अनि बग्छ काव्य

मात्रा मिलाइकन वर्णहरू समान
झुल्किन्छ काव्य-प्रतिभा जब छन्दबाट ।
भारी बनाइकन शब्द सुभावनाले
शोभा बनी अधरको अनि बग्छ काव्य ।।१।।

समृद्ध पूर्वजनका कविता पढेर
साहित्य शिल्प रचनाहरूमा गमेर।
आफ्नो सुदीर्घ तपले अनि साधनाले
देखिन्छ सार्थ कवि त्यो अनि बग्छ काव्य ।।२।।

संसार सार सब यो लयमा बगेको –
मर्मज्ञ देख्छ गति यो जगमा भुलेर।
सर्वज्ञ ईश पछिको कविलाइ सम्झ
झङ्कार सुन्छ जगको र त बग्छ काव्य ।।३।।

गुञ्जन्छ एक लयमा झरना झरर्र
बग्छन् सदा पवन वेग धरी हरर्र।
बग्छिन् प्रवाहपथ बागमती छलल्ल
झङ्कार सुन्छ कविले र त बग्छ काव्य ।।४।। 

संसार बद्ध विधिमा र छ रम्य सारा
हुन्थ्यो स्वतन्त्र यदि यो कति घात हुन्थ्यो।
सौन्दर्य मूल विषय स्थिति हो व्यवस्था
स्वच्छन्द प्रीति जसरी पनि दुख्ख दिन्छ ।।५।। 

फुस्रो समेटिकन भावहरू प्रशस्त
शैलीविहीन रचना कसरी अडिन्छ।
खोक्रा अनित्य मनका भरिला तरङ्‍ग-
थुप्रो सबै  शिशिर आउनुपूर्व उड्छ ।।६।।

आफ्ना विचार मनका भरिला स्व-भावा-
लङ्कार साथ कविता श्रुतितुल्य दिव्य।
चुर्लुम्म भाव रसिलो रसमा डुबेको
त्यो भाव छन्दसँग साथ लिई उभेको ।।७।।                        

भाका मिलाइ गतिलो लयबद्ध पारी
नाना प्रतीक अनि विम्बहरू थुपारी ।
देखिन्छ टक्क दुनियाँ जब शब्दबाट
साहित्य बन्छ अठिलो अनि बग्छ काव्य ।।८।।

छन्द – वसन्ततिलका