मेरा बुबा !
सन्ध्या चौधरी
मनोहर माध्यमिक विद्यालय
कक्षा : १२
विद्यालयको फिस तिरेको थिएन । बुबालाई भनूँ भन्ने सोचिरहेकी थिएँ । तर, खै केले हो कुन्नि, मैले बुबालाई भन्न नै पाएकी थिइनँ ।
त्यस दिन बिहान म विद्यालय जान आँटेकी थिएँ । बुबा पनि बाहिर निस्कनै लाग्नुभएको थियो । मैले नम्र स्वरमा भनेँ, ‘परीक्षा आउनै लाग्यो । विद्यालयको फिस नतिरेको पनि धेरै भयो बुवा । अब पनि फिस नतिरे त परीक्षामा सामेल हुन पाइँदैन रे ।’
फिस पनि धेरै थिएन । त्यही पैँतिस सय रूपियाँ मात्र हो । सायद बुबासँग पैसा थिएन । त्यसैले बुवाले भन्नुभयो, ‘ल ल केही दिन प्रतीक्षा गर । म पैसा ल्याइदिन्छु ।’
‘हस् बुबा’ भनेर म निसकिएँ ।
केही दिनपछि ‘पैसा ल्याइदिनुभयो बुबा’ भनेर मैले सोधेँ ।
बुबाले पैसा ल्याइदिनुभएको रहेनछ । अब जाँच दिन नपाइने भइयो भनेर मलाई चिन्ताले सताउन थाल्यो । बुबाले पैसा नल्याइदिनुभएकोमा मलाई रिस पनि उठ्यो । मैले रिसाउँदै भनेँ, ‘हिजै मैले भनेको होइन, पैसा ल्याइदिनुस् भनेर । किन नल्याइदिनुभको ?’
मलाई त्यस दिन विद्यालय जान मनै लागेन । मेरा साथीहरूले फिस तिरेर प्रवेशपत्र ल्याइसकेका थिए । साथीहरूका बिचमा प्रवेशपत्र ल्याउन नसक्ने म मात्र थिएँ । मलाई नरमाइलो लाग्यो । त्यस दिन म विद्यालय गइनँ । मलाई बुबासँग अलि अलि रिस पनि उठेको थियो ।
साँझ अबेरसम्म पनि बुबा घर फर्किनुभएन । मैले फोन गरें । तर, फोन उठेन । धेरै चोटिको प्रयासपछि बल्ल फोन उठ्यो । तर बुवाको आवाज थिएन । मलाई शङ्का लाग्यो । ‘फोन उठाउने मान्छे को होला ?’
त्योभन्दा बढी फोनमा बोल्ने मान्छेका आवाजले मेरो मुटु हल्लायो । सारा शरीर काप्न थाल्यो । संसार फनन घुम्यो । आफ्नै शरीर थाम्न मलाई हम्मे भयो । मेरा कोठामा त्यही व्यक्तिको आवाज गुन्जिरह्यो, ‘तिम्रा बुबा जेलमा हुनुहुन्छ ।’
‘आमालाई कसरी सुनाउने यो खबर ?’ म चिन्तित भएँ । तर पनि नसुनाई हुँदैनथ्यो । मुटु दह्रो पारेर आमालाई सुनाएँ ।
आमा कति सारो आत्तिनुभयो । त्यो कुरा म वर्णन गर्नै सक्दिनँ ।
‘के भयो ? कसरी भयो ?’ भन्दै आमा बेसुरमा बरबराउन थाल्नुभयो । हामीले बुकाका लागि केही गर्नै सकेनौँ । कहाँ जाने ? के गर्ने ? कसलाई भन्ने ? हामीले केही निर्णय नै गर्न सकेनौँ । चिन्ता र पीडामा छटपटाइरहेका थियौँ । हरदम बुबालाई सम्झिरहेका थियौँ । बुबा आइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो । अचानक मध्यरातमा बुबा घर फर्किनुभयो । हामीलाई अपार खुसी लाग्यो । संसारका सबै समस्या समाधान भए जस्तो लाग्यो ।
भोलिपल्ट बिहान केही मानिसहरू आए । उनीहरूलाई बुबाले पैसा तिर्नुपर्ने रहेछ । पैसा नतिरेका कारण उनीहरूले नै हिजो बुबालाई अपहरण गरेका रहेछन् । बुबा जेल जानुभएको रहेनछ ।
आमा र म बुबाकै छेउमा थियौँ । ती मानिसहरूले मलाई नराम्रो दृष्टिले हेरिरहे । खासखुस कुरा गरे । अनि घरि घरि बुबालाई धम्क्याए । तीमध्ये एउटाले भन्यो, ‘ठिकै छ । तँसँग पैसा छैन भने केही फरक पइर्दैन । तेरी यति सुन्दर छोरी रहिछ । त्यो हामीलाई दे । भइहाल्यो ।’
बुबा पीडाले रन्थनिनुभयो । तर, उहाँले केही गर्न सक्नुभएन । आफैँलाई सम्हाल्दै पैसा तिर्ने तीन दिनको भाका माग्नुभयो ।
त्यसपछि तीन दिनसम्म पानी पनी नखाई काम गर्नुभयो । बिहान एउटा साहुको काम, दिउसो अर्काको काम अनि राती फरि अर्कै काम । उहाँको शरीर थाकेर लखतरान भएको थयो । त्यो दृष्य म देखिरहेकी थिएँ । तर, उहाँका अनुहारमा अपार खुसी थियो । म त्यप पनि बुझिरहेकी थिएँ ।
मलाई बुबा सम्झाउँदै हुनुहुन्थ्यो, ‘चिन्ता नगर छोरी । म तिम्रो इज्जत गुम्न दिन्नँ । म ती दुष्टहरूका हातमा तिमीलाई सुम्पन सक्दिनँ ।’
बुबाका कुरा सुनेर मेरा आँखा आँसुले भरिए । आमा छेउमा बसेर सुँक्क सुँक्क रुँदै हुनुहुन्थ्यो । बुबाले मेरा आँसु पुस्नुभयो अनि घाम जस्तै उज्यालो अनुहार पारे भन्नुभयो, ‘छोरी, आज तिम्रो स्कुलको फिस तिर्नु है ।’
बुबाका हातमा पैसा थियो । मेरो जिउ कापिरहेको थियो । मसँग बोल्ने कुनै शब्द थिएन । तर, मेरो मन एकनासले बोलिरहेको थियो, ‘बुबालाई कति धेरै पीडा छ; चिन्ता छ अनि अभाव छ । तर, बुबा कसैलाई आफ्ना पीडा सुनाउनुहुन्न । जतिसुकै कष्ट आफू एक्लै भोग्नुहुन्छ । सधैँ ओठमा झुटो मुस्कान देखाउनुहुन्छ । घरपरिवार खुसी होस् भन्ने उहाँको चाहना हुन्छ । तर म भने कहिल्यै बुबाका पीडालाई महसुससम्म गर्न सक्दिनँ ।’
त्यसपछि मैले मैलाई धिक्कारे । अनि अठोट गरेँ, ‘मैले पनि केही गर्नुपर्छ । अब बुबालाई साथ दिनुपर्छ ।’
लेखकको सम्वन्धमा