July 20, 2024, Saturday
२०८१ श्रावण ६, आईतवार

हारे उत्पात हुन्छ

मैले राजा फालेको हुँ आफैँ राजा हुन
विपक्षीले लाउनुपर्छ सधैँभरि गुन
नत्र भने बिजोक हुन्छ मेरा सन्ततिको
मलाई कुनै चासो छैन राष्ट्रउन्नतिको ।

नाइकेले भन्या मानी भटाभट दिनू
निष्ठा सारा बिर्सिएर थुरुथुरु हुनू
अटेर गरी अन्त दिए आउँछ विपत् ठुलो
रिस उठे सल्काइदिन्छु देशैभरि झुलो ।

मैले भन्या मान्यौ भने उत्साहित हुन्छु
टालाटुली बटुलेर बुख्याँचालाई चुन्छु
टिकाउँछु बिस वर्ष तिम्रा नाइकेलाई
नत्र भने यसपालि गरिदिन्छु बाई बाई ।

पोहोर साल तोरी कोदो मिसाएर पेल्दा
न त तेल थोपो आयो न भो रोटी बेल्दा
आखिरमा बर्बाद भयो सकिएन खान
मैले हारे उत्पात हुन्छ यति कुरा जान ।