July 10, 2025, Thursday
२०८२ असार २६, बिहीबार

चुङमाङ गाउँको सम्झनामा

आउँछ याद बिर्सिन गारो छ,
हामी सबलाई त्यै चुङमाङ प्यारो छ ।

हिलेदेखि  मुनि पर्छ चुङमाङ हाम्रो गाउँ
सबैलाई प्यारो लाग्ने जन्मिएको ठाउँ
पूर्वतिर उत्तरपानी पश्चिम अरुण नदी
तकुवा, मुगा त्यतै झर्छन् सललल बगी 
तकुवा मुगा नकुवा साथी, गम्भिरे छ दोभानको शिरमाथि ।

दक्षिणको सिमाना छ आँखिसल्ला पाटो
उत्तरतिर मुगा खोला पानी झर्ने बाटो
न त खाल्टो न त भिर सबैतिर राम्रो
न त जाडो न त गर्मी प्यारो चुङमाङ हाम्रो
आउँछ याद बिर्सिन गारो छ, हामी सबलाई त्यै चुङमाङ प्यारो छ ।

नौ जातिको बसोबास छ प्रायः चुङमाङभरि
आयस्रोत बढाएका सब्जी खेती गरी
कामी, दमाई, क्षेत्री, बाहुन, सार्की, मगर, राई
तामङ, खिम्बू बसेका छ्न् बनी साथीभाइ
चुङमाङलाई नगरौँ हेला, पछुताउनु पर्ने छ कोही बेला ।

तलतिर दाङसिङ पाटो पारि सुर्फुङ गाउँ
लिची, कटहर, मह खान लाग्छ त्यतै जाऊँ
गम्भीरेको माथितिर खत्रीको छ गाउँ
चारैतिर हराभरा रमणीय ठाउँ
रमाइलो छ बेलहारे गाउमा, झन् रमाइलो चुङसुङको डाँडामा ।

बिचमा छ निकै ठुलो टोल कुथुमीको
त्यहीँबाट सबै सिक्थे ज्ञानगुनको सिको
गायक, वकिल, डाक्टर आदि प्रधानमन्त्रीसम्म
उत्पादित हाम्रो गाउँ नमानौँ अचम्म
धेरै गर्थे आउँने र जाने पौडेल, दाहाल, वाग्ले र न्यौपाने ।

आठ नम्बरको पनि सबले लिनै पर्छ नाउँ
रेडक्रसको भवन त्यहीँ  सेवा दिने ठाउँ
कट्टेल, रोइला, पराजुली, सुवेदीका घर
बाँस्कोटा र पोख्रेल, काफ्ले विविध छन् थर
सबै आफ्ना कोही छैन टाडाको, सम्झना छ रोटेपिङ डाँडाको ।

कुनै बस्ती कुनै ठाँडो कम रमाइलो छैन
जताततै कृषि बाली सबैलाई छ चैन
अलैँची र चिया खेती अम्लिसोका घारी
जसको हेर्यो टनाटन छ खाली छैनन् बारी
भुजेल, ढकाल, चापागाईँ, धमाला, जता हेर्यो कमालै  कमाल ।

साबिक पाँच नम्बर पर्‍यो चुङमाङको चोक
मावि स्कुल, अफिस पसल यहीँ सबै थोक
कृषि फाराम, भेटेनरी, वडा कार्यालय
चल्तीको तिम्सिना गाउँ सबैको होस् जय
आउँछ याद बिर्सिन गारो, शीतलु त्यो मुन्सीको चौतारो ।

आले गाउँको उत्तरपूर्व पर्छन् ठुला गाउँ,
लिसिम्बु र मातिम्बुले परिचित ठाउँ
आलु अदुवा अम्लिसोले आय बढाएर,
हाँसी खुसी बसेका छन् सधैँ रमाएर
रसिलो छ लिसिम्बु जान, उत्तरपानी त्यसैको सिरान ।

तलतिर सखुवा घारी माथि उत्तिस सल्ला
न त त्यहाँ झगडा छ, न त ठुलो हल्ला
बालापनमा हाँसी खुसी रमाएको ठाउँ
क्यै कुरामा कमी छैन प्यारो चुङमाङ गाउँ
मार्गापारि चप्लेँटी बर, गाडी जान्छ त्यहीँबाट सरर ।

‘चुङमाङ गाउँको सम्झनामा’ शीर्षक जुराएर
जानेसम्म लेखेको छु दिमाग फुराएर
नाम मेरो छविलाल पोख्रेल पर्‍यो थर
चुङमाङ गाउँ जन्मथलो विराटनगर घर
आउँछ याद बिर्सिन गारो छ, हामी सबलाई त्यै चुङमाङ प्यारो छ ।

जति मित्र जानुभयो छोडी गाउँलाई
बेलाबखत सम्झिदिनोस् जन्मभूमिलाई
केही कुराको कमी  नहोस् सबै जुटोस् टम्म
चुङमाङ गाउँ फलोस् फुलोस् जुनीजुनीसम्म
आउँछ याद बिर्सिन गारो छ, हामी सबलाई त्यै चुङमाङ प्यारो छ ।