‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’ शशीविक्रम शाहलाई

काठमाडौँ । ‘भीमदर्शन रोका स्मृति कोष’ ले शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मानित गरेको छ ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित एक कार्यक्रममा कोषले ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’ वरिष्ठ कलाकार शशीविक्रम शाहलाई समर्पण गर्यो । सोही अवसरमा ‘भीमदर्शन रोका समाजसेवा सम्मान’ ज्येष्ठ नागरिकहरूका क्षेत्रमा काम गर्ने संस्था ‘साहरा ज्येष्ठ नागरिक समाज, पनौती – १०, खोपासी’ लाई अर्पण गरियो । दुवै सम्मानका साथ ५० हजार १०० नगद राशि पनि प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरेले साहित्यकार तथा आदर्श गुरु भीमदर्शन रोका, कलाकार शशीविक्रम शाह तथा साहरा ज्येष्ठ नागरिक समाजका बारेमा चर्चा गर्दै योग्य व्यक्ति तथा संस्थालाई योग्य सम्मान अर्पण गरिएकोमा खुसी प्रकट गर्नुभयो ।
सम्मानित व्यक्तित्व शाशीविक्रम शाहले सम्मानित हुँदा आफू निकै प्रेरित भएको जानकारी दिँदै अबका दिनमा पनि निकै सक्रियताका साथ काम गर्ने विचार प्रकट गर्नुभयो । ‘साहरा ज्येष्ठ नागरिक समाज’ का प्रतिनिधि विष्णु सिलवालले संस्थाका गतिविधिबारे जानकारी दिँदै सम्मान तथा पुरस्कार अर्पण गरेकोमा धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा विरिष्ठ कलाकार कृष्ण मानन्धरले शशीविक्रम शाहको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने नेपाल मुक्तक प्रतिष्ठनका अध्यक्ष रामकाजी कोने, भीमदर्शन रोका स्मृति कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठले पनि आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
स्मृतिकोषका उपाध्यक्ष दीपेन्द्रनाथ शर्माको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कोषका कोषाध्यक्ष अनिलमान महर्जनले धन्यवाद ज्ञापनसहित कोषको स्थापनादेखि अहिलेसम्मका मुख्य कार्यबारे जानकारी दिनुभयो ।

कोषका सचिव यादव भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले अध्यक्षता गर्नुभएको थियो । उहाँले गुरु-शिष्य सम्बन्ध कमजोर बन्दै गएको वर्तमान समयमा सिद्धार्थ वनस्थली स्कुल, २०४० को एसएलसी ब्याजका विद्यार्थीले ‘भीमदर्शन रोका स्मृति कोष’ स्थापना गरी आदर्श गुरुको अनुकरणीय स्मरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।
प्रतिकृया दिनुहोस्