मनोहर माध्यमिक विद्यालय टोखामा स्वास्थ्य प्रदर्शनी
असोज, ४ काठमाडौँ ।
काठमाडौँको टोखा – १० मा अवस्थित मनोहर माध्यमिक विद्यालयले आज स्वास्थ्य प्रदर्शनीको कार्यक्रम सम्पन्न गरेको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको सो कार्यक्रम विद्यालय नर्स कविशा श्रेष्ठले संयोजन गर्नुभएको थियो ।
६०० भन्दा बढी विद्यार्थी, अभिभावक र शिक्षकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम पोषण, पत्रु खाना, पानी शुद्धीकरण, स्वस्थकर खाना, वायु प्रदूषण, वातावरण सरसफाइ, महिनावारी स्वच्छता, हात धुने सही तरीका, मुख स्वास्थ्यसम्बन्धी शीर्षकमा आधारित थियो । यो प्रदर्शनी दैनिक जीवनका लागि अति आवश्यक र ज्ञानवर्धक रहेको छ । हालको समयलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रम आम मानिसहरूमा झाडापखाला, डेंगुलगायतका सर्ने तथा नसर्ने रोगहरूका बारेमा सचेत गराउन सहयोगी देखिन्छ ।
कार्यक्रममा पानी शुद्धीकरण, व्यक्तिगत र वातावरणीय सरसफाइ, हात धुने तरिका, पोषणयुक्त खाना, ‘हरेक बार खाना चार’, पत्रु खानाको असर आदिका बारेमा जानकारी दिँदै दाँत माझ्ने सही तरिका प्रस्तुत गरियो । यसका साथै पत्रु खाना तथा बढ्दो वायु प्रदूषणले स्वस्थ्यमा पुर्याएका असरहरू, नसर्ने रोगहरुको प्रकोप पनि उजागर गरियो । यस्तै विभिन्न रोगबाट बच्न र बचाउँनका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम योजना गरिएको जानकारी यस कार्यक्रमका सहजकर्ता एवम् विद्यालय नर्स कविशा श्रेष्ठले दिनुभयो । उहाँले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ्य राख्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा टोखा नपा वडा नम्बर १० का वडाध्यक्ष मचाकाजी महर्जनले यस्ता कार्यक्रमले विद्यार्थीलाई बौद्धिक, रचनात्मक तथा सिर्जनात्मक सिपको विकास गर्दै विद्यार्थी सँगै अभिभावकलाई समेत स्वास्थ राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसै गरी विद्यालयका प्र.अ. कमला पौडेलका विचारमा यो कार्यक्रम विद्यार्थी र अभिभावक दुवैका लागि लाभदायक देखिन्छ ।
शिक्षक तथा विद्यार्थीको सक्रिय सहभागितामा दिउसो एक तिस बजेदेखि सञ्चालन भएको उक्त कार्यक्रम तीन तिसमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्