December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

त्यो दिन चिया जुठो भएन

उमेश साह

हिजोआज सूर्य नउदाउँदै
मेरा नयनहरूले
मिठा सपना पूरा गरिसकेका हुन्छन्
र त अचेल चराचुरङ्गीझैँ
रमाउन मन लाग्छ;
अँध्यारोलाई उछिनेर
मिर्मिरे आशाका किरणहरूमा
चरीजस्तै स्वतन्त्र तिम्रा मुस्कानहरूमा,
पखेटा पलाएजस्तै
उड्न उकुसमुकुस गर्ने मेरा रहरहरूमा,
उहिले तिम्रो रहर
मेरो मुस्कान र “क्याफे चिया”,
 बानेश्वर हुदै शङ्खमुल जाने बाटोको
करिब आठ सय मिटर सडक पार गर्दै
तिम्रा र मेरा पाइलाहरू
आइपुग्थ्यो
“क्याफे चिया”
समान गतीमा आइपुगेका हामी
असमानता जनाउँदै तिम्रा ओठहरूले
भन्न भ्याइसक्थे- “म्याम..दुई कप चिया”
 
एक दिन
एक युगल जोडीलाई
एकान्तकुनामा
एक पेप्सीकोलाको मुखमा
दुई टिप(स्ट्रिप) राखेको एक दृश्य देखेर
 मैले तिमीलाई सोधेको थिएँ-
“कान्छी !
उनीहरूजस्तै हामीले पनि त चिया खाएका होइन र?”
 
ओठ लेपार्दै
टिकटकमा एक्टिङ्ग गरेजस्तै
तिमीले भनेकी थियौ-
“त्यो त जुठो खाइरहेका छन्, होइन र??”
सधैँझैँ, अर्को दिन पनि
तिमी र म आइपुगेका थियौँ- “क्याफे चिया”
त्यसदिन तिमीलाई हतार थिएन,
 त्यसदिन रातो लिपिस्टिकले रङ्गिएका
तिम्रा ओठहरू रोकिएका थिए
केही कुरिरहेझैँ,
कोपिलाले बसन्तलाई कुरेर बसेझैँ,
 र त्यस दिन
कोपिला फूल बनी फक्रियो,
अनि मेरा आँखामा आँखा जुधाई
भनेकी थियौ वेटरलाई-
“म्याम..एक कप चिया”
त्यसदिन मेरा कानहरूले
“एक कप” पनि ‘दुई’ चोटी सुने,
र मलाई लाग्यो
त्यसदिन क्याफेसम्म
“तिमी र म” होइन,
“हामी” आइपुगेका थियौँ।
कपको एक छेउबाट
एक चुस्की लिइसकेपछि
मेरो एक हातले
तिम्रो अर्को हातमा
कप राखिदिँदै गर्दा
मैले सोधेको थिएँ-
 “आज… एक कप मात्र… किन ?”
अनि तिमीले
एक हातले चिया लिँदै
अर्को हातले मोबाइल लिएर
आँखा झिम्क्याई
सेल्फी खिच्दै
उत्तर दिएकी थियौ-
 “चिया त जुठो हुँदैन, उम्मु…”