January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

हेलम्बु कति व्यापक ?

यस लेखमा हेलम्बुलाई चिनाउने प्रयास गरिएको छ ।

आजभन्दा केही समय पहिले सिन्धुपाल्चोकको परिचय चेलीबेटी बेचबिखनले अग्रस्थानमा आउँथ्यो, अहिले कोरोनाले पहिलो मृत्यु भएको जिल्लादेखि पहिरो र भुइँचालाको प्रिय जिल्ला पनि बन्यो। काठमाडौँनजिक भएर पनि काठमाडौँ अनुभूति गर्न नसकेको जिल्ला पनि हो- सिन्धुपाल्चोक ! समय समयको कुरो सिन्धुपाल्चोकको परिचय भुइँचालो मात्रै होइन है- सिन्धुपाल्चोक व्यापक छ तर आज म विशेषगरी हेलम्बु क्षेत्रमा केन्द्रित रहेर कुरो गर्छु ।

नेपालमा हजारौँ वर्ष पहिले तिब्बती महायोगी तथा तान्त्रिक गुरु मिलारेपाले तपोभूमि बनाएको नेपालको मनाङपछि हेलम्बु पनि एक हो (अन्त मलाई ज्ञान भएन)। गुरु पद्मसम्भवको पनि तपोभूमि हो, वहाँले तपस्या गरेका गुफाहरू हेलम्बु क्षेत्रमा छन्।

विश्वशान्तिका लागि घोडामा विश्व घुम्दै हिँडेका राजा लिङ घेसरको प्रमाण छ । हेलम्बु पदयात्राको शेर्माथाङ खण्डमा हामी ठुलो ढुङ्गामा घोडाको पदचाप भेट्न सक्छौँ । शेर्माथाङमा अझै पनि ३ दिन ३ घण्टा ३ मिनेट तपस्या गर्ने पवित्र तीर्थस्थलहरू छन्।

राजा रणबहादुरकी रानी सुवर्णाप्रभालाई निर्वासित गरि हेलम्बु पठाइएको थियो। हेलम्बु क्षेत्रमा बाँदरले निक्कै दु:ख दिने गरेको किंवदन्ती छ र उनी आएकछि बाँदरले दिने दु:ख कमी भएको मान्यता छ। नेपालका सबै प्रमुख भाइभारदारहरू भित्रभित्रै रणबहादुर शाह र सुवर्णप्रभा समूहमा विभाजित रहेको समयमा ब्रिटिस दूतप्रति काठमाडौँ अत्यन्त असहिष्णु र असहयोगी हुन पुगेको थियो। काशीमा निर्वासित रहेका राजा रणबहादुर शाहमार्फत् नेपाल फर्किएर आफ्नो प्रभुत्व स्थापनाको रणनीति बुन्न थाले। उनको पक्षमा काशीमा रहेका मानिसहरूको ठुलो समर्थन जुटेपछि उनी नेपाल फर्किए। रानी सुवर्णप्रभालाई हेलम्बु धपाए र दामोदर पाँडेलाई काट्न लगाएको इतिहास छ। हेलम्बु शरण दिने क्षेत्र पनि हो।

देवकोटाले पनि पाइलो टेकेको ठाउँ हो हेलम्बु, शेर्माथाङको सुन्दरता बारे उनको निबन्ध नै बोल्छ।
खुराकको कमी, अध्ययनको धपेडी र स्वास्थ्यमा आएको गडबडीले एकताका मानिसहरूले उनलाई पागल भएको चर्चा गरे र उपचार गर्न जबरजस्त राँची पठाए। उनी राँचीमा करिब ४ महिना उपचारका लागि बसे। यो कवि देवकोटाको जीवनको अर्को दुःखद् प्रसङ्ग थियो। पछि देवकोटाले ‘पागल’ शीर्षकको कविता नै लेखेर आफूलाई आफ्नै साथीहरू र नजिकका मानिसहरूले पागल भएको हल्ला चलाएकामा आक्रोश र दुःख व्यक्त गरे। वि.सं.१९९५ मा उनले गोसाइँकुण्ड, हेलम्बुलगायतका प्राकृतिक, साँस्कृतिक स्थलहरूको भ्रमण गर्ने अवसर पाए । जसको प्रभावस्वरूप उनले पछि लुनी, म्हेन्दु आदि काव्यहरूको रचना गरेका छन् भने पहाडी जीवन शीर्षकमा निबन्ध लेखेका छन्।

राहुल सांस्कृत्यानजस्ता दार्शनिकको पाउ परेको माटो पनि हो हेलम्बु। हेलम्बु बारे उनले निक्कै कुरा लेखेका छन्।

पलाञ्चोक दर्शन गरेपछि पाल्चोक दर्शन छुटाउन हुन्न भन्ने मान्यता पनि छ। झन्डै वि. सं. १४०० आसपास मगर राजाले मन्दिर स्थापना गरेको र खड्का (हामी खुलाल) ले कोट स्थापना गरेको इतिहास छ। ककनी गुम्बामा रिम्पोछेका कपालहरू देखि ऐतिहासिक वस्तुहरू संरक्षण गरी राखिएका छन्।

हेलम्बुको स्याउ, लाङटाङ पदयात्रा, मेलम्ची खानेपानी, ह्योल्मो संस्कृति, तामाङ संस्कृतिलगायत अरू धेरै हेलम्बुको परिचय हो र यो सिन्धुपाल्चोकले गर्व गर्ने सम्पत्ति हो ! मेरो ध्येय यत्ति हो; घर सानो भयो भनेर मन स्यानो नबनाउनुहोस्, बाहिर हेर्नुहोस् त सुन्दर हिमाल देखिन्छ ।