कहाँ छौ तिमी ?

किन बोल्दैनौ तिमी ?
आखिर कहाँ छौ तिमी ?
संसारका हरेक कुनाकाप्चा पुगेँ
तिम्रै खोजीमा भक्कानिएर भौतारिएर हिडेँ
बरु शत्रु पाएँ पाइलैपिच्छे
तर, खै कस्तो निष्ठुरी मन रहेछ तिम्रो
न त मैले तिमीलाई भेट्न नै पाएँ
न त मैले तिमीसँग बात मार्न नै पाएँ ।
मेरो अस्तित्व तिमीले दिएका होइनौ र ?
मेरा हरेक जितमा तिम्रो साथ थिएन र ?
मलाई प्रेरित गरी हरपल मुस्कुराउन सिकायौ
तर तिमी टाढा गएर त्यो मुस्कान पनि फिर्ता लग्यौ है।
तिमी अधि बढ साथ म दिने छु भनी
सारालाई भन्थ्यौ त !
आज मेरो यात्रामा तिम्रो साथ त के
तिम्रो पहिचान पनि बिलाइसक्यो
कहाँ छौ तिमी ?
पानीको वेगले पक्कै पनि तिमीलाई बगाएन होला
हावाको झोक्काले पक्कै पनि उडाएन होला
दानी थियौ, हो स मान्छु
मनकारी थियौ, हो म पत्याउँछु
सत्यताको प्रतीक तिमी
सहयोगी व्यक्ति तिमी
साराका प्रिय हौ भनी म ठान्दछु
त्यसैले त आज यत्रतत्र तिम्रो नाम गुन्जिँदा
तिमीले प्रतिष्ठा कमाउँदा मलाई बिर्सेछौ नि।
तिम्रा बारेमा अरूले गलत कुरा गर्दा
आवाज उठाउने म
आज कसैले खै त तिमी भन्दा
के जवाफ दिऊँ म ?
मस्तिष्कमा यादहरूले फन्को मार्दै गर्दा
जीवनमा तिम्रो अनुपस्थिति मैले बुन्दै जाँदा
पीडाले मन बेस्सरी पोल्छ
तिमीसँग भेट्ने रहर अझै जाग्छ ।
लेखकको सम्वन्धमा