उनी भन्छन् -
प्रकृतिले दिएको
तर विचित्रको
केवल आफूभित्रको
कोमल मनुजता
कोमल विचार
अनि
कोमल र सत्य
भावलाई
तक्षकले काँचुलीझैँ फाली हेर त!
अर्कै अवतारमा
सफल रूपमा
तिमी रुपान्तरण हुने छौ..
जसले...
अभिमान राखेर
निराभिमानको कुरा
जात साँचेर
जातिमुक्तिको सपना
छोरीको भ्रूणहत्या गरी
लैङ्गिक समानता/विरोधको कुरा
अन्यायको पराकाष्ठा नाघी
न्याय समानताको सोच
यथार्थ ढाकेर
पराकल्पनाको स्थापना
लोभ र असन्तुष्टिका इन्जाइटीले
आफ्नो नर्भस सिस्टम डाउन गराएर
निर्लोभिताका इलुजन स्थापना
कर छलेर
सुशासनको सोच
हिंसाको मार्ग चौडा पारेर
गौतम बुद्धको स्मरण
प्रचार र क्षुद्राभिमानका लागि
समाजसेवाको मञ्चन
नकारात्मकता र घृणाको पिरामिड भिरी
सकारात्मकताको मञ्चासीन भाषण
हिम्मत र निर्लज्जताका साथ गर्न सक्ने
देशको एक सफल नेताका
रूपान्तरण हुने छौ।
लेखकको सम्वन्धमा