विद्यार्थीलाई पुरस्कार वितरण
झरनासञ्चार, वैशाख, १७
झरना सञ्चारले उत्कृष्ट प्रस्तुती गर्ने नौ जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
आज वैशाख १७ गते मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा आयोजित एक भर्चुअल कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।
झरना सञ्चारले कक्षा एघारदेखि स्नातकसहसम्म अध्ययनरत विद्यार्थीका लागि वक्तृता कला भिडियो प्रतियोगिता आयोजना गरेको थियो । सो कार्यक्रममा उत्कृष्ट नौ विद्यार्थी पुरस्कृत भए ।
झरना सञ्चारका प्रबन्ध सम्पादक वासुदेव अधिकारीको अध्यक्षता रहेको उक्त कार्यक्रम बिहान ८ बजे सुरु गरिएको थियो । प्राज्ञ नर्मदेश्वरी सत्यालले प्रमुख अतिथिको भूमिका निर्वाह गर्दै विभिन्न शास्त्रको सार खिचेर आमा (तमाम नारीहरू) को अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले थप्नुभयो, ‘पुरुषलाई निषेध गरेर महिलालाई शसक्त बनाउन सकिँदैन । नारी र पुरुष मिलेर सहकार्य गर्ने हो भने नारी शसक्तीकरण हुन सक्छ । परिवार, समाज र संसार परिवर्तन हुन सक्छ । धर्म र संस्कृतिका नाममा नारीलाई बञ्चित नगरौँ । नारीलाई अवसर दिऔँ । यो नै आमाहरूप्रतिको सम्मान हुने छ ।‘शिक्षक तथा सङ्गीतकार सरोज प्याकुरले निर्णायकको भूमिका निर्वाह गर्दै विजेहरूको नाम उद्घोष गर्नुभयो । यस क्रममा उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धीहरूमा तीव्र प्रतिस्पर्धा छ । झिनो अन्तरमा विजेता घोषणा गर्न कठिन भयो । तथापि हामीले विजेता घोषणा गर्नैपर्ने थियो ।‘
मोरङको उर्लाबारी क्याम्पसमा स्नातक तहमा अध्ययनरत शर्मिला चौँलागाईँ उक्त कार्यक्रममा प्रथम घोषित हुनुभयो । प्रसादी एकेडेमी, ललितपुर कक्षा एघारमा अध्ययनरत आँचल अधिकारी द्वितीय र पुष्पलाल मेमोरियल क्याम्पस, चाहबेलमा स्नातक तहमा अध्ययनरत कस्मिना ढुङ्गानाले तृतीय स्थान हासिल गर्नुभयो । पञ्चायत मावि, पथरीमा कक्षा एघारमा अध्ययनरत लियोना भट्टराईले चौथो स्थान प्राप्त गर्नुभयो ।
विजेताहरूको नाम वाचन गर्ने क्रममा निर्णायक प्याकुरेलले उत्कृष्ट चारको क्रम निर्धारण गर्न सानाभन्दा साना पक्ष नियाल्नु परेको जानकारी दिनुभयो । लियोना भट्टराई, मुस्कान क्षेत्री, समृद्धि महर्जन, अजयकुमार साह, सुरेश धमला र मोनिका तामाङले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रममका सञ्चालक तथा झरना सञ्चारका सम्पादन सोमनाथ दाहालले पुरस्कार राशिका बारेमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी कार्यक्रम सञ्चालन भइरहेका बेलामा नै विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने छौँ ।‘
झरना सञ्चारका पत्रकार रमेश अधिकारीले ईबैँङ्किङ प्रणालीबट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीलाई जनही तीन, दुई र एक हजार अनि पाँच जनालाई जनही पाँच सयका दरले सान्त्वना पुरस्कार वितरण गर्नुभयो ।
झरना सञ्चारका प्राविधिक सहयोगी आदर्श आचार्यले सहभागीहरूलाई इमेलमार्फत प्रमाणपत्र वितरण गर्नुभयो । झरना सञ्चारलाई शोभन अधिकारीको पनि प्राविधिक सहयोग रहेको थियो ।
उक्त कार्यक्रममा अस्मिता श्रेष्ठ, निर्मल तामाङ, तुलसीराम दाहाल, सन्तोष जैसी र ममताकुमारी साहले सक्रिय सहभागीको प्रमाणपत्र प्राप्त गर्नुभयो । कार्यक्रमका प्रस्तोता दाहालले उहाँहरूलाई हौसला दिँदै भन्नुभयो, ‘सबैलाई पुरस्कार दिन मात्र नसकेका हौँ । तर, सबै जना विजयी हुनुहुन्छ । तपाईँहरूको प्रस्तुती राम्रो छ । प्रतिस्पर्धामा सहभागी हुन आएका पच्चिस जनामध्ये एघार जनालाई जितेर तपाईँहरू चौध जना प्रतिस्पर्धी बन्नुभएको हो ।‘
कार्यक्रमका सहभागी कस्मिना ढुङ्गानाले भन्नुभयो, ‘प्रथम वा तृतीय हुँदैना केही फरक पर्दैन । पहिलो कुरा त हामीले प्रतिस्पर्धामा सहभागी हुने अवसर पायौँ ।‘ (ढुङ्गानाले प्रतिस्पर्धामा तृतीय स्थान हासिल गर्नुभएको कुरा स्मरणीय छ ।)
अस्टेलियाको सिड्नी, नेपालको काठमाडौँ र पोखरामा कार्यालय रहेको इनफर एजुकेसन नेटवर्कका सिइओ सुमन दाहालले उक्त कार्यक्रम आयोजना गर्न प्रेरित गर्नुभएको थियो । साथै इनफर एजुकेसन नेटवर्कले कार्यक्रम प्रायोजन गरेको थियो । सिइओ दाहालले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्ने अठोट प्रकट गर्नुभयो । उहाँले थप्नुभयो, ‘विद्यार्थीलाई शैक्षिक परामर्श दिने काम गरिरहेका छौँ । तिनै विद्यार्थीको प्रतिभा प्रस्फुटन गरी भाषा, संस्कृति र देश विकासमा सहयोग गर्नु हाम्रो दायित्व हो ।‘
प्रतिकृया दिनुहोस्