April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

पानी व्यापारी

हातमा ‘एमआर टी’ चियाको मिठो चुस्की लगाउँदै शुक्रबारे गफमा मस्त हामीलाई हातमा पानीको बोतल बोकेको बङ्‌गाली भाइले “ठन्डा पानी ले लो भाइ” भन्दै छ । कतारको सनैया क्षेत्रमा पर्ने ठुलो बजार ग्रेन्डमल परिसरमा शुक्रबारे छुट्टी मनाउनेहरूको भिडमा पानीको व्यापार गर्न छिरेको बङ्‍गाली भाइलाई मैले पुलुक्क हेरेँ– पुरानो सर्ट, पेन्ट अनि खिइसकेको फितावाले चप्पल, काँधमा एउटा गम्छा भिरेको, कपाल–दाह्री काट्न नभ्याएको जस्तो देखिने उसको एउटा हातमा पानीको बोतल छ अनि अर्को हातको प्लास्टिक झोलाभित्र थप केही बोतलहरू छन् । मैले हातको चिया गिलास देखाउँदै, चाहिँदैन भनेर बुझ्‍नेगरी मुन्टो मात्र हल्लाइदिएँ । बिचरा ऊ पुनः अनुरोध गर्दै थियो तर मेरो साथीले “अभि गरम चाय पिइरहे हें, पानी बादमे पिएंगे” भनिदिएपछि ऊ हिँड्यो चप्पल पड्काउँदै । गफिँदै बसेका  प्रत्येक झुण्डमा जाँदै हातमा भएको पानीको बोतल देखाउँथ्यो अनि बेच्थ्यो पनि । हातको बोतल बेचिसकेपछि अर्को हातमा भएको प्लास्टिक झोलाबाट पानीको बोतल निकालेर पुनः व्यापार सुरु गर्थ्यो । हामी गफिँदै त्यस्तै केही दृष्यहरू हेर्दै थियौँ । पानी बेच्‍ने भाइजस्तै अर्को भाइ हातमा थर्मस र प्लास्टिक गिलास बोकेर चिया बेच्दै थियो । त्यसैगरी अर्को भाइ चुरोट बेच्दै थियो । हेर्दै मायालाग्दा ती भाइहरूको परिश्रम हेर्दा जो कोहीले पनि आफ्नो आवश्यकताअनुसार चिया, चुरोट अनि पानी किनेको देखिन्थ्यो । 

नेपाल फर्किएर दिगो आर्थिक उपार्जनका लागि के काम गर्ने, कसरी गर्ने भनेर हामी छलफल गर्दै थियौं । ती भाइहरू भने पानी, चिया, चुरोट बेच्‍नमा व्यस्त देखिन्थे । पानी बेच्‍ने भाइ हाम्रै वरिपरि घुम्दै थियो । हामीले पनि एक बोतल पानी लियौँ । पानी पिउँदै हामी पुनः छलफलमा व्यस्त भयौं । पानी बेच्‍ने भाइचाहिँ नजिकै रहेको चिया बेच्‍ने भाइसँग बोल्दै थियो, “हम ने तो आज २० कार्टुन से भि ज्यादा पानी बेचलिया ।”