December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

बाबाको अर्ती

फर्कियौ आज, गएको दुई, महिना नबित्दै
"पढेर बाबा, फर्किन्छु", भन्थ्यौ, फर्कियौ नसक्दै।
 
आएको बाबा, म आज घर, यो-स्याउ खानलाई
पैतिस तिरेँ, बजार हिजो, यो-स्याउ टोक्नलाई।
दिउँसो डुली, रमाए पनि, फर्किन्छ घारमा
तड्पिन्छ मौरी, बिराए बाटो, नफर्के घारमा।
 
आँखा त मेरो, रसायो बाबु, खोल्दिन्छु सबको
उत्पति यही, आँगन यही, तिमी त जन्मेको
मात्र यो स्याउ, होइन बाबु, खै-माटो सम्झेको
निराश भूमि नहुँन दिन खै-बाटो खोजेको।
 
नखाऊ हरेश, पैंतिस तिर्न, यो-घर सम्झेर
धरोहर तिमी, बुझ्दैछौ अझ, ग्राहकै बनेर
पुरानो घाउ, मलम लाऊ, किसानै बनेर
अब त जाऊ फर्किनु भोलि विज्ञ नै बनेर ।
 
दिनमा पढी सपनीमा बा,  रातिमा पुग्ने छु,
रातिमा याहाँ, देखेर दु:ख, कर्मठै बन्ने छु
यो-मन साँच्चि भक्षक होइन, रक्षकै बन्ने छु,
ढिलो भो बाबा, बिदाइ पाऊँ, खुसीले उठ्ने छु।
 
रहेछु याहाँ, पुगेछु त्याहाँ, यो मन बगेको
याहाँ छ तन, त्यहीँ छ मन, किन हो भएको
खोलेर झट्ट, आँखाले देख्छु, आँसु छ झरेको,
यादले पोल्यो, दिलले भन्यो, "खै-कर्मठ भएको?"