October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

सिकाइमा नयाँ अभ्यास : होमर्वकमा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार

काठमाडौं, पुस २९

मनोहर माध्यमिक विद्यालयका एकजना शिक्षकले गृहकार्य (होमवर्क) मै विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराएर उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरेका छन् । उक्त विद्यालयका नेपाली विषय शिक्षक सोमनाथ दाहालले विद्यार्थीमा सिर्जनशीलता विकास र उत्प्रेरणाका लागि यो विधि अवलम्बन गरेका हुन् । यसले सिकाइलाई पनि प्रभावकारी बनाउने उनको भनाइ छ ।  

शिक्षक दाहालले सहिद दुर्गानन्द झाको जीवनी लेखनमा कक्षा ११ का विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराएर उत्कृष्टलाई पुरस्कृत गरेका हुन् । उत्कृष्ट तीन विद्यार्थीले जनही सय रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।

शिक्षक दाहालले कक्षा ११ का विद्यार्थीलाई अघिल्लो साता प्रतिस्पर्धाको रुपमा सहिद दुर्गानन्द झाको जीवनी लेख्न लगाएका थिए । प्रतियोगितामा ९ जना विद्यार्थी सहभागी थिए । दाहालले बुधबार बिहान एक भर्चुअल कार्यक्रम आयोजना गरी विजेता विद्यार्थीको नाम घोषणाका साथ उनीहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

जीवनी लेखनमा सहभागी विद्यार्थीले तयार गरेको सामग्रीलाई प्राज्ञ तथा मनोहर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक नर्मदेश्वरी सत्याल, उर्लाबारी क्याम्पसका नेपाली विषयका शिक्षक देवीप्रसाद गौतम र मनोहर माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद भट्टराई सम्मिलित निर्णायक मण्डलले मूल्याङ्कन गरी उत्कृष्ट छनोट गरेको हो ।

निर्णायक मण्डलले दिपा बुढाथोकी, कमल भण्डारी र सौगात थिङको जीवनी लेखनलाई उत्कृष्ट तीनमा छनोट गरेको छ । भर्चुअल कार्यक्रममा पुरस्कार रकम सम्बन्धित विद्यार्थीको मोबाइल अकाउन्टमा ब्यालेन्स ट्रान्सफरको रुपमा हस्तान्तरण गरिएको थियो ।

ती जीवनीमाथिको उत्कृष्ट टिप्पणीलाई पनि पुरस्कृत गरिएको छ । निर्णायक मण्डलले विद्यार्थीको लेखनलाई टिप्पणी गर्नेमध्येबाट अस्मिता विश्वकर्मालाई उत्कृष्ट टिप्पणीकार घोषणा गरेको छ । टिप्पणीकारलाई ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । सो रकम उनको मोबाइल अकाउन्टमा ट्रान्सफर गरिएको छ ।

कक्षा ११ का विद्यार्थी युवराज मगरले यस्तो प्रतियोगिताले नयाँ कुरा जान्न मद्दत गरेको प्रतिक्रिया दिए ।

बुधबार विहान आयोजित विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्राज्ञ सत्यालले यस्ता अभ्यासले विद्यार्थीलाई सिर्जनशील बनाउने र उनीहरुलाई अतुलनीय प्रेरणा मिल्ने बताइन् । शिक्षक दाहालले भविष्यको शिक्षण सिकाइमा अझ सिर्जनशील अभ्यास गराउँदै उत्कृष्ट विद्यार्थी उत्पादनमा ठुलो योगदान गर्ने अपेक्षा प्राज्ञ सत्यालको छ ।

प्रतियोगितामा सौगात थिङ, देव चौधरी, युवराज मगर, दिपा बुढाथोकी, अन्जना दानी, शान्ति गुरुङ, कमल भण्डारी, पूजा कुँवर र सिमरन लामा सहभागी भएका थिए ।

कतिपय विद्यार्थीका रचनाहरुले सामग्री तयार गरे पनि प्रकाशनका लागि तोकिएको प्राविधिक सर्त पूरा गर्न नसकेका कारण प्रतियोगितामा सहभागी गराउन नसकिएको शिक्षक दाहालले जानकारी दिए । विद्यार्थीका रचनाहरु झरनासञ्चार डटकममा प्रकाशित गरिएको थियो ।