January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

गान्धारी बन्न मन लाग्छ

दुर्गा काफ्ले

अहङ्कारले होला
आकाश गर्जँदै थियो
डराएर होला सायद
सूर्यले प्वालबाट चियाउँदै थियो
चप्पलका लोती चुडिएर
मेरो गन्तव्य टाढा बनेको थियो
बिचको समुद्रलाई हेरेर
मेरी आमाको लास गन्हाएको थियो
छोरीको फाटेको भोटो साटिदिन
मेरो दाजु मुग्लान छिरेको थियो
माङ्मालुङ्ग चिया बगानको पीडा
मेरा मनमा आलै थियो
आफूलाई ऐनामा हेर्न छोडेर
मेरा अनुहारका चाउरी रेखा गनिदै थिए
जरुवाको पानी पिएर
हुर्किएको म, बालुवा चुस्नुपर्दै थियो
तिखो ढुङगालाई मुठारेर
मूर्ति बनाउन सक्ने म आफैं
भुत्तिएको भान हुँदै थियो !
आफैँले गमलामा रोपेको
फूल नाक्वेणी बनी
नाक छेडिरहेको थियो
त्यसैले त मलाई घरी घरी
गान्धारी बन्न
मन लागिरहेको थियो
 
समाचार बाचिकाझैं
प्रस्ट उच्चारण गर्ने मेरो जिब्रो,
‘ए अब त लाटो बनिदे न’
भनिरहेको थियो
वयली खेलेझैं बाटाहरूलाई
छिचोलेर आएको मन
एक, दुई अनि तिनमा नै
डराएको थियो
कुमालेले गमला र घैंटो मात्र बनाउँदैन
पृथिवी पनि बनाउँछ
सोच्दै थियो –
बैठक, मिटिङ र सेमिनारहरू
सम्झँदै,
चोट आफैंभित्र लुकाएर
धर्तीलाई ‘मुस्कुराउनु पर्छ’ भनी
सम्झाउँदै थियो ।
 त्यो
कोरोनाको आक्रमणभन्दा
कठिन आक्रमण थियो
तर पनि गोडालाई
‘सत्तल नछोड् है’ भन्दै थियो!
 
अनि सोच्दै थियो
घाम जति नै चर्को लागे पनि
समुद्र त कहाँ सुकाउन सक्छ र !
अनि झार रोपेर फूल फुलेन भनी
पिरोलिनु किन पर्छ र !
त्यसैले मलाई कहिलेकहीँ
गान्धारी बन्न मन लाग्छ ।
 
त्यो कोरोनाको राहात वितरण
र ती चाउरिएका हातहरू,
बाङगिएका ढाडहरूले
बोरा उचालेको याद आउँछ
अनि “नानी यत्ति हो ”
सुन्नु नपरोस् भनी
कान थुन्न मन लाग्छ
अनि लामो ताँतीमा बसेका
भोका पेटहरूले
कुरा पोक्याएर हप्काएको याद आउँछ
त्यसैले त मलाई
कहिलेकहीँ गान्धारी बन्न मन लाग्छ ।