नमिलेका ढुङ्गाहरू
चम्किनु र धमिलिनु मध्ये
समयको यो समुद्र मन्थनमा
कहिले उत्रँदै त कहिले डुब्दै
कहिले भिज्दै त कहिले सुक्दै
सायद एउटा अर्को समय जन्मिँदै छ
त्यहीँ छेवैमा पसारिएको खोक्रो बगरमा
म मुकुन्डो लगाएर
नमिलेका तिरस्कृत ढुङ्गाहरू बटुल्दै छु
यी तिरस्कृत ढुङ्गाहरूको रासमा
म मेरा नमिलेका भावहरू खोज्दै छु
मैले बनाएको एउटा सिङ्गो थुप्रो
नमिलेका ढुङ्गाहरूको
कुनै अर्को युगमा मान्छे बन्ने छ
त्यही मान्छे अर्को युगमा
टुक्रा टुक्रा ढुङ्गा भई छरिएको
‘म’ टिप्ने छ।
अनि एउटा जीवन चक्र
ढुङ्गाबाट सग्लो मान्छे बन्ने
र मान्छे टुक्रिएर नमिलेका ढुङ्गा बन्ने
यो निर्मम र कुरूप प्रकिया
र यो प्रक्रियाबिचको समयको विस्तार
हो यही प्रक्रिया र विस्तार
यो शून्यदेखि सुरु भएको यो यात्रा
व्रह्माण्डको अन्त्यमा गएर सकिएपछि
यी नमिलेका ढुङ्गाहरूबाट
थोरै जीवन सापटी लिएर
म मेरो हृदयको हिरण्यगर्भमा
तिम्रा लागि
एउटा सूर्यमुखी फुलाउने छु ।
लेखकको सम्वन्धमा