May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना !

सङ्घर्ष भोगहरूको अजमाइ पुस्ता
समृद्ध ज्ञान, सीप बात बनाइ बुझ्दा
जोगाइ सम्पति सबै रति हैन भोगी
सिक्दै मिल्यो ग्रहण भो जीवनोपयोगी ।

हे प्रेरणा र अनुशीलन पुञ्ज पात्र
हे ज्येष्ठ नागरिकको अनुभूति मात्र
जे जे अथाह सीप, ज्ञान र बुद्धि बिर्ता
लाग्ने छ अर्थ भरिपूर्ण बनाउ तीर्थ ।

यी ज्येष्ठ नागरिकलाई दिए सुरक्षा
त्यै काल स्मरण भो दिन खास पक्ष
हामी सबै अति सरोकार उठाइ चारा
द्यौ ज्येष्ठ नागरिकको अधिकार सारा ।

संस्था समाज परिवार मिलेर गर्दा
चाहिन्छ यो समयमा हेरचाह बढ्ता
तीनै मिले तह सबै सरकार चासो
ल्याएर रूप समता सहकार्य हाँसो ।

यी ज्येष्ठ नागरिकको महिमा छ धेरै
सर्दै बढेर धनदौलत आज मेरै
सम्मान गर्नु तिनको अभिभार हाम्रो
यो सभ्यता लिइ बढोस् पहिचान राम्रो ।

सुस्वास्थ्य, दीर्घजिवी जीवनयापनैको
बाँचून् मर्यादित बनी शुभ यो मनैको
एघार पौष दिनको सदभावना छ
सन्देश यो हित बनोस् शुभकामना छ ।