जातीय विभेद न्यूनीकरणका लागि सामाजिक परिभाषाहरू बदल्नुपर्ने आवश्यकता
कुनै पनि मान्छेको सोच र व्यवहारहरू ऊ आफू बसेको समाजमा व्याप्त परिभाषाहरूले निर्धारण गर्दारहेछन। समाजमा प्रचलित यिनै परिभाषाअनुसार नै कुनै कार्यलाई सही र गलत भनेर अर्थ लगाइँदो रहेछ। नेपालमा कानुनी रूपमा जातीय विभेद हटेको ५० वर्ष कटिसक्दा पनि समाजमा व्याप्त परिभाषाहरू परिवर्तन नहुँदा जातीय विभेद हट्न सकेन। पोहोरको रुकुम-जाजरकोट घटनाले हामी सबैलाई स्तब्ध बनायो र फर्केर आफू अनि आफ्नो समाजलाई पुनः नियाल्न कर लगायो। नेपाली समाजमा जातीय विभेद कसरी परिभाषित छ त ? यस लेखमा समाजमा व्याप्त परिभाषाहरूलाई केलाउदै त्यसलाई पुनः परिभाषित गर्न खोजेको छ।
विभेद गर्नु गलत हो
म यहाँ आफ्ना अमेरिका बसाइका केही अनुभवहरू राख्दै छु। एकदिन हामी एउटा जमघटमा गएका थियौँ। त्यसैबेला त्यहाँ उपस्थितमध्ये एकजनाले सुनाउँदै थिए कि कसरी अमेरिकामा हुर्कदै गरेका आफ्ना केटाकेटीहरूले कसैलाई ‘रेस’ को आधारमा केही टिप्पणी गर्न दिँदैनन्। (अङ्ग्रेजीमा रेसले उस्तै शारीरिक र सांस्कृतिक बनोट भएको मान्छेको समूहलाई इङ्गित गर्छ। यो नेपालीमा जातजस्तै हो। तर विभिन्न रेसका मान्छे भौतिक रूपमा पनि फरक देखिन सक्छन्।) ‘के भन्नुभएको ममी? हामी पनि त उस्तै देखिन्छौँ नि’ भन्दै प्रश्न गर्छन्। त्यहाँ केटाकेटीहरूले ‘रेस’ सम्बन्धिको टिप्पणीमा ठुला-ठुला आँखा पारेर ‘रेसिस्ट’ भइस भन्दै प्रश्न गरेको देखे। केटाकेटीहरूमा विभेद सम्बन्धि यतिको ज्ञान देखेर म छक्क परे। त्यस्तै अर्को भेलामा हामी नेपाली साथीभाइहरू मिलेर गफ गर्दै थियौ। त्यहीबेला एकजना बहिनीले उनको एकजना साथीले ग्रुप प्रोजेक्टमा आफूसँग कम गर्न नचाहेको र आफूले ‘रेसिस्ट’ व्यवहार भोग्नु परेको अनुभव सुनाइन्। त्यसैगरी विभिन्न पत्रपत्रिका अनि अन्तर्वार्ताहरूमा फरक देखिनाले अथवा फरक पहिरन लगाउनाले मान्छेहरूले विद्यालय, कार्यलय अनि अन्य सार्वजनिक स्थलहरूमा दुर्व्यवहार भोग्नुपरेको पढेँ/सुनेँ। केही समयअघि मात्र एक जना नेपाली उबर ड्राफभरलाई केही महिलाहरूले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो। मात्र फरक देखिनाले अनि फरक तरिकाले बोल्नाले आफूजस्तै कोही त्यसरी दुर्व्यवहारमा परेको देख्दा धेरै मन दुख्यो। कुनै व्यक्ति कुन समुदायमा जन्मियो भन्ने आधारमानै त्यसरी विभेदको शिकार बन्नु अन्यायपूर्ण अनि असान्दर्भिक लाग्यो। तर मैले यहाँ विभेद मात्र नभएर विभेद गर्नु हुँदैन भन्ने मान्यता पनि देखे। मैले मेरा केही स्वेतवर्गका साथीहरूले अस्वेतवर्गको पनि जीवनको महत्त्व छ भन्ने ‘ब्ल्याक लाइभ्स म्याटर’ को ब्यानर बोकेको अनि र्यालीमा मार्च गरेको देखे। उबरमा दुर्व्यवहार गर्ने एक जना महिलाको एकाउन्ट उबरले सस्पेन्ड गर्यो। मिसिसिपी राज्यमा झन्डा परिबर्तन भयो। त्यस्तै ठुला-ठुला कम्पनीले ‘रेसिस्ट’ देखिने आफ्ना नाम अनि लोगो परिवर्तन गरे। कतै ‘रेसिजम’ का घटना सुनिए, कतै यो हुनुहुँदैन भन्ने मान्यता देखे। समग्रमा भन्नुपर्दा मैले यहाँ एउटा परिभाषा भने स्पष्ट पाए कि ‘रेसिजम’ गलत रहेछ। मान्छेलाई उसको जन्म कुन समुदायमा भयो भन्ने आधारमा विभेद अनि दुर्व्यवहार गर्नु हुँदैन रहेछ।
नेपाली समाजमा विभेदको परिभाषा नियाल्दा
‘रेसिजम’ अथवा विभेद भनेपछि हामीहरूलाई त्यो घृणाले निर्देशित छ भन्ने लाग्दो रहेछ। तर गहिरिएर हेर्दा नेपालको जातीय विभेदमा घृणा प्रमुख कारण भेटिन। दलितवर्ग सिपमूलक काम गर्ने वर्गमा पर्छन र मान्छेहरू सिपमूलक कामको लागि उनीहरूकोमा जानुलाई समस्या मान्दैनन्। त्यस अर्थमा कामको सिलसिलामा अथवा कुनै कलाकारकै रूपमा पनि एकअर्कालाई घृणा गर्दैनन्। त्यसो भए नेपालको जातीय विभेद के ले निर्देशित छ त? यो पुर्खाले स्थापित गरेको अनि पुस्तौदेखि चलिआएको जातीय वर्गीकरणको अवधारणा (जसले कुनै जातलाई ‘माथिल्लो’ अनि कुनै जातलाई ‘तल्लो’ भनेर विभाजित गरिदियो) प्रतिको बलियो विश्वासले निर्देशित छ। आममान्छेको नजरमा यस परम्परालाई तोड्नु पुर्खाप्रतिको अपमान हुने र त्यसकारण केही अनिष्ट हुन सक्ने अथवा समाजको अपहेलना सहनुपर्ने भयले निर्धारित छ। कतै घृणाका घटना सुनिए पनि त्यसका पछाडि माथि उल्लेखित मनोविज्ञान नै प्रमुख कारण रहेको पाइन्छ। तसर्थ, नेपाली समाजलाई नियाल्दा आममान्छेको मनमा ‘जातीय विभेद गलत हो’ भन्ने परिभाषाबारे अन्योलता रहेको पाइन्छ।
पुर्खाको सम्मान र भावी पुस्तालाई न्यायोचित समाजको हस्तान्तरणबिचको सन्तुलन
अब पुर्खादेखि चलिआएको चलनबारे केही कुरा गरौँ। हाम्रा पुर्खाले गरेका धेरै वैज्ञानिक अनुसन्धानहरू अतुलनीय थियो । तर पुर्खाले स्थापना गरेको भनिएका अनि समाजमा चल्दै आएका कतिपय चलनहरू भने न्यायोचित अनि मानवतापूर्ण भने थिएन। जस्तै हाम्रा पुर्खाहरूले धेरै खोज गरे र विभिन्न औषधीय गुण भएका जडीबुटीहरू पत्ता लगाए। हाम्रो भान्सामा अहिलेपनि ति जडिबुटीहरू प्रयोग हुन्छन्। तर सामाजिक पाटोतिर भने हाम्रो समाजमा बालविवाह अनि छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता थियो। आफैले जन्माएका छोरा र छोरीमा सम्म विभेद गर्ने चलन थियो। अनि हाम्रो समाजमा निकैनै अन्यायपूर्ण अनि मानवताविहीन सतीप्रथाको चलन पनि थियो। जब हाम्रो समाजबाट यस्ता चलनहरू हट्दै गए तब हाम्रो समाजले धेरै आनन्दको सास फेर्यो । केही पुस्ताअगाडि चालिएका सामाजिक परिवर्तनका यस्तै कदमहरूले गर्दा नै आज हाम्रो समाज केही हदसम्म भए पनि समावेसी अनि न्यायपूर्ण दिशातिर लम्कियो, जुन हामीले अहिले भोगिरहेका छौँ । हाम्रा काँधमा पुर्खालाई सम्मान गर्ने मात्र नभएर भावी सन्ततिलाई न्यायोचित समाज हस्तान्तरण गर्ने ठुलो जिम्मेवारी पनि छ। तसर्थ यसको लागि हामीले पुर्खाले सुरु गरेका राम्रा कार्यहरूलाई अगाडि बढाउदै अनि नराम्रा चलनहरूलाई प्रश्न गर्न सक्नुपर्छ। जुन समाजमा कुनै महिलालाई जिउँदै आगोमा जलाउने चलन चल्न सक्यो त्यस समाजमा चल्दै आएका अन्यायपूर्ण अनि विभेदकारी चलनहरूमाथि हामीले प्रश्न गर्न सक्नुपर्छ।
अन्धविश्वासको बारेमा
अब म छुवाछुतमा अन्धविश्वासको भूमिकाबारेमा केही चर्चा गर्न चाहन्छु। जनमानसमा कुनै दलितले छोएको पानी अथवा खानेकुरा ‘अपवित्र’ हुने र त्यस्तो खाएमा आफूलाई केही अनिष्ट हुनसक्ने अन्धविश्वास रहेको पाइन्छ। हामी कसरी यस्ता अन्धविश्वासहरूको सिकार बन्न सक्छौँ भन्ने उदाहरणका रूपमा म फेसबुकलाई लिन चाहन्छु। फेसबुकमा कुनै चित्र अथवा पोस्टमा कसैले यो सेयर गरे केही शुभ समाचार आउछ अथवा यो सेयर नगरेमा केही अनिष्ट हुन्छ भनेको भरमा त्यस्ता पोस्टहरू हजारौ-लाखौ पटक सेयर हुन्छन्। करिब १५ वर्षअगाडि मात्र स्थापना भएको फेसबुकले अहिलेको समाजलाई त यसरी प्रभाव पार्न सक्छ भने पहिलेको समयमा मान्छेका आन्तरिक भावनाको आधारमा कुनै प्रकारको मान्छेले छोएको खानेकुरा अपवित्र हुने र त्यस्तो खाएमा केही अनिष्ट हुनसक्ने भन्ने मनोविज्ञान स्थापना हुन के नै गार्हो भयो होला र? हामी विभेद र ‘छुवाछुत’ प्रवृत्तिमा कति सजिलै आउन सक्छौँ भन्ने उदाहरणका रूपमा म कोरोना महामारी सुरुवातको बेला समाजले कोरोना सङ्क्रमित अथवा यस विरुद्ध अग्रपङ्तिमा खटिनेहरूमाथि गरेको दुर्व्यवहार सम्झन्छु। महामारीको बेला मास्क लगाउनु, सामाजिक दूरी कायम गर्नु अनि भिडमा नजानु रोगप्रति सचेत हुनु हो तर यसको आधारमा कुनै व्यक्तिलाई समाजबाट बहिस्कार गर्नु अथवा अपमान गर्नु भनेको चाहिँ मूर्खता हो। हामीलाई आफू के कुरामा विश्वास गर्छौ भन्ने कुरा ठुलो नलाग्न सक्छ तर कतिपय ठाउँमा हाम्रो जस्तै विश्वास राख्नाले कोही अरु मान्छेहरू पानीको मुहानबाट बन्चित भएका हुन सक्छन्, कोही बस्नलाई डेरा नपाई रहेका हुन सक्छन् अथवा कोही समूहबाट उपेक्षित भएका हुन सक्छन्, त्यो भने ठुलो कुरा हो। जातीय विभेद कसरी सुरु भयो भन्ने बारे विभिन्न परिकल्पनाहरू रहेछन्। जस्तैकि भारतको जातीय विभेद सुरुवातमा बसाई-सराई (स्थानान्तरगमन) पनि एउटा कारण रहेको भन्ने वैज्ञानिक खोजमूलक लेख पनि भेटे। जातीय विभेदको सुरुवातबारे विभिन्न वैज्ञानिक खोजहरू हुदैँगर्लान् तर म भने एउटा कुरामा विश्वस्त छु कि जसले मानव जातिको सिर्जना गरे उनले भने मान्छे-मान्छेबिच विभेद गर्दैनन्। तैपनि कुनै मान्छेले छुँदैमा खानेकुरा अपवित्र हुँदैन भन्ने उदाहरणस्वरूप म डा. गोविन्द केसीलाई लिन चाहन्छु। उनले कोरोनाबाट निको भएका एक जना दलित कर्मचारीको हातबाट जुस पिएर आफ्नो अनसन तोडे। रामायणमा पनि राजा रामले सबरीको जुठो फल खाएको प्रसङ्ग छ। आखिर कुनै मान्छेले छुँदैमा खानेकुरा अपवित्र त नहुँदो रहेछ।
राज्यका कमजोरी: समाज परिवर्तनमा वाधक
नेपालको सन्दर्भमा राज्यका कमजोरीहरू समाज परिवर्तनमा वाधक भएको छ। आममान्छेको मनमा समाज राज्य भन्दा पनि बढी प्रभावशाली भएर बसेको छ। फलस्वरूप, संविधानमा जातीय विभेदसम्बन्धी कानुन बने तापनि समाज परिवर्तन नहुन्जेल यो व्यावहारिक रूपमा भने हट्न सकेन। आखिर किन आममान्छेको मनमा कानुनप्रति भन्दा बढी समाजप्रति डर रहन पुग्यो? यसको लागि हामीले एउटा साधारण मान्छेले आफ्नो वरिपरि के देख्छ भन्ने कुराको विश्लेषण गर्नुपर्ने हुन्छ। उसले सञ्चारमाध्यममा अथवा आफ्नै वरिपरि विभिन्न गम्भीर अपराध जस्तै बलात्कार, हत्या अनि भ्रष्टचारका आरोपीहरू खुलेआम हिँडिरहेको देख्छ भने त्यहीँ साना गल्ती अथवा बिनागल्ति नै पनि समाजले कुनै मान्छेलाई निर्घात कुटपिट गरिरहेको देख्छ। यस्तो देखेको एउटा साधारण मान्छे कोसँग बढी डराओस्? नेपालमा अझ राजनीतिक अस्थिरता र खिचातानी त एउटा साधारण जनताले बुझ्नै नसक्ने छ। जनताले राज्यबाट अभिभावकत्व महसुस गर्नै सकेका छैनन्। मान्छेहरू न्याय-अन्याय, साथ र सहयोगका लागि राज्यभन्दा बढी समाजको भर परिरहेको छन्, जसकारण उनीहरू कानुनभन्दा बढी सामाजिक नीति-नियममा निर्भर भइरहेका छन्। नेपालमा अधिकांश मान्छेमा कानुनले न्याय गर्ने कुरामा विश्वास छैन। भर्खरै सेयरकास्ट इनिसिएटिभ नेपालले गरेको सर्वेक्षणअनुसार लगभग आधाभन्दा बढी जनतामा न्यायालयले सही न्याय दिने कुरामा विश्वास छैन। थप, कतिपय सामाजिक व्यवहारहरू कानुनको नियन्त्रणदेखि बाहिर हुन्छन्। जस्तै कि समाजले कुनै एक व्यक्तिलाई हेर्ने दृष्टिकोण र टिप्पणी अथवा कुनै व्यक्तिले समाजबाट अलग्ग्निनु परेको अनुभवहरू कानुनको नियन्त्रणमा हुँदैनन्।
राज्यले जनताको मनमा समाज भन्दा बढी प्रभाव पार्न धेरै मिहिनत गर्नु पर्ने आवश्यकता देखिन्छ। यो कुनै कडा कानुन बनाएर अथवा त्यसको प्रचार गरेर मात्र हुँदैन। यो केवल उदाहरणीय बनेर हुन्छ। राज्यले जब आफ्ना कार्यशैलीहरूले जनताको विश्वास जित्न सक्छ तब मात्र उसले मान्छेमा समाजभन्दा बढी प्रभाव पार्न सक्छ। साथै, राज्यको अर्को जिम्मेवारी भनेको समाजको सोच बदल्नु हो। राज्यले जातीय वर्गीकरण सिपका आधारमा गरिएको हो भन्ने बारे जनचेतना फैलाउन कतिको मिहिनत गरेको छ? मैले राज्य भनेर अहिलेको सरकारलाई मात्र भन्न खोजेको हैन। मैले यो प्रश्न अहिले सम्म बनेका सबै सरकारलाई उठाएको हुँ। तर देश र समाजको विकासका लागि राज्यले मात्र गरेर पुग्दैन। यसका लागि जनता र समाजले पनि उत्तिकै साथ दिन जरुरी हुन्छ। राज्यले गर्न खोजेका राम्रा कार्यमा जनताले पनि साथ दिनुपर्छ। नेपालमा समाजले राज्यको अटेर गरेको अथवा कानुनभन्दा अगाडि बढेर कार्य गर्न खोजेको पनि देखिन्छ। म समाजलाई यो सुझाब दिन चाहन्छु कि – सके मद्दत गर, नसके दुःख नदेऊ। कहीँ अन्यायमा पर्यौ अथवा अन्याय भएको देख्यौ भने कानुनको साहारा लेऊ तर कानुन आफ्नो हातमा लिएर यसको उल्लङ्घन गर्ने कोसिस भने नगर। त्यस्तै राज्यलाई यो सुझाव दिन चाहन्छु कि उदाहरणीय बनेर देखाऊ, जनताको विश्वास जित्ने कोसिस गर।
धर्म–संस्कृतिको रक्षा गर्नु भनेको नराम्रा चलनहरूलाई त्यागेर राम्रा चलनहरूलाई अगाडि बढाउनु पनि हो
जातीय विभेदलाई कतिपयले धर्मसँग पनि जोड्छन् र यसलाई निरन्तरता दिनु आफ्नो कर्तव्य ठान्दछन्। धर्मले के भन्छ भन्नेतिर म जादिनँ। यो बारेमा कुनै धर्मसम्बन्धी विज्ञले बोल्दा नै ठिक हुन्छ। धर्म मान्छेलाई सत्मार्गतिर निर्देशित गर्नका लागि बनाइएको हो। मेरो चासो हामी धर्मको नाम लिएर सत्मार्गमा हिँडिरहेका छौ कि छैनौँ भन्नेबारे हो। कतिपय मान्छेहरू धार्मिक हुन्छन् र भगवान्को नाम जपेर बस्न चाहन्छन्। उनीहरूलाई यस भक्तिभावले आनन्द अनि आत्मसन्तुष्टि दिन्छ। कतिपय मान्छेहरू धर्मका नाममा दान गर्छन्, गरिबको सेवा गर्छन्। यस्तै आफ्नो धर्मअनुसार हामी चाडपर्व मनाउछौँ र खुसी हुन्छौँ। कति मान्छेहरू भगवान्को भरोसामा आफ्नो जिन्दगीको अनिश्चित यात्रामा अत्मविश्सका साथ अघि बढिरहेको हुन्छन्। कतिपय मान्छेहरू कुनै धर्मलाई पालना नगरे पनि ‘मानवता’ अथवा यस्तै केही कुरालाई आफ्नो सिद्धान्त बनाएका हुन्छन्। चाहे जुन धर्म मानौँ, चाहे जुन भगवान् सम्झौँ अथवा कुनै प्रचलित धर्मदेखि बाहेकको सिद्धान्तलाई अनुसरण गरौ यदि त्यसले हामीलाई सकारात्मक प्रभाव परिरहेको छ भने हामी सत्मार्गतिर लम्किरहेका हुन्छौँ। तर फेरि अर्को परिप्रेक्ष्यमा धर्मका नाममा हाम्रो समाजमा कतिपय अन्याय अनि अमानवीय घटना पनि घटेका छन्। केही समयअगाडि मात्र भारतको कुनै मन्दिरमा नरबली दिनलाई दुई नेपाली युवतीको तस्कर भएको समाचार प्रकाशनमा आयो। धर्मलाई नै आधार मानेर कति मान्छेहरू विभेद गरिरहेका छन्। धर्म-संस्कृतिको नाममा हाम्रो समाजमा सतीप्रथाको चलन चल्यो। तसर्थ धर्मको पालना गर्दा आफ्नो कार्य अमानवीय अनि अन्यायपूर्ण छ कि छैन भनेर पनि हामीले सोच्नु पर्ने हुन्छ। कतिपय चलनहरू धर्मका नाममा सामाजिक कुरीति मात्र हुन्छन्। धर्म–संस्कृतिको रक्षा गर्नु भनेको चलिआएका सबै चलनहरूलाई आँखा चिम्लेर पालना गर्नु हैन। धर्म–संस्कृतिको रक्षा गर्नु भनेको चलिआएको नराम्रा चलनहरूलाई त्यागेर राम्रा चलनहरूलाई अगाडि बढाउनु पनि हो।
मान्छेका रूपमा सबै जना उस्तै हुन्
म विज्ञानको विद्यार्थी हुँ। त्यसैले वैज्ञानिक दृस्टिकोणबाट पनि जातीय वर्गीकरणको आधारहरू खोतल्न थाले। तर मान्छे-मान्छेबिच मैले केही पनि फरक पाउन सकिनँ। यसबारेमा अझ बुझ्न म जातीय विभेदसम्बन्धी विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरू पढ्न थाले। मलाई लग्यो कि हामीले मात्र जातको पर्दा उघारेर हेर्नुपर्ने रहेछ आखिर मान्छेका रूपमा त सबै उस्तै नै रहेछन्। म यहाँ अन्जली कुमारको टेड एक्समा प्रसारित ‘माई फेल्ड मिसन टु फाईन्ड गड एन्ड वाट आई फाउन्ड इनस्टेड’ मा भनिएको कुरा सम्झन्छु। साँच्चै नै बाहिरी भिन्नताका बाबजुद पनि भावनात्मक रूपमा हामी सबै उस्तै रहेछौ। हामी सबै प्रेमका भोका रहेछौ अनि संसारमा जे पनि पाईने अवसर प्राप्त गर्यौ भने पनि हामी सबैभन्दा पहिले आफू अनि आफ्नो परिवारको खुसि माग्ने रहेछौ। हामीले हामीबिचको भिन्नतामा जोड दियौँ तर हामीबिचको समानता हेर्न सकेनछौँ। हामी फरक हुँदाहुँदै पनि मनावका रूपमा हामी उस्तै नै रहेछौ। अहिले संसार विश्ववन्धुत्वको अवधारणामा अगाडि बढिरहेको छ। हामीले आफ्नो कार्यक्षेत्रमा विभिन्न भाषा, देश, रङ, जाति, धर्म, संस्कृति, लैंगिकता, शैक्षिक योग्यता अनि आर्थिक, शारीरिक र मानसिक अवस्था भएका व्यक्तिहरूसँग सहकार्य गर्नु पर्ने हुन्छ। जहाँ सबै जनालाई आफूप्रति गर्व छ। जहाँ मान्छे-मान्छेबिच भिन्नता होला तर त्यस भिन्नताका कारणले न त कोही माथि छ न त कोही तल नै छ। मान्छेको रूपमा सबै समान छन्। यस्तो अवस्थामा यदि हामीले कसैलाई मान्छे जसरी हेर्न सकेनौँ र उसको अस्तित्व स्विकार्न सकेनौँ भने त्यो हाम्रो आफ्नो कमजोरी हुन्छ।
विवाह व्यक्तिगत अनि ऐच्छिक विषयवस्तु हो
विवाह व्यक्तिगत अनि ऐच्छिक विषयवस्तु हो। कुनै मान्छे स्वजातीय या अन्तर्जातीय विवाह गर्न चाहन्छ भन्ने उसको आफ्नो व्यक्तिगत विचार हो। हामीले आफ्नो तर्फबाट केवल प्रत्येक व्यक्तिको निर्णयको सम्मान गर्न सक्छौँ। यदि कुनै व्यक्ति उस्तै परम्परा, धर्म-संस्कृति अनि उस्तै अनुभव हुनाले आफ्नै जातमा विवाह गर्न चाहन्छ भने त्यो उसको आफ्नो व्यक्तिगत विचार हो र यसलाई गलत भनेर परिभाषित गर्न मिल्दैन। तर जब यही धारणा कुनै जात ‘माथिल्लो‘ अथवा ‘तल्लो‘ हुन्छ भन्ने मान्यताले निर्धारित हुन्छ भने त्योचाँहि गलत हो। यदि कुनै कथित ‘तल्लो‘ जातमा विवाह गर्नाकै कारणले कोही मान्छे आफ्नो परिवारबाट टाढिनुपर्छ अथवा उसको परिवारले सामाजिक अपहेलना सहनु पर्छ भने त्यो अन्याय हो। अनि यदि कोही मान्छे कथित ‘माथिल्लो‘ जातमा विवाह गर्न चाहनुकै कारणले मरिन्छ भने त्यो अपराध हो ।
अन्त्यमा
जातीय विभेद कुनै एक समुदायको मात्र समस्या नभएर सम्पूर्ण समाजको समस्या हो र यस बारेमा जनचेतना जगाउनु हामी सबैको कर्तव्य हो। यस मान्यताका कारण कतिपय ठाउँहरूमा अमानवीय घटनाहरू घटेका छन्। यस्ता घटनाहरूले मानवतालाई नै सङ्कटमा पार्दछन्। थप, न्यायको परिभाषा सबैलाई एकै हुन्छ। हामी नेपालको सिमाना मिचिँदा आक्रोशित हुन्छौँ र अन्तर्राष्ट्रिय अदालत जानेसम्मको कुरा गर्छौ। अन्य देशले नेपालका लागि किन बोलिदिउन्? यदि कसैले आफूमाथि ‘रेसिस्ट’ व्यवहार देखायो भने त्यस व्यवहारलाई गलत कसरी भन्ने? महिला अधिकारको बारेमा आवाज कसरी उठाउने? के कुनै कुरा आफू अथवा आफू जस्तै कसैलाई पर्दा मात्र गलत हुन्छ र? महिला हिंसाको विरुद्द पुरुषहरूले पनि त बोलेका छन्। के जातीय विभेदबारेमा जनचेतना जगाउनु र यस विभेद अन्त्यका लागि पहल गर्नु हामी सबैको कर्तव्य हैन र? अहिले विश्ववन्धुत्वको अवधारणामा अगाडि बढिरहेको समयमा हामी कसरी आफ्नै समाजमा भाइचारा नबनाई अगाडि बढ्न सक्छौँ र?
हामीले मानवीय सम्वेदना राख्नुपर्छ। हालको कोरोना महामारीको बेला नेपाल अनि विश्वभरि नै मानवीय सम्वेदनाको खाँचो देखियो। महामारी र सामाजिक मुद्दाको विषयमा बेलायतका राजकुमार ह्यारीले महामारीको सन्दर्भमा भनेको ‘कुनै एक व्यक्तिलाई कष्ट हुनु भनेको हामी सबैलाई कष्ट हुनु हो’ भन्ने सिद्धान्त लागु हुँदोरहेछ। जातीय विभेदका कारणले कोही मारिदा त्यसका छिटाहरूले हामी सबैलाई प्रहार गर्दा रहेछन् र हाम्रो चेतनामाथि प्रश्न उठाउँदो रहेछन् । भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन हामीले आफ्नो अनि समाजको सोच बदल्नुपर्ने हुन्छ। पक्कै पनि यो कार्य सजिलो छैन र यसमा समाजले हामीलाई सिकाएका पाठ र यहाँ व्याप्त परिभाषाहरू बाधा भएर आउने छन्। तर हामीले आफ्नो तर्फबाट भने यस्ता परिभाषाहरूभन्दा माथि उभिएर सबै मान्छेहरूलाई समान रूपले हेर्न मिहिनत गरिनैरहनुपर्ने हुन्छ। यसरी मात्र हामी एक समाबेसी अनि न्यायिक समाजको स्थापना गर्न सक्छौ। पृथ्वीनारायण शाहले भनेजस्तै नेपाल विभिन्न जात र वर्णको साझा फूलबारी हो। हामी सबैको आ-आफ्नै विशिष्टता छ। जब हामी एक-आपसमा मिल्छौँ र एक-अर्काको सम्मान गर्छौ तब यो फूलबारी राम्रो बन्छ। तर यदि हामी एक-आपसमा मिलेनौँ र एक-अर्काको सम्मान गर्न सकेनौँ भने यो फूलबारी तहस-नहस हुन्छ।
(नोट: यस लेखमा आफ्ना सुझावहरू प्रदान गरेकोमा म मेरो साथी सुमन राईलाई हार्दिक धन्यवाद दिन चाहन्छु।)
लेखकको सम्वन्धमा