प्रेमपत्र
(कृषि तथा वन विज्ञान विश्वविध्यालय, रामपुर, चितवनको शुभारम्भ साहित्य समाज र गण्डकी विद्यार्थी समाजको संयुक्त आयोजना रहेको मिति २०७८/११/०२ को प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल प्रेमपत्र ।)
सम्बोधन उही तिमीलाई,
किन आउँछ वर्षाको त्यो एक बुँद मरुमा, जसले मरेका सबै बिरुवालाई पुनर्जीवित पारिदिन्छ । किन आउँछ बर्खा भेल लिएर, सुख्खा परेको खहरेलाई फेरि उराल्न । किन चुहिँदै जान्छ जून, थोपा-थोपा, औँशीको निष्पट्ट अँध्यारो रात सकिएलगत्तै । किन गुन्जिन्छ त्यो गायकको त्यही स्वर कुनै गीतको धुन सुन्नेबित्तिकै । साथै, किन फर्किएर आउँछन् ती विगतका यादहरू, कसैको एक झलक देख्नेबित्तिकै ।
धेरै पटक कलम चलाएको थिएँ, तिम्रो साथमा, तिम्रो यादमा । तिमी मसँगै हुँदा तिम्रा लागि, तिमी अर्कैसँग हुँदा तिम्रा लागि । आज, वर्षौँपछि यी हात फेरि लालायित हुँदै छन् तिम्रा यादमा कापीका कोरा पानाहरू रङ्गाउन, केही प्रेमका, केही बिछोडका, केही विश्वासका , केही फरेबका रङले । आज, म चेष्टा गर्दैछु वर्षौँ पुरानो प्रेमको सम्बोधनमा, लेख्न एउटा सप्रेम, अपूर्ण प्रेम, प्रेम पत्र । सम्बोधन उसैलाई ।
जिन्दगीमा भेटिन्छन् कैयौँ मानिसहरू, कोही साथमा हुन्छन्, कोही यादमा हुन्छन्, कोही दुवैमा हुन्छन् त कोही यी दुवैको मझधारमा, कतै कुनै कुनामा लुकामारी खेल्दै डेरा बसिरहेका हुन्छन् । तिमी मेरा लागि त्यस्तै पात्र भयौ । न त कहिल्यै तिम्रो साथको न्यानो अनुभूति महसुस गर्न पाएँ, न त कहिले तिमीलाई यादमा विशिष्ट स्थानमा सजाउन सकेँ । तिमी मबाट टाढा भएकी पनि हैनौ, न त मेरा यादहरूबाट धुमिल नै भएकी थियौ । सम्बन्ध र सम्बोधनको यस्तो कगारमा अड्कियौ तिमी, जुन सम्बन्धको उचित सम्बोधन म आज पनि खोज्दै छु, यो जमानामा, त्यो तिमी र ममा, र आजको ममा ।
मलाई कहिल्यै इच्छा थिएन कोही प्रेम गर्ने मान्छेको । कोही त्यस्तो मान्छे जोसँग म सम्बन्धको बन्धनमा बाँधिऊँ । जोसँग सात जन्म साथ हुने वाचा, निर्धक्क गर्न सकूँ । म आफूमा अनन्त समय खोज्ने र अनन्त समयमा आफू खोज्ने मान्छे थिएँ । मलाई चाह थियो यस्तो व्यक्तिको, जो आफ्नो नभए पनि जसले आफ्नोपनको आभास दिन सकोस् । जोसँग बोल्नुपूर्व मलाई दुई पटक सोच्नु नपरोस् । जसका अघि म , म भएर पस्किइन सकूँ । मृत्युशैय्यामा रही अन्तिम स्वास फेरिरहँदा, जीवनचक्र दिमागमा घुम्ने बखत् दिमागले सम्झने चुनिदा कोहीमध्ये एक ऊ पनि होओस् । हो, सायद म त्यस्तै कोही व्यक्तिको खोजीमा थिएँ । सायद, त्यस्तै व्यक्तित्वको छनक, मैले तिमीमा भेटेँ ।
अनिश्चितताले भरिएको जिन्दगीमा एउटा निश्चितताको ठहराव मैले तिमीमा भेटेँ । अन्धकारमय जिन्दगीमा आशाको एउटा फिलिङ्गो मैले तिमीमा भेटेँ। अल्पविश्वासले ग्रसित हुँदाको बखत अटुट यकिनको आभा मैले तिमीमा भेटेँ र भेटेँ आफैँमा रहेको अधुरो खालीपनाको पूर्णता, मेरा इलेक्ट्रोनरुपी सोचलाई निष्क्रिय पार्ने प्रोटोनरुपी तिमी । तर, सायद हामी एउटै चुम्बकका दुई ध्रुव थियौँ, जो एउटै चुम्बकमा रहिरहँदा पनि कहिल्यै मिल्न सकेनौँ या एउटै नदीका दुई किनारा, जो नदीले जोडिएका पनि छौँ साथसाथै छुट्याइएका पनि छौँ । यस्तै यस्तै खयालात थिए, मनमा तिमीप्रति, नजाने तिम्रा मनले कस्ता तानाबाना बुन्थेँ मेराबारे ।
सबै इच्छा पूर्ण हुँदैनन् । पूर्ण हुने भन्दा नहुने इच्छाको बिछट्टै माया लाग्दो पनि रहेछ, यो कुरा मैले तिमीद्वारा महसुस गरेँ । आफूले लिएका कतिपय निर्णयहरू पश्चातापका हकदार हुन्छन्, र हुन्छन् उत्तिकै यादगार पनि । न पाउन सकेको, न गुमाउन सकेको । न आफ्नो भन्ने आँट भएको न अर्काको भएको देख्ने साहस भएको । चाहतको यस्तो भुमरीमा अल्झेको यो सम्बन्ध, जसबाट निस्किनु मेरो वशमा छैन, जसमा रहिरहनु सिवाय कुनै विकल्प पनि छैन । सबै अपूर्णताले दर्द दिँदा रहेनछन्, केही अपूर्णता स्वयम् पूर्णताको पूरक हुँदारहेछन् ।
चाहेर पनि नचाहिएकी, चाहेर पनि नपाइएकी तिमीलाई आज जब वर्षौँ पश्चात् देखेँ, गाला पुक्क भएको, उचाइ हल्का बढेको, कपाल काटेर काँधसम्म ल्याएको र हल्का शृङ्गारबाहेक केही अन्तर भेटिनँ, वर्षौँ अघिको तिमी किन आज पनि उस्तै छ्यौ ? सायद, तिमी केही परिवर्तित भएको भए, मैले उस बेलाकी तिमी सम्झिन्नँ थिएँ होला । व्यवहारमा त्यो चञ्चलता, बोलीको उस्तै लहजा, अदाहरूमा उही मादकता, कत्ति पनि कम किन नभएको हँ? किन पहिलेकी तिमीले जस्तै अहिलेकी तिमीले पनि मेरो मुटुको धड्कन बढाउन कत्ति कसर बाँकी राखिनौ?
खैर, हातबाट चिप्लीजाने साबुन र समय दुवैसित गुनासो राख्नुमा सार्थकता पनि छैन, यस्तै तर्कनाले मन बहलाउने यत्न, मेरो जारी नै रहने छ । तिमी आफ्नो स्थानमा खुसी हुनु, मैले तिम्रा लागि मागेका दुआहरू कबुल होउन् । एउटा प्रेम गर्ने अप्रेमीले आफूले प्रेम गरेकी अप्रेमिकाका लागि त्योभन्दा बढी के नै माग्न सक्ला र ? हो, प्रेम गरे पनि म प्रेमी हुन सकिनँ, प्रेम गरेर पनि तिमीलाई प्रेमिका भन्न सकिनँ ।
जिन्दगीको सफरमा, थुप्रैपल्ट सफर गरिरहँदा, राहतको मिठो आभास बनेर आउनू, बेला बेला स्नेहको खडेरी परेको बेला स्मृतिमा प्रेमिल वर्षा बनेर आउनू, र आउनू पछि कुनै बेला बच्चाहरूलाई कथा सुनाउने बेला, अपूर्ण तर निश्चल प्रेमको कहानी बनेर। तर, बिन्ती नआउनू फेरि, जिन्दगीको कुनै मोडमा, सशरीर मेरासामु ।
त्यतिञ्जेलसम्म, म त्यही वर्षौँ अघिको मजस्तै बनेर कुरिरहनेछु वर्षौँ अघिकी तिमीलाई, जिन्दगीको कुनै गोरेटोमा ।
उही तिम्रो हुन नसकेको
लेखकको सम्वन्धमा