काला कौवा र चरी

आजकल त्यो एक चरी प्रायः भेटिँदैन
ऊ देखिन चाहेर हो या नचाहेन देखिँदैन
खैर ! होलान् उसका बाध्यताका जालाहरूसम्झनाका सँगालाहरू
उध्रिराखेका
चुँडिराखेका
उसले बलजफती हुँदै नभाको बच्चे तागत लगाई
उसको त्यो मामुली ज्यानभित्रको साहसलाई ब्युँताई
बचाइराखेको
सम्हालिराखेको ।

कसरी बोल्न सकिन्छ उसको नजानिँदो हिम्मतको भाषा ?
अनि बुझ्‍न पो कसरी सकिन्छ उसको नाटकीय चिरिबिरी भाषा ???
एउटा कलमसॅग सामर्थ्य नै छैन उसलाई बुझ्‍न
सायद घोत्लिराखेको कविलाई पनि गाह्रो छ उसको मनोदशा बझ्‍न
ऊ कहाँ कहाँ जाँदो हो …?

कति कौवाहरूसँग आफ्नो जिजीविषा राख्दै बाझ्दो हो
ती काला कौवाहरूको पनि कत्रो हिम्मत !
कत्रो औकात !!
आफ्नो संसार सजाउने अनि
अरूको संसारसँग बाधा नपार्ने,
त्यो चरी बिचरीसँग बाझिरहने !
उसलाई बाधा गरिरहने !! 

यो मौनता हुन सक्छ
यो धैर्य हुन सक्छ
प्रतीक्षा हुन सक्छ समयको
नयाँ दिनको आगमनसँग
आफ्नो सुमधुर ध्वनि छरी
अवश्य आउने छ चरी
आउने छ चरी ।