December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

आउँछ तिम्रै याद

पेशल अधिकारी

हरेक बिहान सबेरै
आँखा दुइटै खुलुन् या होस मात्रै
 तिमी त मेरो प्रिय
आउँछ तिम्रै याद।
 
 तिमिलाई पाएपछि
अनि बल्ल त बन्छ बात
हे, कस्तो यो तिम्रो मात
लाग्छ अनि त सायद …..
 
भिखारीलाई भोजनझैँ
 छौ तिमी मलाई,
 भोको रहुँ या टन्न अघाएकै
आउँछ तिम्रै याद।
 
विद्यार्थीलाई परीक्षाझैँ
 छौ तिमी मलाई,
पढूँ राम्रो या बसूँ नपढी
आउँछ तिम्रै याद।
 
तक्मेबुढालाई सेन्तेरेमझैँ
छौ तिमी मलाई,
सुख होस् या आइ नै लागोस् दुःख
आउँछ तिम्रै याद।
 
बिदेशीएकालाई घरझैँ
 छौ तिमी मलाई,
हातमा पैसा या आओस्
मात्रै ठेला
आउँछ तिम्रै याद।
 
 नेताहरूलाई कुर्सी र सत्ताझैँ
छौ तिमी मलाई,
स्वस्थ हौं या दुइटै किड्नी फेल
आउँछ तिम्रै याद।
 
भो अब गर्दिनँ तुलना कसैसँग
 तर पनि,
तिमी त मेरो प्रिय
आउँछ तिम्रै याद।
 
दिऊँ होला अब त कसरी
तिम्रो परिचय यिनलाई
बस ! तिमी त मेरो प्रिय
मात्र आउँछ तिम्रै याद।
 
 जब दुधपानीलाई दिन्छ चियापत्तीले साथ
 हल्का मरिच अनि ट्वाक्क चिनिको स्वाद
अहो ! मेरो प्रिय चिया
सधैंसधैं आउँछ तिम्रै याद।