November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

खटाइको औचित्य

सीता सापकोटा

कुनै पनि मन लागेको काम गर्नु व्यक्तिगत स्वतन्त्रताको विषय मानिन्छ । तर आफ्नो व्यक्तिगत स्वतन्त्रता पूरा गर्दा आँफैलाई र अरूलाई नकारात्मक असर पो परेको छ कि भनी ख्याल गर्न सकिएन भने जीवनमा गल्तीका पाइलाले पदारोपण गर्न थालेको पत्तै नपाइन सक्छ । जुन चिज प्राप्त गर्न हामी रातदिन खटिइरहेका हुन्छौँ त्यही चिज आफ्ना हातबाट फुित्करहेको पत्तै हुँदैन । आखिरमा हाम्रो उद्देश्य त मायालु, स्वस्थ, स्वच्छ, समझदार खुसी र सुखी परिवारमा आनन्दित भएर बाँच्नु नै त हो, होइन र ? अनि प्रत्येक परिवार खुुुसी र सुखी हुनुले बिस्तारै समाज हुँदै राष्ट्रको मानव विकास सूचकाङ्कको स्तर सुधार भइराखेको हुन्छ ।


अस्ति भर्खरैको कुरा हो, अफिसमा थिएँ, काम खासै थिएन । कागजपत्र नपुगेर जोहो गर्न मान्छे खटाएर अफिसमा गफ गर्दै गरेका दुईजना सेवाग्राहीको कुराकानीले मेरो ध्यान खिच्यो ।


प्रथम व्यक्ति : “दिनभरि काम गरेर थाकेपछि बेलुकी यसो एक पेग नलिए त थकाइ नै नमर्ने ।”


दोस्रो व्यक्तिः “बच्चाहरू त सानै छन् नि तपाईंका ?”


प्रथम व्यक्तिः “छोरी पाँच वर्षकी अनि छोरो दुई वर्षको ।”


दोस्रो व्यक्तिः “अनि पेगको गन्धले ती कलिला मुनाहरूलाई असर गर्दैन ?”


यस्तै कुरा गर्दै थिए उनीहरू, मेरो काम आएसँगै ध्यान अन्तै मोडियो तर मनभित्र उनीहरूबीचको कुराकानीले डेरा जमाउन पुग्यो ।


मानिस आफ्ना सन्तानको लागि सबथोक गर्दछ । बिहान उठेबाट बेलुकी सुत्ने बेलासम्म काममा खटिएर आर्जन गरेको सम्पतिको धेरै हिस्सा परिवारको लागि खर्च गर्दछ भने केही हिस्सा मात्र आफ्नो लागि ।


शारीरिक सरसफाइ त गर्छाैँ हामी तर हामीमध्ये धेरैजसोलाई स्वस्थ रहन मानसिक सरसफाइ पनि आवश्यक हुन्छ भन्ने थाहै हुँदैन भने कतिलाई थाहा भएर पनि फुर्सत मिलाउन नसकेको अथवा के गरे मानसिक रूपमा स्वस्थ रहन सकिन्छ भन्ने विषय थाहा नभएको अवस्था हुन्छ । प्रत्येकको जीवनको उद्देश्य परिवारको खुसी रहेको हुन्छ । सँगसँगै साथीभाइसँग रमाइलो गर्ने, रमाइला मिठा गफ गर्ने विषयले जीवनलाई थप ऊर्जावान् बनाउने गर्दछ । तर बुझेर होस या नबुझेर, साथीहरूसँग भेला भएपछि अल्कोहोलिक पेय पदार्थबिना त गफ नै नआउने हो कि जस्तो भइसकेको छ आजको हाम्रो संस्कार । अनि अबेर घर छिर्दा परिवारका सदस्य खुसी नदेखिँदा मन त्यसै खिन्न हुन पुग्दछ । कसै कसैको त यसैको निहुँमा घरझगडाले पनि जन्म लिने गर्दछ । खुसी हुने विकल्पहरू योग, ध्यान, पारिवारिक घुमघाम, परिवारका हरेक सदस्यको आत्मसम्मानसहितको बोली व्यवहार हुने हो भने त्यहाँबाट चैँ वास्तविक पारिवारिक खुसी उत्पति हुने गर्दछ भनेर सोँच्नै बिर्सिराखेका हुन्छौं हामी ।


जसरी मोबाइल, कम्प्युटरलगायतका डिभाइसहरूमा धेरै एप्लिकेसन खुल्ला हुँदा ह्याङ हुने गर्दछ, हाम्रो शरीर पनि दिनभरिको थकान र विभिन्न खाले सोचाइहरूका कारण ह्याङ हुने गर्दछ । मनलाई पनि ती भौतिक डिभाइसहरूलाई झैं चार्ज गर्न तथा बेला बेलामा स्विच अफ गर्न जरुरी हुन्छ जसलाई ध्यान भनिन्छ । ध्यान सिकाउने विभिन्न संस्थाहरू छन् । जस्तो विपाश्यना ध्यान जसमा दश दिनको तालिम प्रदान गरिन्छ । त्यस्तै ट्रान्सेन्डेन्टल मेडिटेसन, राजयोग आदि जस्ता ध्यान गर्ने विधिहरू हाम्रो मनलाई स्विच अफ गरेर शारीरिक र मानसिक स्फूर्ति प्राप्त गर्न सघाउने माध्यमहरू हुन् । जीवनको कति धेरै समय अनावश्यक सोचाइहरूमा खर्च गर्ने हामी आपूmलाई पायक पर्ने र मन पर्ने ध्यान विधि सिकेर जीवनमा स्फूर्ति थप्न सक्छौं ।


त्यस्तै गरी शारीरिक सरसफाइको साथमा व्यायाम, खेलकुद, योगा आदि पनि त्यक्तिकै जरुरी हुन्छ जसले हाम्रो अमूल्य शरीरका पार्टपुर्जाहरू फिट राख्ने काम गरिरहेका हुन्छन् । यसै सन्दर्भमा म एउटा प्रसङग उल्लेख गर्न चाहन्छु ।


अफिसियल छोराको पिउने बानीबाट आजित बाबु आफ्नो छोरासितः “छोरा यो तिम्रो नयाँ कारलाई कति परेको रे ?”


छोराः “पचास लाख बुवा ।”


बाबुः “अनि पेट्रोलको गुणस्तरको आधारमा यदि रु.३००, रु.२०० र रु.१०० प्रति लिटरको पेट्रोल राख्नुपर्दा तिमी आफ्नो कारमा कुन पेट्रोल राख्छौ ।”


छोराः “निश्चय नै रु.३०० प्रति लिटरको तेल राख्छु नि । नत्र त कारको इञ्जिन बिग्रिएला नि त ।”


बुबाः “अनि छोरा, त्यो मूल्यवान गाडीको इन्जिनको बारे तिमी यति चिन्तित देखियौ भने तिम्रो अमूल्य शरीरको इन्जिन ठिक राख्न तिमी कस्तो चिज सेवन गरिराखेका छौ थाहा छ ?”


छोरा बुबाको कुरा सुनेर अवाक बन्दै मनमनै अबदेखि आफ्नो अमूल्य गाडी (शरीर) को इन्जिन फिट राख्ने प्रण गर्छ ।


यस्ता कुराहरू बारे अनभिज्ञ भएझैँ गरेर वा नजानेरै पनि थकाइ मेटाउने निहुँमा हामी आफू र परिवारलार्ई असर गर्ने पेय सेवन गर्न पुग्दछौँ । सुरुमा उल्लखित दुई व्यक्तिवीचको कुराकानीले मलाई यस्तै कुरामा सोचमग्न बनाएको हो ।


ती कुराकानी गर्नेमध्येका पहिलो व्यक्तिको कुरालाई मनन गर्दा उनको विचारअनुसार पेग लिएर सुत्दा तिनलाई त मिठो निन्द्रा आउला तर ती दोस्रा व्यक्तिको आशयअनुसार अबोध बालबालिकामा अल्कोहलको गन्ध मिसिएको कोठाको हावाले रातभर कति असर गर्ला ? के यसबाट ती अबोध बालबालिकाको स्वच्छ हावामा श्वास लिन पाउने अत्यावश्यक अधिकार बञ्चित हुँदैन र ? शायद यसबारे हामी विचार गर्न भ्याइराखेकै हुँदैनौँ ।


यो त भयो साना कलिला मुनाहरूको स्वास्थ्यमाथिको खेलबाडको कुरा । त्यस्तै गरी हाम्रो परिवारका अन्य सदस्यहरूलाई त्यस्ता पेयको गन्धले टाउको दुख्ने तथा निन्द्रा नलाग्ने हुन सक्छ । यदि एक पेग लगाएर थकानरहित भएर मस्त निन्द्रा सुत्ने पुरुषको श्रीमतीलाई गन्धले असर गर्छ भन्ने जान्दाजान्दै पनि पेग नै ठुलो हुने भए दिनभर खटिएर काम गरेको केका र कसका लागि होला ?


सबैलाई आफ्नो परिवारको माया लाग्छ । परिवारका कोही र कसैलाई पनि केही नहोस् भन्ने चाहना हुन्छ । तर त्यो सामान्य एक पेगले आफ्नै हातले आफ्नै परिवारलाई मन्द विष प्रदान गर्दै गर्दा हुर्कदै गरेका ती मुनामा आफूप्रति विकसित भइराखेको नकारात्मक धारणा तथा परिवारमा उब्जने असन्तुष्टिले के दिनभरि खटेर कमाउनुको साँचो उद्देश्य पूरा गर्ला त भनी हामीमध्ये धेरैले सोच्नै नभ्याएका हुन सक्छौँ ।


रक्सीको गन्ध थाहा पाएर झर्किने अथवा बोल्नै नखोज्ने श्रीमतीको भावनामा सम्वेदनशील हुनतिर हामीमध्ये कतिजना लागिपरेका छौं होला ? गमौं त एकपटक । श्रीमती पनि दिनभर अफिसमा काम गरेर थाकेर घर आएको अवस्थामा घरको काम तथा बच्चा बच्चीको केयर सकेपछि वा घरका कामले दिनभर थकित भएर बसेकी श्रीमतीलाई ढुक्कले निदाउने वातावरण नहुनु भनेको के साँच्चिकै पीडादायी कुरो होइन र ? त्यहीमाथि वर्तमान कोरोना (कोभिड १९) सङ्क्रमणले निम्त्याएको महामारीको परिप्रेक्षमा सरकारले सवैलाई घरभित्रै थुनिएर (क्वारन्टाइनमा) बस्न आग्रह गरेको अवस्थामा हामी कतैबाट पेग लगाएर आइरहेका छौँ भने त झन् गन्धले मात्रै होइन कोरोना सङ्क्रमणको त्रासले समेत परिवारका सदस्यमा समस्या सृजना गर्न सक्छ ।


त्यसैले माथि उल्लेखित दोस्रो प्रशङ्गमा उल्लेख भएझैँ हाम्रा मूल्यवान भौतिक साधनहरू जस्तै सवारी साधन, मोबाइल, कम्प्युटर आदिको आयु बढाउन जसरी सँधै प्रयत्नशील रहन्छौँ हामी, हाम्रो अमूल्य जीवन जोगाउन पनि संवेदनशील भएर लाग्न सिक्यौं भने बल्ल हाम्रो खटाइ, दुःख तथा खुसीको खोजीले सार्थकता पाउला ।


यसका लागि सन्तुलित खानाको साथसाथै शारीरिक व्यायाम, योगा, ध्यान आदिमा अनिवार्य रूपमा समय व्यवस्थापन गर्नतिर ध्यान दिन जरुरी देखिन्छ । साथमा आफ्नो इच्छाको काम गर्दा अप्रत्यक्ष रूपमा त्यसबाट आफू र अरूमा पर्न सक्ने नकारात्मक असरबारे चिन्तन मनन गर्न झन् बढी आवश्यक देखिन्छ ।


कोरोना महामारीको यस घडीमा शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिन सक्यौं भने पक्कै पनि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि भई हालको समयले सृजना गरेको त्रासबाट पनि पार पाउन सकिएला ।