September 29, 2025, Monday
२०८२ आश्विन १४, मंगलवार

अध्यक्षलाई चिठी

श्रद्धेय अध्यक्षज्यू,

भाद्र २३ र २४ गतेको जेन जी आन्दोलन  केवल केही दिनको विरोध कार्यक्रम थिएन, त्यो नेपालका नयाँ पुस्ताले ल्याएको एउटा ऐतिहासिक मोड थियो । भ्रष्टाचार, अपारदर्शिता, सुशासनको अभाव र अवसरको असमानताविरुद्ध उठेको यो आन्दोलनले देशलाई नयाँ दृष्टिकोणले सोच्न बाध्य बनाएको छ । नयाँ पुस्ताले प्रष्ट सन्देश दिएको छ- पुरानो शैली र अपूर्ण वाचा अब स्वीकार्य छैनन् । परिणाम चाहिन्छ, पारदर्शिता चाहिन्छ, जवाफदेहिता चाहिन्छ ।

यही सन्दर्भमा, म एक सचेत कार्यकर्ता भएर तपाईंलाई यो पत्र लेख्दै छु । “समृद्ध नेपाल, सुखी नेपाली” को महान् सोचसहित एमालेले जनतामा ठुलो अपेक्षा जगाएको थियो । राष्ट्रियता, स्वाधीनता, संविधान निर्माणदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्ममा हाम्रो पार्टीको भूमिका प्रशंसनीय रह्यो । तर, त्यतिले मात्र  जनताको अपेक्षा पुरा भएको छैन; देशमा भ्रष्टाचार र बेथिति झन् झन् मौलाइरह्यो ।

हिजोका अस्थिर सरकारहरूले ठुला आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाउन सकेनन् । पूर्व पश्चिम रेलमार्गले गति लिन सकेन, ४०/५० किलोमिटर फरकमा रहेका तीनओटा समानान्तर राजमार्ग र रेलमार्गको योजना आर्थिक विकास र समृद्धिका लागि थिए कि विलासिताका लागि भन्ने प्रश्न अझै अनुत्तरित छ । निजगढ विमानस्थल निरन्तर विवाद र ढिलासुस्तीमा फसिरहेको छ, बुढीगण्डकी जलविद्युत् आयोजना सुरु हुन सकेको छैन । पशुपति क्षेत्रको गुरुयोजना पनि कागजी योजनामै सीमित छ भने सिक्टा, बबई, रानी जमरा, महाकालीजस्ता सिँचाइ आयोजनाले दशकौँदेखि किसानलाई आशा त जगाइरहेका छन् तर परिणाम दिन सकेका छैनन् ।

सिँचाइ सुविधा पुगेका ठाउँमा पनि किसान किन कृषि पेसामा टिक्न सकेनन् ? किन कृषि अझै परम्परागत रह्यो र व्यावसायिक बन्न सकेन ? बजार, मूल्य स्थायित्व, भण्डारण, बिमा आदि आधारभूत पूर्वाधार किन सुनिश्चित भएनन् ? यी प्रश्नहरूको जवाफ केवल नेताहरूका भाषणले हुँदैन, स्पष्ट परिणामले मात्र हुन्छ ।

त्यसैगरी, बजेट विनियोजनमा पनि गम्भीर प्रश्न छन् । राष्ट्रिय प्राथमिकताभन्दा व्यक्तिगत निर्वाचन क्षेत्रमा बढी केन्द्रित भएको आरोपले जनताको विश्वास कमजोर बनाएको छ । के १/२ जना नेताको क्षेत्रमा बजेट केन्द्रित गर्दा देशको समग्र अर्थतन्त्र उकास्न सकिन्छ ? के यसरी “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य पूरा हुन्छ ?

सुशासनको सवाल अझै गम्भीर छ । दलाल पुँजीवाद, विचौलिया प्रवृत्ति र भ्रष्टाचारले राष्ट्रिय पुँजीको विकासलाई अवरुद्ध बनाइरहेका छन् । हिजो हाम्रो पार्टीले नेतृत्वमा हुँदा पनि यस्ता समस्यामा ठोस हस्तक्षेप गर्न सकेन । आत्ममूल्याङ्कन नगर्नु, पारदर्शिता कायम नगर्नु र समयमै जनताको गुनासो सम्बोधन नगर्नु जस्ता कमजोरीलाई अब स्विकार्नै पर्छ ।

अध्यक्षज्यू,

आज नेपाललाई ठुला भाषण वा घोषणाले होइन, ठोस परिणामले मात्रै अघि बढाउन सकिन्छ । जनता विशेषगरी नयाँ पुस्ता, अब घोषणाले सन्तुष्ट हुँदैनन् । उनीहरू काम देख्न चाहन्छन्, परिणाम अनुभव गर्न चाहन्छन् । यसका लागि

  • सरकारको स्थायित्वको सुनिश्चितता गर्नुपर्ने,
  • आवश्यक संवैधानिक व्यवस्थामा पुनर्विचार गर्नुपर्ने,
  • ठुला आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने राजनीतिक इच्छाशक्ति,
  • बजेटलाई राष्ट्रिय प्राथमिकतामा केन्द्रीत गर्ने नीति,
  • कृषि, उद्योग, ऊर्जा र पर्यटनलाई आत्मनिर्भर र निर्यातमुखी बनाउने दृष्टि,
  • सुशासन र पारदर्शिताका लागि डिजिटल प्रणाली र जवाफदेही नेतृत्व,
  • नयाँ पुस्तालाई नीतिनिर्माणमा सहभागी गराउने साहसिक निर्णय, यी अब अपरिहार्य छन्।

अध्यक्षज्यू,
हिजो एमालेले इतिहास रचेको थियो । तर, इतिहासमा मात्र अडिनु आज पर्याप्त छैन । नयाँ पुस्ताको ऊर्जा, विचार र आकाङ्क्षालाई सम्मान गर्दै नेतृत्व हस्तान्तरण गर्ने समय आएको छ । पुरानो पुस्ताले विश्राम लिएर जिम्मेवारी नयाँ पुस्तालाई सुम्पे मात्र देश, जनता र पार्टीको भलो हुने छ । यसले मात्र एमालेलाई फेरि प्रगतिशील, परिवर्तनकारी र भविष्यदर्शी शक्तिको रूपमा स्थापित गर्ने छ ।

अतः म तपाईँलाई यस पत्रमार्फत आग्रह गर्छु पार्टीले विगतका कमजोरी स्विकारोस्, आत्ममूल्याङ्कन गरोस्, विकास निर्माणका आयोजनाहरूलाई परिणाममा बदलिएर देशलाई अघि बढाउने ठोस प्रतिबद्धता गरोस् र नयाँ पुस्तालाई नेतृत्व सम्हाल्ने ढोका खोलियोस् । त्यसो भए मात्र “समृद्ध नेपाल, सुखी नेपाली” को सपना साकार हुने छ ।

आदरपूर्वक,
एक सचेत कार्यकर्ता