January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

म विद्यार्थी

अस्मिता श्रेष्ठ
मनोहर माध्यमिक विद्यालय
कक्षा : ११

विद्यार्थी म हुँ विद्याका लागि मैदान उत्रिएको
लगनशील भई कर्तव्यपथमा अघि बढेको
देशका लागि बलियो खम्बा बन्नेछु आधार
प्रगतिपथमा उचाइ थपि बन्ने छु सहारा ।
 
अवसर देऊ, अधिकार देऊ अगाडि बढ्ने छु
समर्थन देऊ, सुझाव देऊ शिखर चढ्ने छु
कोपिलाबाट फूल भई फक्री सुवास छर्ने छु
देशको बोझ पाउले कुल्ची उन्नति गर्ने छु ।
 
एउटा रहस्यको झोला बोकेर आशा भविष्य
र, सपना बुनेर पातापिताको
आशीर्वाद लिएर किताब र कापीका खातामा
गृहकार्य र कक्षाकार्यको भारी बोकेर
हिँडिरहेको म हुँ एउटा विद्यार्थी ।
 
समयलाई सँगै लिएर अघि बढ्ने
अन्धविश्वासको जरो उखेल्ने
नव नेपालको नक्सा कोर्ने
अग्रजहरूको सपना साकार पार्ने
केही सिकेर सिकाउने अघि बढ्ने
नेपाली संस्कृतिको रक्षक बन्ने
इतिहासमा टेकेर भविष्य सुन्दर बनाउने
वर्तमानमा कर्मशील बनी अघि बढ्ने
म हुँ नेपाली कर्णधार विद्यार्थी ।