March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पाँचथरका समाजसेवी भण्डारीको अल्पायुमै निधन

काठमाडौं, वैशाख १२ (झरनासञ्चार)– हिलिहाङ–१, पाँचथर (साबिकको अमरपुर गाविस) का समाजसेवी लय भण्डारीको अल्पायुमै निधन भएको छ । ५७ वर्षीय भण्डारीको बिहीबार भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाँचथर–काठमाडौं सम्पर्क मञ्चले भण्डारीको निधनबाट एकजना सक्रिय एवं बफादार सदस्य गुमेको जनाएको छ ।


मञ्चका सल्लाहकार बासुदेव अधिकारीका अनुसार भक्तपुरको ठिमीस्थित राधेराधेमा बसोबास गर्दै आएका भण्डारी फोक्सोको क्यान्सरबाट पीडित थिए । स्वर्गीय भण्डारीका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् । नाचगान तथा कलाकर्ममा रुचि राख्ने भण्डारी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेको मञ्चले जनाएको छ ।


सामाजिक काममा निःस्वार्थ भावले अग्रसर हुने भण्डारीको निधनबाट पाँचथरले एकजना कर्मठ समाजसेवी गुमाएको सल्लाहकार अधिकारीले बताए । भण्डारी २०४७ देखि पार्टीमा सक्रिय थिए ।
‘नाचगानमा साह्रै सिपालु हुनुहुन्थ्यो, पार्टीको काममा अहोरात्र परिआए पनि खट्ने,’ सल्लाहकार अधिकारीले भने, ‘एकजना निष्कलंक, निष्ठावान र बफादार कार्यकर्ताको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको छ ।’


मञ्चले स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।