मनको विचलनमा घोतलिँदा
झापाको दमकबाट महेन्द्र माध्यमिक विद्यालय जलथल गाविस झापा हिँडेकी लेखिका दुर्गा काफ्लेको यात्राको अनुभूतिमा गुम्फित उपन्यास हो “मनको विचलन ” । लेखिका दुर्गा काफ्लेले बडो मीठो ढङ्गले आत्मपरक शैलीमा उपन्यास अगाडि बढाएकी छिन् । एक नारीको दुःखान्त जीवनको उतार चढाव पूर्ण कहानीमा अधारित छ यो उपन्यास। माइकल आमाको सुख दुःखको बारेमा कौतूहलतापूर्वक वर्णन गर्ने लेखिकाको खुबीलाई मान्नु पर्दछ । माइकल आमा नियतिले जुङ्गे ड्राइभरको रखेल बनेकी अधबैंसे महिला हुन् । आम ग्रामीण परित्यक्त महिलाको कहानी हो ‘मनको विचलन’ । ड्राइभर पनि दिनभर गाड़ी चलाएर कमाएको पैसा घर नपठाएर पूरै एकै रातमा मासु र रक्सीमा उडाउने लम्पट स्वभावको देखिन्छ। यो नेपाली यातायात मजदुरको आम कहानी हो । घरमा स्वास्नी छोराछोरी भएको जुङ्गे ड्राइभरको मती देख्दा पाठकको मन कटक्क खान्छ। घरमा सात वर्षकी छोरी बिरामी परेको थाहा पाएर पनि छोरीको उपचार गर्नु त कता हो कता माइकल आमाले घर जाऊ भन्दा पनि नगएर उसैसँग रोमान्स गरेर बस्छ । विचरी स्वास्नी छोछोरीहरूलाई सिटामोल किन्ने पैसा पनि नदिई पूरापुर बेवास्ता गर्छ । छोराले बहिनी बिरामी भएको खबर माइकल आमालाई छोडेको र माइकल आमाले घर जान कर गर्दा पनि नगई माइकल आमासँग रक्सी र खसीको टाउकाको मासु खाएर रमाइलो गरी बस्छ। भोलिपल्ट पनि नजिकैको घर नगैई सिधा काममा जान्छ । लेखिकाले माइकल आमालाई मन्दिर जान कर गर्दा पनि जुङ्गे ड्राइभरकी स्वास्नी, छोछोरीहरूलाई भेट्नु पर्छ भनेर जान नमानेकी माइकल आमा जुङ्गे ड्राइभरकी छोरी मरेको खबर पाएपछि रुन थाल्छिन्। लेखिकाले अघि मन्दिर जाऊँ भन्दा उनीहरुलाई भेट्नु पर्छ भनेर नजाने अहिले किन रुनु हुन्छ भनेर सम्झाउँदा चुप लाग्छिन् ।
यहाँ लेखिकाले अर्की आइमाईको खुसी लुट्ने भनेर माइकल आमालाई घृणाको भावले हेर्छिन् । तर पनि आफ्नो उपन्यास लेख्ने चाहना पूरा नहुने हो कि भन्ने डरका कारण केही प्रतिक्रयाहरू जनाउन सकिरहेकी हुन्नन् ।
विचरो जुङ्गे ड्राइभरको साथमा मरेकी छोरीको सद्गति गर्ने पैसो पनि नभएर उनै माइकल आमासँग मागेर लानुपर्ने अवस्था देख्दा निकै कारुणिक र दयनीय लाग्छ l लेखिकाले लोग्नेको इचछाअनुसारको व्यवहार गर्न नसक्ने महिलाको हालत कस्तो हुन्छ ? माइकल आमाबाट बुझाउन कोसिस गरेकी छिन् । गाँउबाट भर्खर सहर झरेको अधिकृत लोग्नेको पाँच तारे होटलमा विवाह भोजको पार्टीमा रक्सी खाएर ब्रेक डान्स गर्दै रमाइलो गर्ने प्रस्तावलाई साथीहरूका अगाडि अस्वीकार गरेकै कारण लोग्नेबाट तिरस्कृत भएकी छिन् माइकल आमा । लेखिकाले सानैमा विबाह गरेका जोडीका बीचमा माया प्रेम अङ्कुराउन नसकेको अवस्थाको चित्रण कलात्मक ढङगले गरेकी छिन् । सहरमा घरानियाँ आमाजूका घरमा बसेर पढ्दै गरेका लोग्नेलाई चाहेर पनि सँगै बसेर आफ्नो यौन चाहना पूरा गर्न सक्दिनन्। कसो कसो अलि लामो समय बसेको बेलामा छोरा र छोरी जन्माउँछन् । पढ्न बाबुसँग बसेकी छोरी शारदाको आत्महत्यापछि छोडपत्र गरेर सहर छोडेकी माइकल आमा आफैं जुङ्गे ड्राइभरको रक्सीको नशामा कसरी फस्छे ? घरमा महिला पाहुना भएका अवस्थामा पनि ऊ कसरी यौन सन्तुष्टि लिन्छे ? लेखिकाले कलात्मक रूपमा रोचक ढङगले प्रस्तुत गरेकी छन् । लेखिकाले यस उपन्यासलाई रोचक बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । उनले आफ्नो उपन्यासमा नेपाली ग्रामीण क्षेत्रका किसानहरूको सुख दुःख, पाहुनाको सत्कार गर्ने शैली, तराईको आदिवासी थारूकी कलिली बुहारी सुत्केरी हुन नसक्दा डाक्टर समयमा नआएको कारण मृत्यु वरण गर्नु परेको अवस्थालाई बहुतै कारुणिक ढङगले प्रस्तुत गरिएको छ । मूलतः लेखिकाले महिलाको र पुरुषको यौनिक स्वतनत्रता, सहरी जीवन र ग्रामीण जीवन, तराईबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अभाव, भोक, रोग, अशिक्षा र दुरुहताका बारेमा कुशल ढङगले जानकारी दिएकी छिन् ।भाषा मिठो हुनुका साथै सलल बगेको छ। कौतूहलता जगाइराख्न सफल छ यो उपन्यास। नारी यौन मनोविज्ञानमा आधारित यो उपन्यास साँच्चिकै एक नारी लेखिकाले कसरी लेखिन् होला ? पत्याउन गाह्रो हुन्छ। आफैंलाई पात्र बनाएर लेखिएको यो उपन्यास समाएपछि पाठक नसकी छोड्न चाहँदैन । चुम्बकीय शक्ति छ यो उपन्यासमा । यो उपन्यासमा वर्णन गरिएका पात्र पात्राहरुको आआफ्नो कथा व्यथाहरू छन् । माइकल आमाको पूर्वलोग्ने गाउँमा सानैमा विबाह गरेर सहरमा पढ्ने बहानामा दिदीका घरमा बसेर आफ्नो अध्यनलाई अगाडि बढाउन मेहनत गर्छं ।माइकल आमाको कोखबाट एउटा छोरा एउटी छोरी जन्माउँछ । दिदीको घरबाट अधिकृत पास गरेर काठमाडौंमा आफ्नै घर बनाएर छोछोरीहरूलाई समेत लिएर दिदीको घरबाट आफ्नै घरमा सर्छ । गाँउमा बाबु स्याहार सुसार गरेर बसेकी पतिपरायण स्वास्नी भएर पनि आफ्नो यौन चाहना पूरा गर्न आफ्नै घरमा बस्ने केटीसँग लाग्छ । छोरी शारदाले आमालाई बाबुको हरकत थाहा पाएर काठमाडौं डाक्छिन् । तर एक्लो विदुर ससुरा, गाउँको खेतीपाती, गाई भैंसी, घर व्यवहार चटक्क छोडेर समयमा आउन सक्दिनन् । ससुरा पनि समाजसेवा, शिक्षक र राजनीतिक काम छोडेर छोराको घरमा बस्ने गरी जान पनि मान्दैनन् । बल्ल ससुरालाई सम्झाएर काठमाडौँ ल्याउँदा लोग्ने धेरै नै रक्सी र रण्डीमा फसिसकेको हुन्छ । उसलाई आफ्नी स्वास्नी पाखे गँवार लाग्छ । छोरीले ब्युटीपार्लर लगेर कपाल रङ्गाउने र मेकप नगरी दिएको पनि होइन। आफूलाई माया गर्ने छोरी दलित केटासँगको प्रेम केटाका अभिभावकले दलितका छोराले बाहुनी केटीसँग विबाह गरे पाप लाग्छ भनेर जबर्जस्ती अर्कै केटीसँग विवाह गरेको र पेटमा त्यस केटाको गर्भ रहेकाले विष सेवन गरेर मर्छे । ससुरा पनि मर्छन् । छोरो अमेरिका पलायन हुन्छ । ससुरा पनि मरेपछि आड भरोसा कसैको नपाएर महिलाहिंसा सहन नसकेर अधिकृत लोग्नेले “घर पास गर्ने कागजमा हस्ताक्षर गर” भनेर झुक्याएर छोडपत्रको कागजमा हस्ताक्षर गराएर बाहिरिन बाध्य हुन्छे । पुत्रहिन पाँचवटी छोरीमध्ये सबैभन्दा बढी दुःख पाई भनेर किनिदिएको माइती छेउको सिम खेत र सानो छाप्राको लोभमा चितवनबाट झापाको देवस्थल गाविसमा आइपुग्छिन। त्यही सम्पत्तिका लोभमा परेर जुङ्गेले उनीलाई अपनाउन राजी भएको देखिन्छ । जुन कुरा उसले माइकल आमालाई भन्छ पनि । माइकल आमा बाबुको चिनो दिन इन्कार गर्दछिन् । लेखिका महेन्द्र माविको भौतिक सुधार गर्ने आकाङ्क्षासहित दमकबाट जलथल गाबिसमा आउँदा बास बस्नका निम्ति घर खोज्ने क्रममा उनको आश्रयमा पुग्छिन् । अघिल्लो पटककी माइकल आमाको आतिथ्यबाट लोभिएका कारण फर्किंदा पनि सोही घरमा बास बस्न पुग्छिन् । त्यो दिन बेलुका कालिजको मासुसहित रक्सीको बोतल बोकेर माइकल आमासँग रोमान्स गर्न गएको जुङ्गे ड्राइभरको भिलेन बन्नु परेकोमा अप्ठ्यारो महसुस गर्छिन् । तर बेला घड्किसकेकाले त्यहीं बस्न बाध्य हुन्छिन् । सुरुमा माइकल आमाको लोग्ने नै ठानेकीले असजिलो महसुस गरेर सुतेकी भए पनि राति नै ढोका उदाङ्गो पारेर बाहिरिएकाले मात्र वास्तविक लोग्ने नभएर नाठो भएको शङका गर्छिन् । त्यहाँ लेखिकाले उनीहरूबीचको यौन गतिविधि सूक्ष्म ढङगले निदाएको बहाना गरेर अवलोकन गर्छिन् । बिचरी माइकल आमाको अवस्था रक्सीको सेवनले कपडा सरेर अर्धनग्न थियो । चोलोको तुना खुस्केर लाजमर्दो भएको थियो। बिउँझेपछि उनी लेखिकासँग लजाउँछिन् पनि । तर उनैको जीवनीमा आधारित भएर उपन्यास लेख्न कस्सिएको लेखिका उनको सबै हर्कत पचाएर ३/४ रात नै त्यहीँ बसेर आफ्नो उपन्यास लेख्ने सपना पूरा गरी छाड्छिन् । माइकल आमाको खरो र निष्कपट मायालु व्यवहारका कारण उनीसँग लहसिन्छिन् । फरासिलो मिजास र लोभलाग्दो कहानीको लोभले उनी जस्तोसुकै जोखिम मोल्न तत्पर भइन्। बिचबिचमा अरु कुरामा मोडिन लागेको वातावरणलाई पुनः सोझ्याएर आफ्नै लिकमा हिँडाउन सक्नु लेखिकाको खुबी नै हो ।
यो कृति उपन्यास भनिए पनि लामो कथा नै हो । यसमा उपन्यासका अङ्ग पुगेको छैन । कथा भन्न पनि नसकिने उपन्यास भन्न पनि नमिल्ने हुँदा लेखिकाले उपन्यास भने पनि मेरा विवेकले यस कृतिलाई लघु उपन्यास ठहरायो । लेखिकाको प्रयास सराहनीय भएकोले यो प्रतिक्रिया नलेखिरहन सकिनँ। भाषा शैली मीठो र आकर्षक छ । पहिलो प्रयास भएकाले पनि होला कथा र उपन्यासको वर्णसङकर भएको यो उपन्यास । यो उपन्यास पढ्न सुरु गरेपछि छोड्न मन नलाग्नु यसको सफलता हो भन्ने मेरो ठम्याइ छ । लेखिकालाई अरू लेख्न उत्प्रेरणा मिलोस् यही मेरो हार्दिक मङगलमय शुभकामना छ ।
लेखकको सम्वन्धमा