चरी

कुहु कुहु गर्दै चरी कहाँबाट आयो ?
को हो भनी फर्की हेर्दा मनै चोरी ल्यायो
जुन झैँ आयो चरी नयाँ रङ्ग छायो
फर्की फर्की मलाई हेरी चरीले गीत गायो ।।

भुलाउँछु दुनिया सारा तिम्रै चित्र केर्छु चरी
राख्छु तिमीलाई आड्‌मा मेरो अँगालोमा बेर्छु चरी
तिम्लाई पाउन तिम्रा निम्ति काँचुली नै फेर्छु चरी
घाम परे नि आँखाभित्र तिम्रै बाटो हेर्छु चरी ।।

तिम्रै निम्ति माया मेरो पोको पारी लेऊ न
नजाऊ न उडी चरी हात थामिदेऊ न
मलाई पनि हृदयमा बास बस्न देऊ न
उडाई लग मलाई पनि तिम्रै घर छेउमा ।।

आँखा आँखा जुधिरहे मनका चरी उडी गए
वनैभरि उडी उडी चरीको गीत सुनिरहेँ
बेलाबेला आँखाबाट आँसु झरिरहन्छ चरी
आँसुका यी थोपाहरूले तिम्रै हुँ म भन्छ चरी ।।