सुन्दरादेवीले गर्‍यो खेलकुद सप्ताह प्रारम्भ

यही असोज २८ गते बुधवारदेखि सुन्दरादेवी माध्यमिक विद्यालय, तादी- ४, नुवाकोटले खेलकुद सप्ताह प्रारम्भ गरेको छ । विद्यालयका प्रधानाध्यापक राजन पाठक  र पूर्व वि.व्य.स. अध्यक्ष साधुराम भण्डारीले बल सर्भिस गरेर कार्यक्रम उद्‌‌घाटन गर्नुभएको थियो । उक्त कार्यक्रम २०८२/६/३१ गते शुक्रवारसम्म सञ्चालन हुने छ।

यस खेलकुद सप्ताह कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएका छन् । विद्यालयमा रहेका हिलारी, पासाङ ल्हामु, सगरमाथा र तेन्जिङ सदन गरी विद्यार्थीहरूलाई चार सदनमा विभाजन गरी प्रतियोगिता गराइँदै छ । ४ दिन सम्म सञ्चालन हुने यस कार्यक्रममा विभिन्न खेलहरू समावेश गरिएका छन् ।

अन्तरसदन भलिबल, कबडी, रिले दौड, सटपुट, डोटी तान्नेलगायतका खेलमा विद्यार्थीहरू सहभागी हुन पाउने छन् । नर्सरीदेखि कक्षा २ सम्मका बालबालिकालाई बेलुन फुटाइ, चक्लेट खाने, बिस्कुट खाने र मकै टिप्ने खेल खेलाइने छ । कक्षा तीनदेखि पाँचसम्म चम्चा-गुच्चा दौड, सियोमा धागो उन्ने, १०० मिटर दौड र म्युजिकल चेयर खेलहरू खेलाइने छन् ।

कार्यक्रमको पहिलो दिन अर्थात् असोज २८ गते कक्षा ६ देखि १० सम्म पहिलो चरणको भलिबल खेल सञ्‍चालन गरियो । नर्सरीदेखि कक्षा २ सम्म बेलुन फुटाइ र चकलेट खाने खेल सम्पन्न गरिए । यसैगरी कक्षा तीनदेखि पाँचसम्म चम्चा-गुच्चा दौड र सियोमा धागो उन्ने खेल सम्पन्न भएका छन् ।

पहिलो दिनको खेलमा सम्पूर्ण खेलाडी भाइबहिनीहरूको सक्रिय सह‌भागिता रहेको थियो । खेल खेल्ने खेलाडीले खेलिरहँदा दर्शक विद्यार्थी भाइबहिनीहरूले हौसला दिइरहेका थिए । खेल मैदानका बिचमा खेलाडीहरू खेल्दै गर्दा मैदानका छेउछाउमा रहेका विद्यार्थीहरू चर्को घामलाई पर्वाह नगरी खुसी मुद्रामा हुटिङ गरेर कार्यक्रमलाई रोचक बनाइरहेका थिए ।

दर्शक विद्यार्थीका बिचमा बसेर सम्पूर्ण शिक्षकहरू रमाइलो मानी खेल हेर्दै  नानीबाबुहरूलाई खेल खेल्नका लागि तयारी गराइरहनुभएको थियो ।यसरी पहिलो दिनको कार्यक्रम निकै उत्साहजनक रूपमा सम्पन्न भयो ।

खेलको अन्त्यमा सबै सदन‌का विद्यार्थीहरूले आआफ्ना सदनका शिक्षकहरूसँग बसी ३० मिनेटसम्म खेलको समीक्षात्मक छलफल गरेका थिए । विद्यालयका प्रधयनाध्यापक राजन पाठकले खेलाडी, दर्शक तथा सम्पूर्ण विद्यार्थीहरू र शिक्षक कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसै क्रममा उहाँले खेलकुदको महत्त्व दर्शाउँदै विद्यार्थीहरूलाई खेलप्रति प्रोत्साहित गर्नुभयो । उहाँले आगामी दिनका खेलमा पनि शिक्षक तथा विद्यार्थीको यस्तै सक्रिय सहभागिता रहने अपेक्षा गर्दै पहिलो दिनको खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो ।