सङ्घर्ष

एउटा सानो भँगेरो सिमलको गाछीमा गुण बनाएर बसेको थियो। ऊ खुसी थियो। उसलाई लाग्थ्यो कि संसार उसैको हो। ऊ स्वतन्त्र भएर उड्थ्यो। उसका चाहनाहरु सीमित थिए। उसको परिवार सुरु भएको थिएन। बिस्तारै ऊ बढ्न थाल्यो। उसका चाहनाहरु बढ्दै गए। उसलाई परिवारको चाहना भयो। प्रगतिशील समाजमा वंश धान्ने चाहना राख्नु गलत थिएन। उसले एउटी भँगेरीलाई माया जालमा पार्यो र घरजम बसायो।

त्यो सानो सिमलको गुण उसका लागि प्रयाप्त भएन। ऊ बाध्य भयो र जङ्गलको ठुलो सालको गाछीमा बसाइँ सर्यो। उसलाई लागेको थियो ठुलो ठाउँको बसाइँ सहज हुन्छ। बिचरा चरी ! उसलाई के थाहस, के थाँहा जङ्गल राजको कथा। उसलाई त सिमलको रूखजस्तै कञ्चन लागेको थियो त्यो जङ्गल।

गुण बनाउँदै गर्दा छिमेकीहरू राम्रै जस्तो लाग्या थियो उसलाई। कोही कोही त बेसारे पारामा सोध्थे, उसलाई केही सहयोग चाहिन्छ कि भनेर। उसले त्यो छद्म कुरा बुझ्न सकेन। बुझोस् पनि कसरी? ऊ त छद्म भेदी थिएन । उसलाई त संसार ऊजस्तै निर्मल लाग्थ्यो।
बिस्तारै रङ्गभेदी समाजको रङ्ग बुझ्न थाल्दै थियो। दैवको लीला, भँगेराकी जहानले नयाँ जीवनको फूल खेलाउन थाली। बिस्तारै भँगेरीको बानी परिवर्तन हुन थाल्यो। भँगेराको मन नि फुरुङ्गै भयो। तर उसको खुसी निमेषभरको मात्रै हो भनेर बुझ्न सकेन। सकोस् नि कसरी? परको टोड्कोमा घात लगाएर बसेको त्यो कालो नाग उसको नजरमा आउने कुरै भएन। ऊ त ढुक्दै थियो कति खेर भँगेरीले फुल पार्ली र खउँला भनेर। नभन्दै जसै भँगेरीले फुल पारी त्यो नाग आइहाल्यो फुल खान। वास्तवमा त्यो नागको जीवनचर्या नै अर्काको फुल चोरेर खानुमा बितेको थियो। जसै नाग सालको गछीमा चड्न थाल्यो, भँगेराले बुझ्यो कि उसको वंशको बिनास हुँदै छ। ऊ रुखका वरिपरि उड्न थाल्यो। बिचराले गर्न सक्ने केबल त्यति न हो। उसले मद्दत नमागेको पनि हैन, देखे र चिने जति सबैसँग हार गुहार गरेकै हो। तर कोही मद्दतका लागि आएनन्। सायद चारो टिप्न जङ्गलबाट गाउँतिर लाग्दा मान्छेको बानी सरेको हुन सक्छ भनर अड्कल काट्यो भँगेराले। भँगेरभँगेरीले हार मानेनन् ।

उनीहरूलाई लाग्थ्यो एक माघले जाडो जाँदैन । शिशिरमा फूल झर्दैमा फूल फुलाउने गुण नै समाप्त हुँदैन । उनीहरूले अर्को बसन्तको पर्खाइमा दिन व्यतीत गरे र बिगतको पश्चताप नगरी वर्तमानमा बाँच्ने प्रयास गरे। हुन पानि जीवन धर्मीले जीवने कला नै त्यही हो। तर निर्दयी संसार यो पटक नि त्यही भयो। काले नाग न पर्यो, नखाई किन छोड्थ्यो। बिचरा ती भँगेरा भँगेरी विवश भएर फर्के फरि उही पुरानो ठाउँ। त्यही सिमलको गाछी जसलाई छोडेर उनीहरु हिँडेका थिए । तर समय उही थिएन। सिमलका धेरै भुवाहरू उडिसकेका थिए। त्यो सिमलको रूख बुढो भैसकेको थियो। पुरानो समाज फेरिसकेको थियो। रूखमा अरू चराहरू पनि बस्नथालेका थिए। बदलिएको थिएन केबल त्यसका जरा।

भँगेरो पहिलेको जस्तो रूखमा हैकम जमाउन सक्ने ल्याकत त राख्दैन थियो तर पनि त्यो रुखसँग उसको स्मृति पोतिएको हुँदा केही सहजता महसुस गर्थ्यो। जे होस् एउटा हाँगोसम्म उसले पाउने आशा गरेको थियो। बिस्तारै ऊ उडेर एउटा हाँगामा बस्यो र गुण बनाउने सुरसार गर्न थाल्यो। त्याहाँ पनि अरू पंछीहरूको नजर फरक खालको रहेको आभास उसलाई भयो। तिनीहरूको नजरमा कतै न कतै उसमाथि सङ्काको नजर भएको आभास उसलाई भैराख्यो। उसलाई लाग्थ्यो ‘हरेक आँखाले गरिखान नसकेर फर्केको एउटा हुतिहारा’का रुपमा गिज्याइरहेका छन्। तर विवश ऊ सहनुबाहेक केही गर्न सक्दैन। उसका मनमा सल्केको विद्रोहको डढेलोलाई सहनशीलताले छोपेर ऊ सङ्कल्प गर्छ कि उसले त्यो समाजमा उसको अस्तित्व स्थापित गराउने छ। ऊ अब अरूका कुराप्रति अन्धो, लाटो र बहिरोजस्तो भएर एकलव्य चेष्टामा आफ्नो लक्ष्य पथमा अगाडि बढ्छ। उसलाई थाहा छ संसार नै उथलपुथल भए नि उसकी भँगेरीले उसलाई साथ दिने छे। बिस्तारै ऊ आफ्नो गुणलाई जीवन्त बनाउँछ। उसका गुणमा बचेरा चिरबिर गर्न थाल्छन्। केही समयको अन्तरालमा ऊ आफ्ना बचेरालाई त्यही जङ्गलको सयर गाराउन लान्छ। अब त भँगेरा-भँगेरी सिमलको डालिमा बसेर रमाउन थालेका छन्।एको हो