सस्तो सडक

 घामका पछिल्लापट्टि एक सडक छ रे
जहाँ सुखका नाममा अहङ्कार खोजिन्छ रे
तराजुमा राखेर अभिमान जोखिन्छ रे
पित्तलको भाउमा खुसी बेचिन्छ रे ।
 
आकाशभन्दा ठुलो त त्यो सडक छ रे
सुनको बाटोमा मोतीको बादल छ रे
तर कुनैदिन बादल बर्सिहाले
पानी हैन आँसुको वर्षात हुन्छ रे ।
 
कुनैदिन बाटो बिराए त्यहाँ हराइन्छ रे
हजारौँ भिडमा आफूलाई नै खोजिन्छ रे
जूनतारा र हीराको त्यो सडकलाई
सस्तो सडकको नामले चिनिन्छ रे ।
 
सुनचाँदीको खाट पाउने त्यो सडकमा निद्रा पाइँदैन रे
राजाको भोजन पाइने त्यो महलमा भोक पाइन्न रे
सुनको भगवान् पाउने त्यो पसलमा श्रद्धा बेचिँदैन रे
जिउँदो मानिस हिँड्ने त्यो जमिनमा जीवन देखिँदैन रे ।
 
अनेकौँ लुगा सिउने मेसिनले लाज सिउँदैन रे
अनेकौ बत्ती पाउने पसलमा घाम पाइँदैन रे
लाखौँको घडी बनाउने पसलमा समय छैन रे
पैसाको बिटोमा चल्ने यो सडकमा जिन्दगी पाइँदैन रे ।