January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

कोभिड–१९

शिवहरि प्रजापती

कोरोना– तिम्रो जात,
कोभिड– तिम्रो नाम,
१९– हो जन्म वर्ष,
थाहा छैन,
कसरी कहाँबाट आयो ?

तर
भन्नेले बाँकी राखेनन्
बदनाम गरियो, तिमी त चिनिया रे
गरिब रे
सर्बहारा रे
हेपियो, मिलेसम्म हेपियो ।

के थाहा ?
तिमी यतिसम्म उग्र हुन्छौ भन्ने,
महामारी नै बन्छौ भन्ने,

हेलचेक्य्राइँ
अत्यन्तै हेलचेक्य्राइँ
तिमीलाई
कसैले समयमा सम्हाल्न खोजेन
कसैलाई फुर्सद भएन
मात्र
कमाउँदै थियो
हतियार भण्डार गर्दै
तँ तँ र म म गर्दै थियो ।

एक निस्सासिएको चीन
सकिनसकी सम्हाल्दै थियो
रुँदै थियो
त्राहिमाम थियो ।

छैन सहयोग
छैन सामान
छैन सहानुभूतिसम्म ।

कोरोना !
तिमीलाई सूक्ष्म जीव
एक तुच्छ जीव मान्यौँ
गिज्यायौँ
मजाक बनायौँ, व्यङ्ग्य, जोकमा उडायौँ
दुनियाँ मस्त हाँसिरह्यो ।

अनायाश
कति बेला हो कुन्नि !
संसार स्तव्ध भो
हाँसो बिलायो
चिच्याहट सुनियो
संसार बन्दी भो
लकडाउन भो
कफ्र्यु भो
के के भो के के भो ?
पूर्ण ग्रहण भो ।

एकाएक
शक्तिको मात
अर्थको उन्माद
धुलो भो ।

आज
प्रकृति खुसी देखिन्छ
धन्यवाद दिँदै होला
किनकि
कोरोना !
तिमीले घमन्ड चुर बनायौ
पैसा कागजको खोस्टो बनायौ
शक्तिको मात ध्वस्त बनायौ ।

साँच्चै !
तिमीले
आफ्ना–पराई छुट्याइदियौ
प्रकृतिलाई एकछिन आनन्द दियौ
शान्तले सास फेर्न दियौ
आकाश हाँस्ने बनायौ
नदीनाला नाच्ने बनायौ
पशुपक्षी गीत गाउने बनायौ ।

जे होस्
कोरोना !, कोभिड–१९ !
हामीलाई नयाँ पाठ सिकायौ
वर्ग सिकायौ
‘संसार एउटै हो’ सिकायौ

प्रकृतिको चाहना थाहा दियौ ।

बस ! अब त भो
अति भो
हामी मानव बन्छौँ
सचेत बन्छौँ
अनुशासित बन्छौँ
प्रकृतिको सम्मान गर्छौँ
विन्ति छ–
शान्त होऊ
कृपया
शान्त होऊ ।