December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

‘सर विद्यालय कहिले खुल्ला ?’

वासुदेव अधिकारी

“टिनिनिनी… टिनिनिनी…” मोबाइलको घण्टी बज्यो । “हेलो !” मैले कुरा गरेँ । फेरि घण्टी बज्यो । फेरि पनि कुराकानी गरेँ । यो क्रम केही दिन चलिरह्यो ।

म भरखरै अवकाशप्राप्त शिक्षक । अवकाश हुँदा त प्र.अ. नै थिएँ । धेरै अभिभावकहरूलाई म अवकाश भएको थाहा नहुन पनि सक्छ । कतिसँग त मेरै सम्पर्क नम्बर भएर पनि होला मलाई यसरी फोन आएको । यसरी अभिभावकको फोन आइरहनुलाई मैले अन्यथा लिइनँ पनि ।

सबैजसो अभिभावकहरूले प्रायः एउटै जिज्ञासा राख्नुभयो । त्यस जिज्ञासामा उहाँहरूको चिन्ता थियो । आफ्ना नानीबाबुको अध्ययनका विषयको चिन्ता ।

“सर ! विद्यालय कहिले खुल्ला ?”

“सर ! रिजल्ट भयो ?”

“सर ! यो वर्ष पढाइ हुँदैन रे हो ?”

“सर ! छोराछोरीलाई घरमा के गराउने होला ? होमक दिए पनि हुन्थ्यो ।”

“सर ! अनलाइन किलास हुन्छ रे नि हो ?”…

यस्तै यस्तै अनेकौँ चिन्ता । अनेकौँ जिज्ञासा अभिभावकहरूले राखिरहनुभयो ।

विश्वमा कोरोनाको सङ्क्रमण बढ्दो छ । देशमा लकडाउन छ । विद्यालयहरू बन्द छन् । बालबालिकाको अध्ययन ठप्प छ । अभिभावकले चिन्ता लिनु स्वभाविकै हो ।

मैले सकेको, जानेको र बुझेको कुरा गरेँ र सम्भव भएसम्म अभिभावकको चित्त बुझाउने प्रयत्न गरेँ । मलाई मेरा शिक्षक तथा प्र.अ. साथीहरू, शिक्षा क्षेत्रमा सम्लग्न अन्य विज्ञहरूको सम्झना आयो । अहिले उहाँहरू के गर्दै हुनुहुला र अभिभावक तथा विद्यार्थीहरूले उहाँहरूलाई यस्ता प्रश्न सोधे कस्तो उत्तर दिनुहुन्थ्यो होला भन्ने जिज्ञासा जाग्यो । के गरूँ ? कसो गरूँ ? भन्ने द्विविधात्मक अवस्थामै मैले मेरा शिक्षक तथा प्र.अ. साथीहरूलाई फोन गर्ने निधो गरेँ ।

माधवप्रसाद भट्टराई

“हेलो !” मैले पहिलो फोन माधवप्रसाद भट्टराईलाई गरेँ । उहाँ मनोहर माध्यमिक विद्यालय, टोखा, काठमाडौँमा प्रधानाध्यापक हुनुहुन्छ । म सोही विद्यालयको प्र.अ.बाट अवकाश भएको वर्ष दिन भएकै छैन । मलाई मनोहरकै अभिभावकहरूमध्येबाट धेरै फोन आएका थिए । त्यसैले पहिलो फोन मनोहरकै वर्तमान प्र.अ.लाई गर्नु मैले उचित ठाने । उहाँ स्वध्ययनमा हुनुहुँदो रहेछ । विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीमा जुट्नुभएको रहेछ । घरबाटै अन्य शिक्षकहरूसँग फोन सम्पर्क गरी नतिजा प्रकाशनका लागि तयार हुन आह्वान गर्दै हुनुहुँदो रहेछ । सम्पर्कमा आएका विद्यार्थीहरूलाई नआत्तिकन अभिभावकसँग बस्न, अभिभावकलाई घरायसी काममा सहयोग गर्न, समय मिलाएर निरन्तर अध्ययन गर्न पनि उहाँले प्रेरिरत गरिरहनुभएको रहेछ । कक्षा दशका विद्यार्थीलाई सम्भव भएसम्म  अनलाइनबाट कक्षा सञ्चालन गराइरहनुभएको रहेछ । सबै विद्यार्थी प्रविधिसँग नजिकिन नसकेको र हाल सम्भव पनि नभएको गुनासो उहाँले गर्नुभयो । विपत्का क्षणमा धैर्य गरेर जीवन रक्षा गर्नुपर्ने र विपत् मत्थर भएपछि अथवा लकडाउन खुलेर स्थिति सामान्य भएपछि विद्यालय नियमित सञ्चालन हुने जानकारी उहाँले दिनुभयो ।

सरोजकुमार पाण्डे

सरोजकुमार पाण्डे तिलिङटार मा.वि., टोखा, काठमाडौँका प्र.अ. हुनुहुन्छ । उहाँ विद्यालयका र अन्य सामाजिक कार्यमा व्यस्त हुनुहुँदो रहेछ । आफू कार्यरत विद्यालयमा कोरोना भाइसरका सम्भावित सङ्क्रमितहरूलाई राख्न क्वारेन्टाइन सञ्चालन गरिएको रहेछ । उहाँले सम्भव भएसम्म सो क्वारेनटाइनका कार्यमा सहयोग गरिरहनुभएको रहेछ । विद्यालयप्रतिको जिम्मेवारी पनि उहाँले भुल्नुभएको रहेनछ । शिक्षकहरूसँग फोन सम्पर्क गरी विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशनको तयारी गरिरहनुभएको रहेछ । कुराकानीका क्रममा उहाँले विद्यार्थी, अभिभावक र शिक्षकप्रतिको चिन्ता र चिन्तनसमेत प्रकट गर्नुभयो ।

थकिनकुमार गुरुङ

ग्रिनल्यान्ड आ.मा.वि. टोखा, काठमाडौँका प्रिन्सिपल थकिनकुमार गुरुङले वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्नुभएछ । कक्षा दशका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नुभएको रहेछ । उहाँ विद्यार्थी र अभिभावकका बारेमा चिन्तित देखिनुभयो । स्थिति सहज भएपछि विद्यायल व्यवस्थित रूपमा सञ्चालन गरिने योजनामा उहाँ लाग्नुभएको रहेछ । धेरै अभिभावक र विद्यार्थीसँग फोन तथा सामाजिक सञ्जालमार्फत उहाँ सम्पर्कमै हुनुहुँदो रहेछ । अझ पनि यस विषम परिस्थितिमा सबै विद्यार्थी र अभिभावकसँग सम्पर्क हुन नसकेको गुनासो गर्दै आगामी दिन प्रविधिमैत्री बनाउने कुरा उहाँले गर्नुभयो ।

टङ्ककुमार चापागाईं

टङ्ककुमार चापागाईं वसुन्धरा नेसनल एकेडेमी, टोखा, काठमाडौँमा प्रिन्सिपल हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्र र विधाका पुस्तकहरू अध्ययन गरी ज्ञानको क्षितिज फराकिलो पार्दै हुनुहुँदो रहेछ । उहाँ टोखा नगरको नगर शिक्षा समितिमा सम्पर्क गरिरहनुहुनुहुँदो रहेछ । त्यहाँबाट प्राप्त सूचनाअनुसार विभिन्न शैक्षिक विषय र सवालहरूमा बहस तथा छलफल गरी तात्विक निचोडको खोजी गर्नुहुँदो रहेछ । उहाँले विद्यालयको वार्षिक परीक्षाको नतिजा अनलाइनमार्फत प्रकाशन गर्नुभएछ । एस्.ई.ई. परीक्षा दिने विद्यार्थीहरूलाई अनलाइनमार्फत प्रभावकारी कक्षा सञ्चालन गरिरहनुभएको रहेछ । अन्य कक्षाका विद्यार्थीहरूलाई पाठ्यपुस्तक व्यवस्था गरी घरमै अध्ययन गर्न प्रेरित गरिरहनुभएको रहेछ । उहाँले अभिभावकहरूसँग आफ्ना नानीबाबुहरूलाई पठनपाठनमा प्रेरित गर्न आह्वान गर्नुभएको छ । उहाँले स्थिति सामान्य र सहज भएपछि विशेष सावधानी र तयारीका साथ विद्यालय सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रेम राई

इडेन ब्रिज एकेडेमी, टोखा, काठमाडौँका प्रिन्सिपल प्रेम राईको दिनचर्या पनि अरू प्र.अ.हरूकैजस्तो बितेको पाएँ । उहाँ फुर्सदको समय साहित्य र सङ्गीतको साधनामा रमाउनुभएको रहेछ । धेरै समय विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षकको चिन्तनमा लाग्नुहुँदो रहेछ । उहाँले अनलाइनमार्फत वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिसक्नुभएको रहेछ । ठुला कक्षाका विद्यार्थीलाई अनलाइनमार्फत पठनपाठनको तयारीमा जुट्नुभएको रहेछ । यसका लागि शिक्षकलाई तालिम दिँदै गरेको जानकारी उहाँले गराउनुभयो । 

श्रीराम थापा

धापासी मा.वि., टोखा, काठमाडौँका प्र.अ. श्रीराम थापाले विद्यालयको निर्माण कार्यमा अली बढी समय दिनुभएको रहेछ । वार्षिक परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारीमा हुनुहुँदो रहेछ । लकडाउनको अन्त्य भएपछि नयाँ शैक्षिक शत्रका लागि विद्यर्थी भर्ना खोल्ने तथा स्थिति सामान्य भएपछि नियमित रूपमा पठनपाठनको व्यवस्था मिलाइने कुरा उहाँले गर्नुभयो ।

स्वेत सदन मा.वि., टोखा, काठमाडौँका प्रिन्सिपल बलराम खनालले विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिसक्नुभएको रहेछ । कक्षा नौ र दशका विद्यार्थीलाई अनलाइनमार्फत पठनपाठनको व्यवस्था मिलाउनुभएको रहेछ । तल्लो कक्षाका विद्यार्थीहरूलाई पाठ्यपुस्तकको व्यवस्था गरी घरमै अध्ययनका लागि प्रेरित गर्नुभएको रहेछ । उहाँले विद्यार्थीलाई पढाइप्रति प्रेरित गर्न समयसमयमा विभिन्न गृहकार्यसमेत दिनेगर्नुभएको रहेछ ।

उत्तम अधिकारी

बौडेश्वर मा.वि. टोखा काठमाडौँका प्र.अ. उत्तम अधिकारी घरमै बसेर फोनमार्फत शिक्षक, विद्यार्थी र अभिभावकसँग सम्भव भएसम्म सम्पर्कमा रहनुभएको रहेछ । उहाँले कक्षा दशका विद्यार्थीलाई घरमै बसेर नेपाल टेलिभिजनद्वारा सञ्चालित तयारी कक्षामा सक्रिय सहभागी हुन प्रेरित गर्नुभएको रहेछ । विद्यालयको वार्षिक परीक्षाफलको तयारीमा रहनुभएको रहेछ । उहाँले लकडाउन नखुली विद्यालयमा पठनपाठन असम्भव भएको कुरा गर्दै लकडाउन खुलेर स्थिति सहज भएपछि मात्र विद्यालय नियमित रूपमा सञ्चालन गर्ने जानकारी दिनुभयो । चैत्र महिनाको तलब निकासा हुन नसक्दा शिक्षकहरूलाई कठिनाइ परेको हुनसक्ने कुरा गर्दै उहाँले शिक्षकहरूप्रतिको आफ्नो चिन्ता व्यक्त गर्नुभयो ।

मुकुन्द पाण्डे

प्यारामाउन्ट मा.वि.टोखा, काठमाडौँका प्र.अ.मुकुन्द पाण्डेले वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिसक्नुभएछ । कक्षा दशका विद्यार्थीलाई अनलाइनमार्फत कक्षा सञ्चालन गरेको जानकारी उहाँले गराउनुभयो । अरू कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तकको व्यवस्थापन गर्दै लकडाउन खुली स्थिति सहज भएपछि भर्ना खोल्ने र नियमित कक्षा सञ्चालन गर्ने जानकारी उहाँले दिनुभयो । उहाँ विद्यार्थी र अभिभावकसँग सम्भव भएसम्म फोन सम्पर्कमा हुनुहुँदो रहेछ ।

बेखानारायण डङ्गोल

विन्दवासिनी मा.वि., टोखा, काठमाडौँका प्र.अ. बेखानारायण डङ्गोलले विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फोनमार्फत अभिभावकलाई जानकारी गराउनुभएछ । कक्षा दशका विद्यार्थीलाई घरमै बसी एस्.ई.ई.को विशेष तयारी गर्न प्रेरित गर्नुभएको रहेछ । अन्य कक्षाका विद्यार्थीलाई पनि घरमै बसेर पढ्न प्रेरित गर्नुभएको रहेछ । समय समयमा विद्यार्थीलाई गृहकार्य दिन तथा अभिभावकलाई बालबालिकाको अध्ययनमा हौसला प्रदान गर्न आह्वान गरिरहनुहुँदो रहेछ । लकडाउन खुलेर स्थिति सहज नभएसम्म विद्यार्थीहरूले घरमै बसेर अध्ययन गर्नुपर्ने जानकारी उहाँले दिनुभयो ।

सुजनकुमार श्रेष्ठ

जालुपा मा.वि., टोखा, काठमाडौँका प्र.अ. सुजनकुमार श्रेष्ठलाई विद्यालयको चिन्ता रहेछ । उहाँ समयसमयमा विद्यालय पुग्नुहुँदो रहेछ । विद्यालय पुगी वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीमा उहाँ लाग्नुभएको रहेछ । कक्षा दशका कतिपय विद्यार्थी पुस्तक नलिई गाउँ गएकाले उनीहरूको अध्ययन प्रभावित हुने कुरामा उहाँले चिन्ता प्रकट गर्नुभयो । काठमाडौँमा भएका विद्यार्थीलाई सम्पर्क गरी अध्ययनमा प्रेरित गरिरहनुभएको रहेछ । स्थिति सहज भएपछि विशेष सावधानीका साथ विद्यालय सञ्चालन गर्ने जानकारी उहाँले दिनुभयो ।

अर्जुनकुमार श्रेष्ठ

सरस्वती मा.वि., टोखा, काठमाडौँका प्र.अ. अर्जुनकुमार श्रेष्ठ वार्षिक परीक्षाको नतिजा प्रकाशनमा जुट्नुभएको रहेछ । एस्.ई.ई.का विद्यार्थीलाई नेपाल टेलिभिजनद्वारा प्रशारित एस्.ई.ई. तयारीसम्बन्धी कार्यक्रम हेरेर सिक्न र अभ्यास गर्न प्रेरित गर्नुभएको रहेछ । उहाँले पाठ्यपुस्तकहरूको व्यवस्थापन गर्दै आगामी वर्षका लागि विद्यार्थी भर्ना स्थिति सहज भएपछि गर्ने तयारी गर्नुभएको रहेछ ।

बाबुराम गौतम

बाबुराम गौतम टोखा नगरपालिकामा शिक्षा प्रमुख हुनुहुन्छ । उहाँ यस विषम परिवेशमा बिहान बेलुका आफ्नो नियमित अध्ययन तथा लेखन कार्यमा जुटुनुभएको रहेछ । दिउसो कार्यालय पुगेर कार्यालयका नियमित कार्यमा व्यस्त हुनुहुँदोरहेछ । टोखा नगरभरिका प्र.अ.हरूसँग नियमित सम्पर्कमा हुनुहुँदो रहेछ । उहाँहरूसँग विषम परिवेश र विद्यालयको शिक्षाका बारेमा विचारविमर्श गरिरहनुहुँदो रहेछ । माथिल्लो निकायबाट प्राप्त जानकारी, सूचना तथा निर्देशनहरू विद्यालयमा सुसूचित गरिरहनुहुँदो रहेछ । उहाँले विद्यालयलाई वार्षिक परीक्षाको नतिजा प्रकाशन, पाठ्यपुस्तकहरूको व्यवस्थापन तथा लकडाउन खुलेपछि सामाजिक दूरी कायम गर्दै विद्यार्थीको भर्ना अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको रहेछ ।  

यसरी मैले अरू पनि धेरै प्र.अ. साथीहरूसँग फोन सम्पर्क गरेँ । उहाँहरू आफ्ना विद्यार्थीको अध्ययनप्रति अभिभावक र विद्यार्थी जत्तिकै चिन्तित भएको पाएँ । यस विषम परिवेशमा धेरैँ विद्यालयले आधुनिक प्रविधिको यथासम्भव प्रयोग गरेका रहेछन् । विद्यायलको वार्षिक परीक्षा समाप्त भएर नयाँ शैक्षिक शत्र प्रारम्भ भइनसकेकाले कक्षा नौ (अब कक्षा दशमा जाने) सम्मका विद्यार्थीको अध्ययनप्रति त्यति धेरै चिन्ता देखिएन । यसै पनि यो बिदा र नयाँ भर्नाको समय हो । विद्यालयमा उस्तो प्रभावकारी कक्षा सञ्चालन हुने बेला भएको थिएन । स्थिति सहज नभई दुर्दिनहरू अझ लम्बिए निश्चय नै हाम्रा बालबालिकाको यस वर्षको पढाइ प्रभावित हुनसक्नेछ । आगामी दिनमा विद्यालय, विद्यार्थी र सम्पूर्ण सम्बद्ध निकायहरू अधिकतम रूपमा प्रविधिमैत्री हुन आवश्यक देखिन्छ ।