December 5, 2023, Tuesday
२०८० मंसिर २०, बुधबार

ए मेरी नेपाल आमा

सौन्दर्यको ज्वलन्त नमुना हुन् मेरी नेपाल आमा 
मातृत्व प्रेमकी खानी हुन् मेरी नेपाल आमा 
चराचरको मधुर आवाजले गुँन्जाउँछ तिम्रै गीत 
झरना र नदीको सरगमले सुँसाउँछ तिम्रै प्रीत ।।

तिम्रो मन्दमुस्कान मिठो हिमालको दन्तलहर झैँ 
तिम्रो त्यो ओठको लाली पहाडको रातो गुराँस झैँ 
तिम्रो रूप रङ्गलाई देखेर चकित भइदियो विश्व 
तिमी प्राण, तिमी नै हौ आत्मा तिमी मेरी सर्वस्व ।।

मेरो रातो रगत उर्लिन्छ, तिम्रो विरोध देख्दा 
मेरो छाती चर्चरी चिरिन्छ, तिम्रो आँखा रसाउँदा 
खण्ड खण्ड राज्यलाई जोडेर बन्यो अखण्ड नेपाल 
यही हो यही हो नेपालको गौरवको मूल निशान ।।

मेरो छाती महिमाले फुलोस् देशको अस्तित्व राखी 
मेरो शिर उन्नत बनोस् देशको अभिमान जोगाई 
तिम्रो माटो प्राणसरी प्रिय हे मेरी नेपाल आमा 
तिम्रै लागि ज्यान दिन सकूँ हे मेरी नेपाल आमा ।।