September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

कात्रामा बगली हुँदैन

सुदेश पन्त

पैसाको यदि भोक अग्नि छ भने पैसै छरे हुन्न र
फ्याँक्नू ती परिधान नग्न रहनू पैसै धरे हुन्न र ।
त्यो नाथे रुपियाँ लिएर विचरा भागेर जाने कता
कात्रामा बगली हुँदैन किन हो सोचेर सम्झी बता ।।

अर्काको दुःख दृष्टिपात नहुने कस्तो अनौठो मन
आफू मात्र प्रफुल्ल बन्न कसिने कस्तो अनौठो जन ।
नाना हर्कतमा सिपालु मनुवा भागेर जाने कता
कात्रामा बगली हुँदैन किन हो सोचेर सम्झी बता ।।

जम्मा छन् घरमा न खान सकिने वस्त्रादि आभूषण
खाने अन्न भए हुँदैन र हरे !  आहारिसे भूगण ।
लिप्साले यदि आत्तिने भय भए भागेर जाने कता
कात्रामा बगली हुँदैन किन हो सोचेर सम्झी बता ।।

साथी छन् अनि बन्धुबान्धव यथा गर्दैन वास्ता कुनै
आँखाले पनि आज खोइ कसरी बिर्स्यो कि साँच्ची रुनै ।
आफ्नै स्वार्थ सँगाल्न आतुर भए भागेर जाने कता
कात्रामा बगली हुँदैन किन हो सोचेर सम्झी बता ।।

झर्नैपर्छ चढी विशाल चुचुरा फर्कन्न फर्कन्न को  ?
यस्तो सुन्दर जिन्दगी बुझ सखा फर्केर आउन्न जो ।
गर्नैपर्छ दरिद्रको हित सधैँ भागेर जाने कता
कात्रामा बगली हुँदैन किन हो सोचेर सम्झी बता ।।