डल्लो र दाबिलो : व्यथा क्रिकेटको
यो कुनै कथा हैन, व्यथा हो- विश्वमै सबैभन्दा बढी रुचाइनेमध्ये एक खेल क्रिकेटको। यस खेलले निकै पुरानो इतिहास बोकेको छ तर ठ्याक्कै यसको सुरुवात कहिले भएको हो त्यो जान्न निकै मुस्किल छ ।
१६औं शताब्दीसम्म आइपुग्दा बेलायतमा केवल साना केटाकेटीमा मात्रै सीमित र रुचाइएको यस खेललाई केटाकेटीहरूकै मात्र खेलका रूपमा लिइन्थ्यो । केटाकेटीहरूले मनोरञ्जनका लागि खेल्नेगर्दथे। जसरी हामी सानो छँदा डन्डी-बियो खेल्ने गर्थ्यौँ, न कुनै औपचारिक प्रतियोगिता नै हुन्थ्यो न त विजेतालाई पुरस्कारको व्यवस्था नै । तै पनि खेल्दा भरपूर मनोरञ्जन त मिल्थ्यो नै ।
त्यस बेलाको ब्याट हक्की स्टिक जस्तो र बल धागो वा कपडाको डल्लो हुने गर्थ्यो र बलिङ पनि अन्डरआर्म (भुइँमा गुड्क्याएर) हुन्थ्यो, बिल्कुल त्यसैगरी जसरी अहिले दृष्टिविहीनहरूको क्रिकेटमा गरिन्छ। त्यतिबेला एक ओभरमा चार बल हुने गर्थ्यो र विकेट पनि दुई स्ट्याम्पको। १७औं शताब्दीमा आइपुग्दा पनि यो खेल युवाहरूले खेल्नुलाई गैरकानुनीजस्तै ठानिन्थ्यो। जब पहिलो पटक १६११मा दुई युवकहरू केटाकेटीहरूसँग मिलेर यो खेल खेलिरहेको देखियो तब तिनीहरू विरुद्ध मुद्दासमेत चलाइएको थियो । र, त्यही मुद्दा दायर गर्दा पहिलो पटक ‘क्रिकेट’ शब्दको प्रयोग भएको पाइन्छ । त्यसपछि भने क्रिकेट शब्दलाई शब्दकोशमा पनि उल्लेख गरियो । जुन शब्द पुरातन अङ्ग्रेजी शब्द ‘क्रीक’ बाट आएको पाइन्छ जसको अर्थ ‘छडी’ भन्ने हुन्थ्यो र त्यस बेलाको ब्याट छडी नै हुने भएकाले यस खेललाई क्रिकेट नाम दिएको हो ।
युवाहरूमा क्रिकेटको क्रेज बढ्दै गयो । अझ त्यस बेलाका जेन्टलमेन अर्थात् धनी वर्गहरूको पनि यस खेलमा रुचि बढ्न थाल्यो, जसलेगर्दा क्रिकेट युवाहरूलाई प्रतिबन्धित भए तापनि उनीहरू खेलाडी अर्थात् गरिबहरूलाई पैसा दिँदै आफूसँग खेल्न लाउने गर्नथाले । बिस्तारै क्रिकेट एक ग्याम्लिङ स्पोर्ट बन्न गयो ।
१८औं शताब्दीका अन्त्यतिर आइपुग्दा तीनवटै स्ट्याम्पसहितको विकेट प्रचलनमा आइसकेको थियो र ब्याट पनि छडीबाट दाबिलोका आकारमा । १७८७ मा पहिलो क्रिकेट टिम MCC (Marylebone Cricket Club) को स्थापना भयो । MCC ले क्रिकेटका नियमहरू समेट्दै किताबसमेत प्रकाशन गर्यो र राउन्डआर्म बलिङ (हात घुमाएर भुइँमा नगुड्क्याई) चलनमा ल्यायो ।
१९औं शताब्दीमा जब बेलायत विश्वका अनेक मुलुकहरूलाई आफ्नो कब्जामा लिन लाग्यो तब नै क्रिकेट विश्वभर फैलिएको पाइन्छ। १८४४ मा न्युयोर्कमा अमेरिका र क्यानडाबीच क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय खेल र १८७७ मा मेलवर्नमा बेलायत र अष्ट्रेलियाबीच पहिलो टेस्ट खेल भयो। त्यसपछि भने ठाउँअनुसार ओभर पनि ४, ५, ६ र ८ बलका हुन थाले । १९२२ तिर ८ बलको ओभर नै चल्तीमा थियो । त्यसपछि भने कति वर्ष त क्रिकेट नै खासै खेलिएन, विश्वयुद्दका कारण । १९६३ पछि भने छ बलको ओभर निश्चित गरियो र निश्चित ओभरका खेल गराउन थालियो अनि बाउन्ड्री (गुडेर कटे चौका (चार रन), उडेर कटे छक्का (छ रन)) को शुरूवात पनि गरियो ।
१९७५ देखि पचास ओभरको विश्वकप क्रिकेट प्रत्येक चार वर्षको अन्तरालमा खेलाउन थालियो । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगिताहरू हुँदै आइरहेका छन् । यसै क्रममा हाम्रो देश नेपालको पनि क्रिकेट खेलमा उल्लेख्य प्रगति हुँदै आएको छ।
अहिले भने क्रिकेटमा खँदिलो रबरको बल चलाइन्छ, तीन वटा स्ट्याम्पको विकेट बनाइन्छ र ब्याट खेलाडीको सहजताआनुसारको। अन्डरआर्म बलिङ ब्यान गरिएको छ, राउन्डआर्म र ओभरआर्म बलिङ चलनमा छ।
यसरी लामो अन्तराल र सङ्घर्षपछि क्रिकेट, केटाकेटीको मात्र नभई सबैको; बेलायतको मात्र नभई विश्वको खेल बनेको छ।.
लेखकको सम्वन्धमा