December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

दर्जन सर्जकसँगको कुराकानी : समय कसरी बित्दै छ ?

सोमनाथ दाहाल

“हेलो ! लकडाउनको समय कसरी बिताउँदै हुनुहुन्छ ?” मैले मेरा एकजना मित्रलाई फोन गरेर सोधेको थिएँ ।

तपाईं अनुमान गर्नुसक्नुहुन्छ ? उहाँले के उत्तर दिनुभयो भन्ने । भइगो, उहाँका बारेमा चिन्ता नगर्नुस् । तपाईं आफ्नै बारेमा सोच्नुस् त, तपाईंले लकडाउनको समय के गरेर बिताउँदै हुनुहुन्छ ?

तपाईंका कुरा पछि सुनौँला । म मेरा मित्रकै कुरा गर्छु । उहाँले भन्नुभयो, “म त कोरोनासँग खुब लड्दैछु ।”

उहाँलाई कोरोना सङ्क्रमण भएछ, उहाँ त आइसोलेसनमा हुनुहोला भन्ने मलाई लाग्यो । अनि सहानुभूतिको स्वरमा भने, “कठिन होला है । कसरी बिताउनुहुन्छ त दिन ?”

उहाँले हाँस्दै भन्नुभयो, “कठिन छ । श्रीमतीजीले खाना पकाउनुहुन्छ; खायो ओच्छ्यानमा गयो, डङ्ग लड्यो । फेरि उठ्यो, खाजा खायो अर्कातिर गयो, लड्यो । हा हा हा… हामी त यसरी कोरोनासँग लड्दै पो छौँ ।”

उहाँले त मजाक पो गर्नुभएको रहेछ । एक मन त खुसी लाग्यो । उहाँलाई सङ्क्रमण भएको रहेनछ । फेरि अर्को मनमा दुःख देखियो । के यो समय खाने र सुत्ने मात्र हो ? के यस समयलाई कुनै सृजनशील वा व्यवहारिक कार्यमा प्रयोग गर्न सकिँदैन ? मेरा अरू साथीहरू कसो गर्दै छन् भन्ने कुरा मलाई जान्न मन भयो । मैले त्यस्ता एकदुई साथी र केही अग्रजसँग फोन गरेर बुझ्ने निधो गरेँ । तर, पहिलो फोन कसलाई गर्नु ? के भनेर सोध्नु ? मलाई अलि अप्ठ्यारो लाग्यो । तै पनि जे पर्ला पर्ला भन्ने अठोट गरेर फोन घुमाएँ ।

“हेलो !” मैले पहिलो फोन यादव भट्टराईलाई गरेँ । उहाँ साहित्यकार हुनुहुन्छ । उहाँ र म कुनै ठाउँमा सहकर्मी छौँ । हाम्रा बिचमा गहिरो आत्मीयता पनि छ । त्यसैले उहाँलाई फोन गर्न मलाई कुनै अप्ठ्यारो भएन । भाउजू र छोरीहरू भैरहवा जानुभएको रहेछ । यादव दाइ घरमा एक्लै । यो त उहाँलाई थाँती रहेका पुराना लेखनका कार्य पूरा गर्ने मौका पो परेछ । साथसाथै दिनहुँ नयाँ नयाँ मुक्तक लेख्न तल्लीन हुँनुहुँदो रहेछ । आफ्नो विद्यावारिधीको लेखन कार्यलाई पनि सँगसँगै अघि बढाइरहनुभएको रहेछ । देशविदेशमा रहने भाइ, बहिनीलगायत आफन्तसँग समसामयिक विषयमा कुरा गर्न पनि उहाँले भुल्नुभएको छैन ।

प्रकाशमणि दाहाल मेरा अग्रज बन्धु हुनुभएकाले मैले दोस्रो फोन उहाँलाई नै गरेँ । उहाँ मेरा बन्धु भएर मात्र होइन, उहाँ नेपाली साहित्य, पूर्वीय र पाश्चात्य दर्शनका गहन अध्यतासमेत हुनुहुन्छ । उहाँले लेख्नुभएको मनोविज्ञानसँग सम्बन्धित दर्शनको गहन पुस्तक ‘मनस्तरङ्गिणी’ कथालयले २०७६ मा प्राकाशन गरेको छ । उहाँका अरू पनि थुप्रै पुस्तकहरू प्रकाशित भएका छन् । उहाँले आफूलाई अत्यन्त व्यस्त बताउनुभयो । अहिले एउटा विशेष शब्दकोशको निर्माणमा उहाँ जुट्नुभएको रहेछ । आफ्नो नियमित अध्ययन र लेखनका कार्य पनि सँगसँगै अघि बढाइरहनुभएको रहेछ । उहाँलाई सफलताको शुभकामना दिएर मैले फोन राखेँ ।

यशु श्रेष्ठ यस समयका चर्चित बालसाहित्य सर्जक हुनुहुन्छ । नेपाली बालसाहित्यका क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ । उहाँले थोरै समयमा एक सयभन्दा धेरै पुस्तक प्रकाशित गरिसक्नु भएको रहेछ । मैले उहाँलाई फोन गरेँ । उहाँ बालसाहित्य सृजनामा तल्लीन हुनुभएको हरेछ । उहाँले यस समयमा बालबालिकाका लागि आवश्यकताअनुसार कथावाचन गरी विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारण गरिरहनु भएको रहेछ । लकडाउन वा अन्य, जुनसुकै समय पनि महत्त्वपूर्ण रहेकाले समयलाई पूर्णरूपमा सदुपयोग गर्नुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, ‘लकडाउनमा म मात्र सिर्जनशील हुने प्रयासमा छुइनँ, अरू बालबालिका र बालसाहित्य सर्जकहरूलाईसमेत सिर्जनशील बनाउने प्रयासमा छु ।’

नर्मदेश्वरी सत्यालले झन्डै ३५ वर्ष विद्यालयमा शिक्षक र प्रधानाध्यापकका रूपमा कार्य गर्नुभयो । उहाँ २०७७१-०७५ मा नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञसमेत हुनुभयो । उहाँले विविध विधाका साहित्य सृजना गरी नेपाली साहित्य जगतलाई गुन लगाउनुभएको छ । आफ्ना विद्यार्थी, अरू समकक्षी र आफ्नै परिवारका समस्त सदस्यलाई साहित्य सृजनामा निरन्तर प्रेरित र प्रोत्साहित गरिरहनुभएको छ । उहाँले यस समयलाई बेलायतमा बस्ने छोराबुहारी, नातिनातिना तथा आफन्तलगायतसँग कुराकानी गर्ने, आफूले साहित्य सृजना गर्ने अनि आफ्ना नातिनातिनालाई पढाइलेखाइ तथा सृजनशील कार्यमा व्यस्त राख्ने गर्नु भएको रहेछ । उहाँले आफ्ना बाँकी रहेका काम पूरा गर्ने अवसरका रूपमा लकडाउनलाई लिनुभएको रहेछ । उहाँ समयको अभावका कारण पूरा गर्न नसकेका दुईओटा पुस्तक यही समयमा पूरा गर्ने तयारीमा हुनुहुन्छ । पत्रपत्रिकालगायत विभिन्न सञ्चार माध्यममा उहाँले लेखहरू प्रकाशन गरिरनुभएको रहेछ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ प्रा. डा. हेमनाथ पौडेल नेपाली वाङ्मयमा कवि तथा समालोचकका रूपमा स्थापित हुनुहुन्छ । नेपाली भाषा र साहित्यको लेखन तथा अनुसन्धानात्मक कार्यमा निरन्तर खटिनुहुने उहाँले लकडाउनको समयलाई विशेष उपलब्धिपूर्ण बनाइरहनुभएको छ । उहाँ सधैँको व्यस्तताबाट टाढा भएर गहन अध्ययन, विश्लेषण तथा लेखन कार्यमा लाग्नुभएको रहेछ । पहिले सुरु गरिएका तर समयको अभावले पूर्ण हुन नसेकेका कार्यलाई पूर्ण गर्ने अवसरका रूपमा लकडाउनलाई लिनुभएको रहेछ । यस समयमा उहाँले थाँती रहेका पुराना र केही नयाँ अध्ययन तथा लेखनका कार्य पूर्ण गरेको जानकारी दिनुभयो ।

‘भीर मह’, ‘चिराक’जस्ता उपन्यासका सफल लेखक, कुशल बालसाहित्यकार डा. रेणुका सोलु त्रि.वि.वि.मा उप–प्रशासकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले यस समयमा घरमै बसरेर कार्यालयीय कामका साथै सृजनात्मक, विश्लेषणात्मक लेखनका क्षेत्रमा आफूलाई व्यस्त राख्नुभएको छ । त्यसकै परिणामस्वरूप यस अवधिमा मात्र उहाँका पन्ध्रओटा जति लेखहरू विभिन्न सञ्चार माध्यममा प्रकाशित भइसकेका छन् । घरव्यवहारको दैनिक अभिभाराका साथै नियमित अध्ययनमा उहाँ अलिकति पनि चुक्नु भएको रहेनछ ।

मासिक साहित्यिक पत्रिका ‘शब्दाङ्कुर’का प्रधान सम्पादक तथा नेपाल सरकारका पूर्व सह-सचिव धीरकुमार श्रेष्ठलाई पनि व्यस्तताले छाडेको छैन । यस विषम परिस्थितिमा पनि उहाँले ‘शब्दाङ्कुर’लाई नियमित रूपमा प्रकाशन गर्ने अठोट गर्नुभएको छ । त्यसका लागि उहाँ सामान्य परिस्थितिमा झैँ व्यस्त भइरहनुभएको छ । यही अवधि र परिवेशलाई समेटी लेखिएका उहाँका बाल तथा प्रौढ रचनाहरू विभिन्न सञ्चार माध्यममा प्रकाशन भइरहेका छन् । बोलेरभन्दा काम गरेरै देखाउने उहाँको स्वभावले गर्दा उहाँ अझ व्यस्तताका साथ कार्यमा जुटिरहनुभएको छ भन्ने अनुमान मैले गरेको छु ।

राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशको कार्यालय प्रमुख जयन्ती सत्यालको साहित्यिक नाम जयन्ती स्पन्दन हो । बाल तथा प्रौढ साहित्यका कुशल सर्जक उहाँलाई अध्ययन, सृजना, कार्यालयीय र घरायसी कामले अहिले निकै व्यस्त बनाएको छ । सामाजिक सञ्जालमार्फत उहाँ घरी कार्यालयीय छलफल तथा बैठक, घरी साहित्यिक गोष्ठीमा सहभागी भइरहनुभएको छ । आफ्नी छोरीको पढाइ, लेखाइ तथा सृजनात्मक अभिव्यक्तिमा पनि उहाँ उत्तिकै सचेत हुनुहुन्छ । उहाँले समयतालिका मिलाएर छोरीलाई नियमित अध्ययनका साथै साहित्य र चित्र सृजनामा व्यस्त राख्नुभएको रहेछ ।

भाषावैज्ञानिक, बहुभाषाविद्, पूर्वीय–पाश्चात्य साहित्य तथा दर्शनका ज्ञाता प्रा.डा.माधवप्रसाद पोखरेल त्रि.वि.वि. को प्राध्यापकबाट अवकाश हुनुभएको हो । प्राध्यापकमा बहाल रहँदाभन्दा बढी अवकाश भएपछि र त्यसभन्दा बढी यस विषम परिवेशमा उहाँ व्यस्त हुनुभएको मैले पाएँ । आफ्नो नियमित अध्ययन, अनुसन्धान, सृजना तथा गहन पुस्तकहरूको सम्पादनमा उहाँ व्यस्त हुनुहुन्छ । केही समयअगाडि मैले फोन गर्दा ‘चौबिस घण्टाको समय मलाई थोरै भयो’ भनी गुनासो गर्नुहुने उहाँले यस पटक केही काम पूरा हुने तरखरमा पुगेकाले खुसी व्यक्त गर्नुभयो ।

त्रि.वि.वि.को प्राध्यापकबाट अवकाश प्राप्त अर्का भाषावैज्ञानिक हुनुहुन्छ जीवेन्द्रदेव गिरी । प्राध्यापन, साहित्यिक तथा अनुसन्धानात्मक लेखनले खारिनु भएको उहाँ नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिवसमेत भइसक्नुभएको छ । उहाँले राज्यको आह्वानमा भएको बन्दाबन्दीलाई स्वाभाविक रूपमा लिँदै एकान्तवासका साथै कोरोनाबाट आफू बच्न र अरूलाई बचाउन अगि सारिएका नियमहरूको परिपालन गर्नुभएको छ । बाहिर निस्कनु नपर्दा नियमित अध्ययन, अनुसन्धान तथा सम्पादनका कार्यमा उहाँले समय व्यतीत गर्नुभयो । माटो र पानीसँग खेल्न रमाउने उहाँले आफ्नै घरमा छाना खेती गर्नुभएको रहेछ । फूल र तरकारीका बोटको स्याहार गर्ने अवसरका रूपमा उहाँले लकडाउनको उपयोग गर्नुभयो । विभिन्न सङ्घसंस्थामा आबद्ध उहाँले घरपरिवारमा बढी समय बिताउन र भान्सालगायत घरायसी काममा जीवनसँगिनीलाई सघाउन पाएकामा सन्तुष्टि व्यक्त गर्नुभयो । अपेक्षित रूपमा जनसम्पर्क हुन नसके पनि टेलिभिजन, फोन र सामाजिक सञ्जालका माध्यमबाट सूचना आदानप्रदान तथा मनोरञ्जन गर्दै समयको अधिकतम सदुपयोग गर्ने प्रयत्न उहाँले गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयमा नेपाली विषयका सह–प्राध्यापक तथा हाल नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ, कवि तथा समालोचक डा.देवी नेपालको समय असाध्यै ऊर्वर र सृजनात्मक बनेको पाएँ । उहाँले सामाजिक सञ्जालमार्फत ‘लकडाउनलाई सृजनात्मक सदुपयोग गरौँ’ भन्ने अभियान नै चलाउनुभएको रहेछ । उहाँले यस समयमा लेखेका विभिन्न बालगीत र बालकविताहरू सामाजिक सञ्जालमार्फत प्रशासरण भएका छन् । फुटकर रचनाका अतिरिक्त यस अवधिमा दुईओटा बालकाव्य र एउटा खण्डकाव्य रचना गरिसक्नु चानचुने कुरा होइन । यस विषम घडीमा झापा मामाघरमा बस्दै आएका दुवै छोरीलाई सृजनशील बनाउन उहाँले सामाजिक सञ्जालमार्फत निरन्तर प्रयत्न गरिरहनुभएको छ । उहाँले आफू मात्र होइन अरूलाई समेत यस विषम परिवेशमा सृजनात्मक उपलब्धि हासिलका लागि हौस्याउन अथक प्रयत्न गरिरहनुभएको पाइयो ।

शाश्वत पराजुली बालबालिकाका लागि राम्रा कथा लेख्नुहुन्छ । उहाँले बालकथाका धेरै पुस्तकहरू प्रकाशन गरिसक्नुभएको छ । लकडाउनले उहाँको कार्यालयीय कार्यमा कुनै अवरोध गरेको छैन । घरबाटै सबै कार्य नियमित रूपमा गरिरहनुभएको छ । यसका साथै बालबालिकाका लागि उपयोगी सामग्री निर्माण गरिरहनुभएको छ । बालकथा लेखन, त्यसलाई श्रव्यदृश्य सामग्रीका रूपमा निर्माण, विभिन्न सामाजिक सञ्जालमार्फत तिनको प्रसारणजस्ता कार्यमा उहाँ अत्यन्त व्यस्त हुनुहुन्छ । उहाँले हाँस्दै भन्नुभयो, “पहिलेभन्दा अझ बढी व्यस्त भएको छु ।”

मैले अरू पनि धेरै साथी र अग्रजहरूलाई फोन गरेँ । धेरैजसोले आफूलाई व्यस्त बताउनुभयो । कसैकसैले आफ्ना सम्पूर्ण काम छाडेर छोराछोरीकै पढाइ, लेखाइका साथै साहित्य, चित्र र रङजस्ता सृजनात्मक कार्यलाई प्रोत्साहन गरिरहेको पाएँ । कसैकसैले आफ्नो सम्पूर्ण परिवारलाई व्यस्त र सृजनशील बनाउनुभएको रहेछ । कतिपय त आफू र आफ्नो परिवार मात्र होइन अरूलाई पनि सृजनात्मक कार्यमा व्यस्त बनाउने प्रयत्नमा हुनुहुँदो रहेछ । यसपछि मैले आफैँलाई नियालेँ । अहो ! मेरो समय त व्यर्थैमा घर्किरहेको रहेछ । म सरम र पश्चातापले पानीपानी भएँ ।

भन्नुपर्ने कुरा अरू पनि थिए तर अब म मेरा, मेरा साथी तथा अग्रज सर्जकहरूका मात्र कुरा गर्दिनँ । तपाईंलाई पनि पालो दिन्छु । तपाईं नै भन्नुस् त, तपाईंको समय कसरी बितिरहेको छ ? के घरव्यवहारमा व्यस्त हुनुहुन्छ ? अथवा सृजनारत हुनुहुन्छ ? अथवा अध्ययनमा तल्लीन हुनुभएको छ ? अथवा भविष्यका लागि कुनै विशेष कार्ययोजना निर्माण गरिरनुभएको छ ? … तपाईंको समय जसरी बिते पनि । शुभ होस् ।