June 4, 2026, Thursday
२०८३ जेष्ठ २१, बिहीबार

भिक्षा

जीवन यात्रा त हो
आज पनि जीवनको
यात्रा आरम्भ हुन्छ

कञ्चन मधुरो समीरसँगै
पूर्व क्षितिजमा उदाइरहेको
बालक भानुको न्यानो घाम ओढी
झिनो आशाको त्यान्द्रोमा
तुवाँलो लागेका मनले

दु:खको पहाड बोकेर
तिनै धमिला, अन्जान गल्लीहरूबाट
अनकन्टार सडकसम्म
अपरिचित भिडलाई छिचोल्दै
रित्तो पेट लिएर
जीर्ण र थकित तनमा
पिरले पोतिएको अनुहारमा
वियोगका अश्रुधाराहरू बगाउँदै
फाटेको, मैलो कछाडमा
नाङ्गो पाइतलामा

सत्यता ढाकिएको, मानवता हराएको
अन्धो सरकार, बहिरो कानुनका अगाडि
एक जना बुढी आमा
आफ्नो निर्दोष छोराका लागि
न्यायको भिक्षा माग्दै आउँछिन् ।