February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

सरकारको निर्णयमा लुकेको कोरोना क्याप्सुल !

प्रज्ञा खनाल
कक्षा १०
श्री रत्न मा.वि,
सोल्मा, तेह्रथुम

चैत्र ६ देखि सुरु हुने एस् . ई. ई. दिन सबै तयारी सकिइसकेको थियो। हाम्रो स्कुलको एस् . ई. ई. केन्द्र तिनजुरे मा.वि. भएकाले किताब, नोटहरू अनि कपडा झोलामा राखी हामी दुई बहिनी प्रतिभा र म (प्रज्ञा) अनि साथी रिमिसा अघिल्लै दिन लसुनेतर्फ लग्यौँ। परीक्षाको डरभन्दा पनि ८ दिनपछि परीक्षा सकिएर नतिजा नआएसम्म फुक्काफाट हुने कुरा सम्झिँदैमा मात्र पनि मन फुरुङ थियो, तरपनि ‘कतै परीक्षा रोकिने त हैन’ भन्ने डरले कताकता मनमा ठाँउ लिइरहेको थियो।

 राष्ट्रिय स्तरको एस् . ई. ई.  नै रोक्न सक्ने एक मात्र कारण थियो ‘कोभिड-१९’ जुन ‘कोरोना भाइरस’को सङ्क्रमणबाट लाग्ने रोग हो। यो रोग सर्वप्रथम हाम्रै उत्तरी छिमेकी मुलुक चीनको वुहान सहरको मासु बजार क्षेत्रमा २०१९ डिसेम्बरमा देखापरेको थियो। सुरुमा त सामान्य रुघाखोकीजस्तै लाग्ने र उच्च ज्वरो आई बिस्तारै निमोनियाको रूप लिई मृगौला र फोक्सोलाई नै ठूलो असर गर्ने र स्वासप्रस्वासमै कठिनाइ ल्याई मानिसको ज्यानै लिनसक्ने यो भाइरस आफैमा कमजोर छैन । अझ सङ्क्रमित कसैको सम्पर्कमा आएको खण्डमा सङ्क्रमितले खोक्दा, हाछ्यु गर्दा नाकमुखबाट निस्किएका छिटामार्फत अपारदर्शी रूपमा सजिलै अर्को व्यक्तिमा सर्नसक्ने भएकाले यो रोगले बिस्तारै विश्वव्यापी महामारीको नै रूप लिँदै गएको छ । विश्वकै शक्तिशाली अनि सम्पन्न कहलिएका मुलुकहरू चाइना, अमेरिका, इटाली, बेलायत, स्पेनमा नै यसले आफ्नो गतिलो हैकम जमाइसकेको छ, साथै दक्षिणी छिमेकी मुलुक भारतलाई पनि आफ्नो पकडमा लिइसकेको छ ।

 यस भाइरसको उत्पतीका सन्दर्भमा धेरै अध्ययन अनुसन्धान भए तापनि सर्प, मुसा, चमेरो आदि जस्ता जीवबाट मानिसमा सरेको हुनसक्ने, या त कुनै शक्तिशाली मुलुकले रासायनिक युद्धका लागि तयार पारेको कृत्रिम भाइरस हुन सक्ने आशङ्काभन्दा माथि वास्तविकतासम्म पुग्न सकिरहेको छैन । विश्वका लगभग २०० देशमा यो फैलिई तिसौँ लाखको सङ्ख्यामा सङक्रमित भई लाखौं को मृत्यु भैसक्यो, तर पनि खै केको शक्ति हो या त संयोग नेपालमा भने आजसम्म यसको सङ्क्रमण न्यून मात्र देखिएको छ । यस्तै अनेकौं कुरा मनमा खेलाउँदै अनि प्रतिभा र रिमिसासँग अनेकथरी गफ गर्दै एक/ डेढ घन्टापछि हामी लसुने बजार पुग्यौं।

हामी तिनै जना एस् . ई. ई.  भर हाम्रै ठुलोबुबाको घरमा सँगै बस्ने कुरा थियो। ठूलोबुबाको घर लसुने बजारबाट पाँच मिनेट उत्तरतर्फ अवस्थित छ । त्यहाँबाट हाम्रो एस् . ई. ई.   केन्द्र दस मिनेटको दूरीमा दक्षिण पश्चिमतिर पर्छ । लसुने बजारबाट खाजाका लागि एक काटन चाउचाउ किनेर हामी ठुलोबुबाका घरतर्फ लाग्यौं। घर एकदमै एकान्त अनि रमाइलो ठाउँमा छ । पुग्नासाथ झोला र काटन अव्यवस्थित तरिकैले राख्दै घरअगाडिको धनरूपा पार्कतर्फ कुद्यौँ, जहाँ धनरूपा साथै अन्य ५ सहिदहरूको सालिक बढो व्यवस्थित गरी सजाइएका छन् । वरिपरिको रमाइलो दृश्य हेर्दै हामीले केही बेर त्यहीँ पार्कमा बितायौँ यत्तिकैमा साँझ परिसकेछ । ठुलोममीले खाना खान बोलाउनुभयो । हामी घरतर्फ लाग्यौं । केहिबेरमै ठुलोबुबा ठुलोममी अनि हामी तिनैजनाले खाना खाइसक्यौँ । ठुलोबुबा ठुलोममी टिभी हेर्न लाग्नुभो अनि हामी तिनजना भने भोलिपल्ट हुने पहिलो दिनको परीक्षाको तयारी गर्न लागेका मात्र के थियौं, घरबाट बाबाले फोन गर्नुभएछ, ठुलोममीले मोबाइल हामी भएठाउँ ल्याइदिनु भयो र भन्नुभयो “प्रज्ञा बाबाको फोन” मैले मोबाइल समाएँ अनि फोन उठाउँदै बोलेँ :

हेल्लो…

बाबा : के छ नानीहो के गर्दै छौ?

 म : ठिकै छ, पढ्न लागेका ।

बाबा : खाना खायौ के ?

म :  भखरै खाइम्।

त्यसपछि बाबाले त्यही कुरा गर्नुभयो जसको मलाई पहिल्यै डर थियो।

बाबा : लु नानीहो कोरोनाले गर्दा तिमीहरूको एस् . ई. ई.   रोकिएछ, अब फेरि कहिलेबाट हुने हो टुङ्गो छैन । भोलि घर आओ है ।

मलाई विश्वासै लागेन सुरुमा त । अनि केही नबोली बसेछु । केहिबेरपछि बाबाले आफैँ फेरि बोलाउँदै भन्नुभयो “खै ठुलोममीलाई दे त फोन।”  

मैले ठुलोममीलाई फोन दिँदै प्रतिभा र रिमिसालाई सुनाएँ “एस् . ई. ई.    रोकियो रे त…।” सुरुमा त उनीहरूले पत्याएनन् तर फेरि रेडियो, टिभीले पनि यही कुरा गर्न थालेपछि हामी तिनै जना यसलाई स्विकार्न बाध्य भयौं ।

मात्र अघिल्लो दिन, त्यो पनि साँझमा आएर एस् . ई. ई.  रोक्ने सरकारको निर्णयसँग एकाएक अनेकौं गुनासाहरू उत्पन्न भए । तै पनि हामी सरकारको निर्णय विपरीत के नै गर्न सक्थ्यौँ र ? पढ्ने पनि जाँगर आएन । अनि यसै विषयमा अनेक गन्थन गर्दै हामी तिनै जना बेलैमा सुत्यौँ। भोलिपल्ट घरबाट अङ्कलले सम्झाउँदै भन्नुभयो, “यो त अझ राम्रो तयारी गर्ने मौका हो तिमीहरूलाई, नडराओ न ।” अनि रेडियोले पनि बिकट क्षेत्रका विद्यार्थीहरूको बिजोग भएको र उनीहरूका अनेक गुनासा सुनाउन थाल्यो। उनीहरूको दुःख र गुनासाका सामु आफ्नो रिस सानो लाग्यो र यसैमा चित्त बुझाई हामी घर (सोल्मा) फिर्यौँ । रिमिसा आफ्नै घर गइन् । सरकारले चैत ११ गतेदेखि लागु हुने गरी एक हप्ताको देशव्यापी लकडाउन घोषणा गर्‍यो। सोचेँ ‘देशमा कहीँ कतै सङ्क्रमण देखै नपरी सरकारले गरेको यो निर्णय मलाई मात्रै नभई सम्भवत: देशका सबै नागरिकलाई वाइयात नै लाग्यो होला। तर मेरो होस त तब उढ्यो जब केही दिनपछि नै कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया दिदीमा कोरोनाको सङ्क्रमण देखियो । अनि फेरि अरूमा सङ्क्रमण देखिन थाल्यो । ‘विदेशबाट आउनेहरूमा मात्र भएको सङ्क्रमणलाई ‘पहिलो चरण’को सङ्क्रमण भनिँदो रहेछ’। विदेश नै नगएकी एक महिलामा पनि सङ्क्रमण देखापरेसँगै सङ्क्रमण ‘दोस्रो चरण’मा प्रवेश गर्यो । आजसम्म आइपुग्दा ६० हाराहारी सङ्क्रमित भए तर पनि राम्रो पक्ष सङ्क्रमितमध्ये १६ जना पूरै निको भएर घर फर्किसके । आहिले मलाई महसुस भयो कि लकडाउन नै एकमात्र ‘कोरोना क्याप्सुल’ रहेछ। धन्न सरकारले समयमै लकडाउन गरिदिनाले सङ्क्रमण निश्चित ठाउँमै सीमित छ नत्र आज नेपाल कोरोनाका मामलामा दोस्रो अमेरिका नै पनि हुन सक्थ्यो। सङ्क्रमण फैलन नदिन देशका सबै जिल्ला र पालिकाहरूमा क्वारेन्टाइनको व्यस्था गरिएको छ, जहाँ शङ्का लागेका अनि अन्यत्रबाट आएका मनिसहरूलाई कम्तीमा १४ दिन रखिन्छ र सङ्क्रमण परीक्षणपश्चात् मात्र घर जान अनुमती दिइन्छ। सरकार अनि स्वास्थ सङ्गठनहरूले कोरोना भाइरसलाई मध्यनजर गर्दै गरेका सम्पूर्ण निर्णयहरूको सहर्ष पालना गर्ने हो भने यस भाइरसबाट चाँडै नै मुक्ति पाउन सकिनेछ र हाम्रा तर्फबाट यही नै सरकार अनि सिङ्गो विश्वलाई सहयोग हुनेछ ।