September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

पिँजडाकाे चरी

स्वतन्त्र छु र पनि, म स्वतन्त्र छैन
पिँजडामा राखिएकाे एउटा चरी जस्तै
उड्न आफ्नाे घेराभित्र मलाई,
केही निषेध छैन,
म जहाँ चाहूँ उड्न सक्छु
नभए एकै ठाउँ बसिरहन पनि,
तर त्याे एउटा घेराले,
मेरा अनेकाैँ स्वतन्त्रता बाँधिरहेकाे छ
पाउमा डाेरीले बाँधेकाे जस्तै।
मलाई राेकिएकाे छ,मलाई छेकिएकाे छ
भन्न पनि म सक्दिनँ,
आफ्नो अनुरूप, एउटा स्वतन्त्र पात्र
बन्न पनि म सक्दिनँ ।
समयमै नित्य खाना आउँछ र
समयमै सरसफाइ पनि,
बाहिरै डुलाइन्छ नित्य मलाई चिसो हावा खाऔँ भनी।
म पिँजडाको घेराले घेरिएको मात्र,
भित्र भित्रै,
खाली पानामा यत्रत्यत्र केरिएको मात्र
मानौँ,
अलि-अलि छुट छ र पनि मलाई केही छुट छैन
त्यसैले,
स्वतन्त्र छु र पनि म स्वतन्त्र छैन ।।