January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

मेरा सपनाहरू

देवीप्रसाद गौतम

मेरा सपनाहरू
निलो आकाशका
बादलका टुक्राजस्तै
छरिएका छन्
घरि यता घरि उता गर्दै ।
 
स्पष्ट आकार लिन
खोज्दाखोज्दै
ती बदलिन्छन्
विभिन्न खण्डहरमा।
 
पूरा हुन आँटेका
मेरा सपनाहरू
क्षणभरमै
निराशाका शिखरहरू
गरिदिन्छन्
आरोहण।
 
थाहा छैन
मेरा विचारका कोपिलाहरूले
कहिले प्राप्त गर्ने हुन्
फक्रिएर मूर्तरूप ।
 
निलो आकाशको गहिराइ र
विशालता जस्तै
अनन्त यात्रामा दौडिने ती
हेर्दाहेर्दै बनेका
सगरमाथाका चुचुराहरू
बनिदिन्छन् छरपष्ट ।
 
लाग्छ–
मान्छे पग्लिएको छ
सगरमाथाको हिउँजस्तै
र,
बनेको छ सुन्दर हिमताल ।
 
वाष्पीकरण भएर उडेका
हिमकणहरू
फेरि पुगेकाछन्
निलो आकाशमा
आफूलाई एकाकार गर्न ।
 
लाग्छ–
निलो आकाशका
बहुरूपी बादलका टुक्राहरू
सेता हिमालहरू
हिउँ पग्लिएर बनेका
हिमतालहरू मेरै सपना हुन्।
 
मान्छे सपना हो
सपना मान्छे बनेर उडेको छ।