दृष्टिको अन्त्य गरी नारीपुरुष दुवैलाई प्रगतिपथमा लम्कन समान परिवेश र अवसर दिनुपर्ने, नारी हिंसाका विरुद्ध यथोचित कानुनी प्रावधान तथा व्यवहार हुनुपर्ने, मुख्यतः नारी आफैँले स्वअस्मिताको खोजी गर्नुपर्ने, आँटिलो र दरिलो भई आवश्यक पर्दा समाजसँग सिँगौरी खेल्दै अग्रगामी पाइला चाल्नुपर्ने सन्देश प्रस्तुत उपन्यासको केन्द्रीय नारी चिन्तन हो ।
लेखकको सम्वन्धमा