कसरत पनि थोरै गर्छु आराम लिन्छु
सुख सयल छ साँच्चै खानमा व्यस्त हुन्छु
अघि अघि कति खाएँ होस केही भएन
तर उदर छ रित्तै भोक मेरो गएन ।
०० ०० ०० ०० ००
चपल छ मन व्यर्थै लाग्छ के हुन्छ हुन्छ
क्षुधित किन छ काया खानमै चाह हुन्छ
अब त म जति जे जे भेट्छु त्यो खान थालेँ
अगणित चिज खाई पेट यो भर्न थालेँ ।
०० ०० ०० ०० ००
धनहर सब खाएँ वाटिका पारी साफ
वन विपिन उजाडेँ वन्यश्रीको सखाप
सजल जलज खाएँ पेट उस्तै छ खाली
तब त बगर खाएँ बालुवा चाली चाली ।
०० ०० ०० ०० ००
विधि नियम मिलाएँ भोज्यको स्वाद पाएँ
सडक र टक खाएँ भोज मिठो लगाएँ
अझ छ रहर खाऊँ भिन्न वस्तु म नित्य
`प्रकृति सब पिएरै पार्नुपर्ला सिनित्त´ ।
०० ०० ०० ०० ००
सुरुतिर डर लाग्थ्यो खानु धेरै हुँदैन
`तर पनि बलियाको शत्रु कोही हुँदैन´
पछि पछि जब यस्तो फुर्न थाल्यो विचार
मल विमल चपाई पार्न थालेँ अचार ।
०० ०० ०० ०० ००
अनि त म सुन खाई अग्निज्वाला निकाली
खुन घुन नुन भाषा खान थालेँ नफाली
मुकुलित नव बाला हातहातै नचाएँ
अभिनव धरतीको भोग गर्दै म आएँ ।
०० ०० ०० ०० ००
`सहमत हुन सक्ने सामु आओ रमाओ
असहमत हुने हो थन्किने चाल पाओ
अझ पनि म त धेरै खान्छु यो पेट भर्छु
चल अचल सबैको पूर्ण आस्वाद लिन्छु´
०० ०० ०० ०० ००
अनवरत डटेरै न्याय अन्याय खाएँ
गृह कलह गराई द्वन्द्व राम्रै चलाएँ
कथित पद प्रतिष्ठा व्यर्थ ठानेर खाएँ
वरपर नभएको रीति आफ्नै बसाएँ ।
०० ०० ०० ०० ००
अब त म मनमोजी धर्म संस्कार खान्छु
गिरि शिखर उडाई फेरि पाषाण खान्छु
अनि पनि नपुगेमा मृत्तिका सक्छु खाई
सुरुचि दृढ छ मेरो बस्छु खाई पचाई ।
लेखकको सम्वन्धमा