सत्यकोटकी परी
“आमा ! आज परीको कथा सुन्ने !” सानी नानीले आमासँग आग्रह गरिन् ।
सानी नानीका केशमा औँलाहरू नचाउँदै उसकी आमाले कथा सुरु गरिन् ।
एकादेशमा सत्यकोट नाम गरेको एउटा गाउँ थियो । त्यहाँ एउटी परी बस्थी । उसका न पखेटा थिए न जादुई छडी थियो ।
“त्यस्ता नि कतै परी हुन्छन् ?” सानीलाई परीको चित्रण मन नपरेको प्रस्टै बुझिन्थ्यो ।
“सत्यकोटका परी त्यस्तै हुन्छन् ।” आमाले कथा अघि बढाउन चाहिन् ।
परी निकै ठुलो सपना देख्थी । बादलभन्दा धेरै माथि उड्न चाहन्थी । उसलाई थाहा थियो सपना देख्दैमा पूरा हुने कुरा होइन । त्यसैले हरदिन घोर तपस्या गर्थी; दत्तचित्त भई कर्मदेवको पूजा गरिरहन्थी । कर्मदेवले उसलाई हरेकदिन एक प्वाँख दिन्थे । ऊ ती प्वाँखलाई आफ्नो जिउमा बडो जतनसाथ टाँस्दथी । उसलाई विश्वास थियो, यसैगरी कुनै दिन ती प्वाँखबाट एउटा बलियो, भरपर्दो पखेटा बन्ने छ जसको सहाराले ऊ क्षितिजपारिको संसारमा पुग्न सफल हुने छे । चन्द्रमालाई निकै नजिकबाट अघाउन्जेल हेर्ने छे ।
एक दिन अचानक एउटा ब्वाँसाले परीमाथि आक्रमण गर्यो । त्यसले परीका प्रत्येक प्वाँख छालैसँग उखेलेर फ्याँकिदियो । छरिएका मासुका टुक्राहरू र बगेको रगतको खोलाभित्र छट्पटाइरहेकी परीले मृत्युलाई बडो प्रेमपूर्वक निम्तो दिई तर अँह ऊ मरिन । बरु छरिएका रक्ताम्य प्वाँखहरूबिच अर्की एउटी सानी परी भेटिई । त्यो सानी परीमा ब्वाँसाको झलक देखेर परीलाई भित्रैदेखी घृणा पलाएर आयो । त्यस सानी परीलाई त्यही झाडीमा फालिदिऊँ वा खोलामा बगाइदिऊँ जस्तो लाग्यो । आखिर परी न थिई; त्यस सानी परीको निर्दोष मुस्कान र मनमोहक आँखाले उसलाई हराइदिए ।
परीले सोची, ऊ त्यो सानी परीलाई चिल बनाउने छे जसका पखेटाले सपनाको उचाइसम्म पुर्याउन सकुन् साथै नङग्राले आत्मरक्षा गर्न । ऊ अब आफ्नो लागि नभई सानी परीका लागि कर्मदेवलाई पुकार्दै अझै कडा तपस्या गर्न थाली ।
“आमा ! के साँच्चै त्यो परीले सानी परीलाई माया गर्थी त?” सानीका आँखामा शङ्काका धर्साहरू थिए ।
“हो त आफैंलाई भन्दा बढी माया गर्थी । हररात परीका कथा पनि सुनाउँथी।” आमाले पछ्यौरीका छेउले आँखा पुछ्दै सानीको निधार चुमिन् ।
सानी बल्ल प्रसन्न देखिई ।
“अनि के भयो आमा ?”
“आजलाई कथा सकियो । अब नानी ज्ञानी भएर सुत्ने है । बाँकी कथा भोलि सुनाउँला।” सानीकी आमाले बत्ती निभाइन् ।
लेखकको सम्वन्धमा