हाम्रो गाउँ उजाड लाग्छ किन हो यो पूर्ण सन्तप्त छ
रित्ता छन् कति गोठ आँगनहरू सर्वत्र सन्त्रास छ
साँच्चै स्तब्ध छ गाउँ छैन कलिला नानीहरूको स्वर
आमाको ममता सुनिन्न घरका भान्सा मझेरीतिर ।
जालो व्याप्त छ माकुरा घरघरै कीराफट्याङ्ग्राहरू
काई लेउ जमेर ठुस्स सिकुवा पेटी र ढोकाहरू
सन्ध्यामा न त दीपको पिलपिले देखिन्छ आभा यहाँ
सन्नाटा छ जताततै बिरसिलोझैँ शून्य साम्राज्यमा ।
गाउन्नन् युवती युवा अब नयाँ भाखा निकालीकन
बोल्दैनन् अनि खेत बोट बिरुवा पाखा पनेरा वन
नाच्तैनन् प्रिय गोठमा रहरिला गाई र बाछाहरू
धर्ती रोइरहेछ आज बनिँदा निष्प्राण आशाहरू ।
खेल्थ्यौँ बालककालमा यहीँ मिली साथी थियौँ निर्भय
गाईवस्तु चराउँथ्यौँ चउरमा ठानी सबैको जय
लाग्थ्यो रम्य सुरम्य दिव्य धरती भूस्वर्ग हो उर्वर
ऐले हाय चिरा चिरा सकल यो कस्तो भयो जर्जर ।
यो बस्ती सुरलोककै सकल हो लाग्थ्यो उज्यालो थियो
माया प्रीति थियो सुमङ्गल थियो सत्सङ्ग आनन्दको
आफैमा सुर, अप्सरासरि थिए ग्रामीण सृष्टिहरू
लाग्थे उर्वशी मेनका प्रणयका सत्प्रेरणाका गुरु ।
केही भेद थिएन ग्राम्य जनता बस्थ्यौँ रमाईकन
आफ्नो काम गरेर खानु गतिलो होला भनी जीवन
साट्तै आपस पाखुरी सहजले खेती गरिन्थ्यो जब
मस्किन्थिन् सरला सुरम्य धरणी उत्साहले वास्तव ।
आफ्नै जात र धर्म रूप सबको आफ्नै थियो संस्कृति
बस्थ्यौँ फेरि मिलेर ढुक्क मनले प्यारो थियो सम्मति
गर्थे प्रेम समस्त ग्राम्य जनता साझा थियौँ सन्तति
शङ्का आपसमा थिएन कहिल्यै होला भनी दुर्गति ।
आमाबाबु थिए प्रत्येक घरमा हुन्थ्यो सधैँ कीर्तन
साँच्चै शान्ति थियो निरापद थियो आनन्दको वर्षण
ऐले वैभव शून्यमा बदलियो थाहै नपाईकन
सारा लोप भई कतातिर गयो खै गर्नु के चिन्तन !
को आयो मत भेदको कलहको रोपी गयो वृक्ष के ?
सोझाले परद्रोहीका कपटको के बुझ्नु चाला हरे !
हामी आपसमा विभाजित भयौँ आकारमा ढङ्गमा
छोड्यौँ बन्धन गाउँका प्रणयको लाग्यौँ झुटा सङ्गमा ।
त्याग्यौँ गाउँ विभेदका छल परी लागी अरूका पछि
भोग्यौँ दुःख बनेर दास अरूकै फालेर आफ्ना खुसी
सम्झी सुन्दर गाउँ ठाउँ अब ता फर्कौँ न आफ्नै धरा
पुर्खाका सरि कार्यमा अब जुटौँ पारौँ धरा उर्वरा !!
लेखकको सम्वन्धमा