मिड्वाइफ्री पेसा समृद्ध नेपाल:सुखी नेपालीको आधार

वीर अस्पताल नर्सिङ्ग क्याम्पस,
मिडवाइफ़्रि स्नातक तहमा अध्ययनरत
वि. स. २१०० सम्ममा नेपाललाई उच्च आय भएको मुलुकमा रुपान्तरण गरी समृद्ध नेपाल : सुखी नेपाली को साझा राष्ट्रिय आकाङक्षा पूरा गर्ने दीर्घकालीन सोचका साथ नेपाल सरकारको पन्ध्रौँ योजना यही आर्थिक वर्ष २०७६/७७ बाट सुरु भएको छ। सन् २०२२ सम्ममा विकासोन्मुख देशबाट विकासशील देशमा परिणत गर्ने र सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गरी उच्च मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधारसमेत पन्ध्रौँ योजनाले लिएको छ।
पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी भएको हाम्रो जस्तॊ मुलुकमा अधिकांश महिला आफ्नो प्रजनन स्वास्थ्यको पहुँचभन्दा निकै टाढा छन् । लैङ्गिक र प्रजनन शिक्षाको अभावले गर्दा महिलाहरूले रोग लुकाएर बस्ने र अकालमै ज्यान गुमाउने गरेको सबैलाई अवगत नै छ । हरेक महिलालाई आफ्नो लैङ्गिक र प्रजनन् स्वास्थ्य सम्बन्धी सम्पूर्ण अधिकार रहँदारहँदै पनि महिला आफ्नो स्वास्थ्य सम्बन्धी निर्णय लिन चुकिरहेका छन् । यसले नेपालमा अझै पनि महिलालाई अधिकार र स्वतन्त्रता नभएको प्रस्ट देखिन्छ ।
अस्पतालमा प्रसव बेदनाले छटपटइरहेकी महिलालाई सामान्य तवरले प्रसूति गराउन नसकेपछि अप्रेसन मार्फत प्रसूति गराउन सबै पुर्व तयारी गरिन्छ तर यसबारे उनलाई कुनै जानकारी नै दिइँदैन। । हरेक व्यक्तिलाई आफ्नो स्वास्थ्य सम्बन्धी निर्णय लिने अधिकार हुन्छ । त्यसैले हरेक उपचारको पूर्व जानकारी बिरामीलाई दिन जरुरी हुन्छ । यो कानुनसम्बत कुरा पनि हो । तर, उल्लिखित महिलालाई अप्रेसनका बारेमा किन जानकारी दिइएन ? यो त एउटा उदाहरण मात्र हो । यस परिवेशमा महिलालाई किशोर अवस्था, गर्भवती, प्रसव वा सुत्केरी अवस्थामा शिक्षा, चेतना, उत्प्रेरणा प्रदान गर्न दक्ष स्वास्थ्यकर्मी आवश्यक रहेको देखिन्छ । यही आवश्यकतालाई मध्यनजर गर्दै विश्वमा १९औँ शताब्दीदेखि विशेष किसिमको स्वास्थ्यकर्मी उत्पादन तथा परिचालन गर्न थालियो जसलाई मिडवाइफ्री भनिन्छ ।
अङ्ग्रेजीको मिडवाइफ शब्दले महिलासँग भन्ने अर्थ बुझाउँछ । यो शब्द प्राचीन कालबाट नै प्रयोग हुँदै आएको हो भन्ने तथ्य रोम र ग्रीकका पुराना कृतिहरूबाट थाहा पाइन्छ । यसको पेसागत अभ्यास भने सन् १९०२ मा ग्रेट ब्रिटेनले पहिलो पटक मिडवाइफ्री ऐन १९०२ मार्फत सुरु गरेको हो । विश्वभर अहिले विभिन्न तहमा रहेर मिड्वाइफ्री पेसामा आबद्ध हुनेको सङ्ख्या बढ्दो छ । मिडवाइफले महिलाको गर्भवती, प्रसूति सेवा होस् या अन्य स्वास्थ्य सम्बन्धी सेवा निरन्तर प्रदान गर्दछन् जसले गर्दा अहिले विश्वमा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्शका निम्ति डाक्टरभन्दा मिडवाइफलाई नै बढी रुचाउने गरेका पाइन्छ । नेपालको परिप्रेक्ष्यमा मिडवाइफ जनशक्तिको आवश्यकता झनै टड्कारो देखिन्छ । दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य सम्बन्धी लक्ष्य नं. ३ अन्तर्गतका महिलाको प्रजनन तथा शिशु सम्बन्धी रहेका महत्वाकांक्षी लक्ष्य प्राप्ति गर्न जति सक्दो मिड्वाइफ्री पेसालाई देशभर पुर्याउनु र मिडवाइफ उत्पादन र परिचालन गर्नु अपरिहार्य देखिन्छ।

पन्ध्रौँ योजनाले समृद्धिका परिणात्मक लक्ष्य अनुरुप मानव पुँजी निर्माणको सूचकका रूपमा आ.व. ८०/८१ सम्ममा मातृ मृत्युदर (प्रति लाखमा) २३९ बाट ९९ मा झार्ने र ५ वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३९ बाट २४ पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ। त्यसैगरी नेपालले दिगॊ विकास लक्ष्य हासिल गर्ने अन्तर्रास्ट्रिय स्तरको प्रतिबद्धताअनुसार लक्ष्य नं. ३ स्वास्थ जीवनको प्रत्याभूतिका निम्ति महिला प्रजनन तथा शिशु सम्बन्धी तय गरिएका सूचकाङ्क र लक्ष्य निम्नअनुसार छन् :
१) मातृ मृत्युदर (प्रति लाखमा ) : २५८ (सन् २०१५ ) बाट सन् २०३० सम्ममा ७० पुर्याउने ।
२) ५ वर्ष मुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) : ३८ (सन् २०१५) बाट सन् २०३० सम्ममा २० पुर्याउने ।
३) दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउने दर : ५५.५ % (सन् २०१५ )बाट सन् २०३० सम्ममा ९०% पुर्याउने ।
४ ) नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) : २३ (सन् २०१५ ) बाट सन् २०३० सम्ममा १२ पुर्याउने ।
५) किशोर अवस्था (१९ वर्षभन्दा मुनि) मा हुने प्रसूति प्रति १००० मा : ७१(सन् २०१५ ) बाट सन् २०३० सम्ममा ३० पुर्याउने ।
६) चार पटक गर्भवती जाँच प्रतिशत : ५९.५ % (सन् २०१५ ) बाट सन् २०३० सम्ममा ९०% पुर्याउने ।
७) स्वास्थ संस्थामा गरिने प्रसूति : ५५.२ % (सन् २०१५) बाट सन् २०३० सम्ममा ९०% पुर्याउने ।
८) तीन पटक सुत्केरी जाँच : २०% (सन् २०१५ मा ) बाट सन् २०३० सम्ममा ९०% पुर्याउने ।
९) शिशुलाई हेपाटाइटिस बी खोप : ८८ % (सन् २०१५ मा ) बाट सन् २०३० सम्ममा ९५% पुर्याउने ।
१०) ३०-४९ वर्ष उमेरका महिलाको पाठेघर मुखको क्यान्सर जाँच : १६.६% (सन् २०१५) बाट सन् २०३० सम्ममा ९०% पुर्याउने ।
यसरी दिगॊ विकासका लक्ष्य हासिल गरी समृद्ध मुलुकका रूपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन मिड्वाइफ्री पेसालाई दिगॊ र सम्मानजनक बनाउन जरुरी देखिन्छ ।

राष्ट्रका हरेक महिलालाई सम्मानजनक प्रसूति सेवा दिने, किशोर अवस्थादेखि गर्भवती, प्रसूति, सुत्केरी तथा नवजात शिशुलाई निरन्तर सेवा दिने, महिलाको सम्पूर्ण प्रजनन स्वास्थ ख्याल गर्ने मिडवाइफ्री एक स्वतन्त्र पेसा हो जसको देशैभर अभ्यास गराउन जनशक्ति उत्पादन प्रमुख प्राथमिकता रहन्छ। हाल नेपालमा ३ वटा संस्था (काठमान्डौ विश्वविद्यालय, वीर अस्पताल र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान्) बाट मिडवाइफ्री स्नातक तहको अध्ययन सुरु भएको छ भने सिटिईभिटीले पनि डिप्लोमा तहको अध्ययन सुरु गर्न लागेको छ। देशका एक/दुईवटा अस्पतालमा बर्थिङ्ग सेन्टर स्थापना गरी मिडवाइफ्री सेवामा आधारित प्रसूति दिने कामको सुरुवात भए तापनि प्राकृतिक वा सामान्य (Normal) प्रसवलाई प्रोत्साहन, गर्भावस्थादेखि नै दिइने निरन्तर सल्लाह सुझाब, निर्णयको स्वतन्त्रता, साथीत्व (Friendly) को व्यवहार जस्ता यसका सुन्दर पक्षलाई आम सर्वसाधारण भने कति पनि बुझाउन सकिएको छैन । यसरी हेर्दा सरकारको हालको गति र प्राथमिकताले मिड्वाइफ्री पेसाको महत्वलाई नै बुझ्न नसकिरहेको हो कि जस्तॊ आभास हुन्छ ।
त्यसैले हाम्रो देशमा अझै पनि शिशु तथा मातृ मृत्युदर धेरै रहेको, गर्भवती तथा सुत्केरी जाँच गराउने महिलाको प्रतिशत र संस्थागत प्रसूतिको अवस्था कमजोर रहेकाले यसको दिगॊ समाधानका निम्ति मिडवाइफ सेवालाई सरकारले प्राथमिकताका साथ देशभर अभ्यास गराउन, संस्थागत र दक्षजनशक्ति विकास गर्दै द्रुत रूपमा अघि बढ्न जरुरी देखिन्छ ।
#Midwife #मिड्वाइफ #मिड्वाइफ्री पेसा
लेखकको सम्वन्धमा